arrow

एनआरएनए पोर्चुगलमा काङ्ग्रेसको वर्चस्व, अध्यक्षमा गैरे 

कुल आचार्यले गराए सपथ

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
portugal5.jpg

लिस्बन। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको नेतृत्वसहित अधिकांश पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी भएका छन्। 

संघको सातौं अधिवेशनमा काङ्ग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ  तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए ।  

आइतबार सम्पन्न  निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा काङ्ग्रेसका रविन अधिकारी  र नारायणकाजी मगर निर्वाचित भए । संयुक्त गठबन्धनका गोविन्द सापकोटा र धन शेर्पा पराजित भए ।  

सन २०१९–२१ कार्यकालका लागि अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार तिलकप्रसाद  गैरेले संयुक्त गठबन्धनका उम्मेदवार र्इश्वर रिजाललाई पराजित गरे ।  

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा काङ्ग्रेसका भिमसेन थापा चुनिए । उनले गठबन्धनका उम्मेदवार आनन्द  गुरुङलाई हराए ।  

दुई उपाध्यक्षमा काङ्ग्रेसका अशोक गुरुङ  र मच्छिन्द्र अर्याल निर्वाचित भए । उनीहरुले गठबन्धनका पेमाछिरी शेर्पा र स्वतन्त्र उम्मेद्वार गणेश पाण्डेयलाई पराजित  गरे ।  

महासचिवमा भने संयुक्त गठबन्धनका हेमराज सुबेदी चुनिए । कांग्रेसका उम्मेद्वार प्रकाश कडरिया पराजित भए । कोषाध्यक्षमा काङ्ग्रेसका बिक्रमजङ कुँवर र युवा सम्योजकमा काङ्ग्रेसकै दिनेश भण्डारी बिजयी  भए ।  

यसअघि नै महिला उपाध्यक्षमा सीता श्रेष्ठ, महिला  सम्योजकमा  सुशीला थापा, सचिबमा यामिन्द्र घर्ती र प्रकाश  ढकाल तथा सह कोषाअध्यक्षमा तिलक कँडेल निर्विरोध निर्वाचित भएका थिए। कार्यसमितिका १५ सदस्य पनि निर्विरोध  भए ।  

मतगणनापछि आयोजित समारोहमा नेपाली काङ्ग्रेसका नेता बीरबहादुर  बलायरले निर्वाचित पदाधिकारी तथा  सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरे भने संघका अन्तराष्ट्रिय परिषद उपाध्यक्ष कुल आचार्यले सपथ ग्रहण गराए ।  

पोर्चुगलमा नेतृत्वसहित  यति धेरै पदमा निर्वाचन भएको पहिलो  पटक  हो ।  कार्यक्रममा निर्वाचन समिति संयोजक अशोक घिमिरेले मत परिणाम  घोषणा गरेका  थिए ।  

घोषणा समारोहमा काङ्ग्रेसका नेता बलायरले राजनीतिक आस्थाका आधारमा नभई नेपालीपन र सेवा भावका आधारमा काम गर्न सुझाए । उनले  गैर आवासीय  नेपालीहरुको समस्या समाधानका लागि नेपाल सरकारले र पार्टीले लिनुपर्ने नीतिका बारेमा  सुझाव दिन आग्रह गरे ।  

त्यस्तै, संघका उपाध्यक्ष आचार्यले गैर आवासीय नागरिकता मुद्दा  र संघले गरिरहेका प्रयास बारे जानकारी  दिए । उनले  संघको नेतृत्वको लागि दाबी गर्दै सहयोग गर्न आग्रह गरे ।  

कार्यक्रममा पोर्चुगलका लागि नेपाली अबैतनिक वाणिज्यदुत मकर हमालले नयाँ नेतृत्वलाई सहयोग गर्न आफू तयार  रहेको बताउउदै समस्या   समाधानका लागि एकजुट हुन आग्रह गरे ।  

सोही कार्यक्रममा निवर्तमान अध्यक्ष कुबेर कार्कीले नव निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गरे ।  

करिब २५ हजारको संख्यामा नेपाली पोर्चुगल रहेको अनुमान छ । संघमा भने करिब २१ सय सदस्य छन् ।  ती मध्ये १३९८ सदस्यले मतदान गरेका  थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ