arrow

मन्त्रालयमा बसेर जिविसको तलब खाँदै एलडिओ

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
Kalikot-hamrakura.jpg.jpeg
कालीकोट । कालीकोट जिल्लाको प्रमुख विकास आयोजनाको मुख्य कार्यालय जिल्ला विकास समिति विगत तीन महिनादेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । गएको पुस २६ गते एकहप्ते काजमा नेपालगन्ज जानुभएका तत्कालीन स्थानीय विकास अधिकारी टीकाराम ज्ञवाली जिल्ला नफर्किँदा जिल्ला विकास समिति कालीकोट झन्डै तीन महिनादेखि कार्यालय प्रमुखविहीन भएको छ । 
 
स्थानीय विकास अधिकारी नहुँदा कार्यालयबाट हुने हरेक किसिमका काम समयमै हुन नसकेको सेवाग्राहीले बताउन थालेका छन् । विकास निर्माणको कामका लागि सदरमुकाम आएका रकुका स्थानीय हरिचन्द्र देवकोटाले विकास निर्माणको काम गरेको रकम नपाउनु दुःखद् भएको बताए । 
 
स्थानीय विकास अधिकारी ज्ञवाली नहुँदा कार्यालयका योजना तथा अनुगमन शाखाका अधिकृत भोलाप्रसाद चापागाईंले निमित्तको जिम्मेवारी लिएर काम गरिरहेका छन् । एक हप्ते काज लिएर गएका स्थानीय विकास अधिकारी ज्ञवाली हाल सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमै हाजिर भएर तलब खाइरहेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ज्ञवालीलाई नत जिल्ला पठाएको छ नत अर्को स्थानीय विकास अधिकारी पठाएको छ । यसले गर्दा जिल्ला विकास समितिबाट गरिनुपर्ने काम प्रभावित भएका छन् । 
 
निमित्त स्थानीय विकास अधिकारी भोलाप्रसाद चापागाईंले सेवाग्राहीका कामका लागि सहज हुने वातावरण कायम गरे पनि भनेजस्तो सेवा दिन नसकेको बताए । कर्णालीलगायतका दुर्गम जिल्लामा कार्यालय प्रमुखको उपस्थिति कमै हुने व्यथा आजको नभई विगतदेखि नै हुँदै आएको भए पनि विकासको काम गर्ने मुख्य कार्यालयमा तीन महिनादेखि कार्यालय प्रमुख नहुनुमा मन्त्रालयको कमजोरी रहेको नेकपा माओवादीका कर्णबहादुर भण्डारीले बताए । जिविस कालीकोटको तलब खाएर मन्त्रालयमा बस्नु ठूलो कमजोरी भएको बताउँदै जिल्लावासीले अर्को व्यवस्थाका लागि अनुरोध गरेका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ