arrow

सञ्चार उद्यमी अरुण सिङ्घानिया हत्याका योजनाकार यादव पक्राउ

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
Arun-Singhaniya.jpg.jpeg
जनकपुरधाम। टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिङ्घानिया हत्याका योजनाकार जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामक भूमिगत सङ्गठनका अध्यक्ष धर्ती सिंह भनिने चनरदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ।
 
जिल्ला प्रहरी कार्यालय धनुषामा यादवलाई आज सार्वजनिक गरिएको कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले सिङ्घानियाको गोली हानी हत्या गरेको घटनामा यादवले योजनाकार तथा मुख्य व्यवस्थापकीय भूमिका खेलेको बताए।
 
उनले यादव विगत छ महिनादेखि धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामक भूमिगत समूह सञ्चालन गरी हत्या, हिंसा, चन्दा असुलीजस्ता आपराधिक गतिविधिसमेत सञ्चालन गर्दै आएको जानकारी दिएकाछन्।
 
२०६६ साल फागुन १७ गते सञ्चार उद्यमी सिङ्घानियाको हत्यापछि अनुसन्धानका क्रममा सो हत्यामा यादवको संलग्नता सार्वजनिक भएपछि यादव २०७० फागुन २६ गतेदेखि घरबाट फरार भएका थिए ।
 
जिल्ला र अञ्चल प्रहरी कार्यालयको टोलीले जनकपुर उपमहानगरपालिका–१ वकिल टोलबाट यादवसहित अन्य पाँच जनालाई बुधबार पक्राउ गरेको हो ।
 
धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका–२ राधापुरका ३६ वर्षीय यादव सिङ्घानियालगायत विनोद गोहितमानको हत्या घटनामा पनि मुख्य योजनाकार रहेको जनाइएको छ ।
 
यादवमाथि नेपाली काँग्रेसका कार्यकर्ता राजेन्द्र यादवलाई गोली हानी हत्या र सोही दलका नसिम राईन र राम सोगारथ महतोलाई गोली हानेको आरोप पनि लगाइएको छ।
 
पक्राउ परेका अन्य अभियुक्तमा बालाबाखरकी ३५ वर्षीया कल्याणी देवी, गणेशमान नगरपालिकाका १९ वर्षीय रवीन यादव, सोही नगरपालिकाका ४६ वर्षीय रामसुन्दर यादव र सबैला नगरपालिकाका २१ वर्षीय सुन्देश्वर ठाकुर रहेका छन्।
 
प्रहरी नायब महानिरीक्षक उपाध्यायले सिङ्घानियाको हत्याको कारण अहिले पनि अनुसन्धानको विषय रहेको बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ