arrow

एकै रातमा एक सय किलोमिटरसम्मको मकै नष्ट गर्ने फौजी किरा सक्रिय 

logo
प्रकाशित २०७६ भदौ ११ बुधबार
faugi-kira.jpg

काठमाडौं । अमेरिकी फौजी किराले ओखलढुंगा, भोजपुर, उदयपुर र खोटाङमा मकै बाली सखाप पारेको छ। किराको प्रकोप फलिँदा मकै किसान आतंकित बनेका छन्।

ओखलढुंगाको सिद्धिचरण राजमार्ग र ओखलढुंगा–हलेसी सडक आसपासका क्षेत्रमा फौजी किराले सबैभन्दा बढी मकै बाली सखाप पारेको छ। त्यस क्षेत्रमा ९० प्रतिशत हिउँदे मकैको नष्ट गरेको अनुगमनका क्रममा भेटिएको बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादवले बताए। उनले भने, ‘ओखलढुंगापछि खोटाङमा धेरै नष्ट गरेको छ, खोटाङमा ७०, उदयपुरमा २५ र भोजपुरको तथ्यांक आउन बाँकी छ। यो एकै रातमा पनि बढ्न सक्छ।’

ओखलढुंगामा नमुना र किरा परीक्षण गर्दा अमेरिकी फौजी किराको पुष्टि भएको उनले जानकारी दिए। ‘पहिले पनि मकैमा किराको प्रकोप देखिन्थ्यो। प्रदेश १ मै फौजी किराको प्रकोप पुष्टि भयो। यसले एकै रातमा एक सय किलोमिटरसम्मको मकै नष्ट गर्न सक्छ,’ यादवले भने।

फौजी किराले मकैबालीमा क्षति पुर्‍याएको सम्बन्धित जिल्लाका किसानले बताएका छन्। ती जिल्लामा बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए। 

हिउँदे मकैमा पनि फौजी किरा फैलिएपछि हिउँदे मकैबाट उत्पादनको आशा मारेको भोजपुर हतुवागढी गाउँपालिका–१ रानीबासका किसान पदमबहादुर बस्नेतले बताए। 

उनले भने, ‘बर्खे मकै पनि पानी नपरेपछि मरेर सकियो, हिउँदे मकैमा पनि फौजी किराले टिक्नै दिएन। यो वर्ष कसरी जीविका चलाउने ? बस्तुभाउलाई के दिने ?’ भोजपुरमा हतुवागढी गाउँपालिका क्षेत्रमा फौजी किराको संक्रमण बढेको छ। 

भोजपुर हतुवागढी गाउँपालिका १, २, ५ र ६ का रानीबास, लुंगिन, होम्ताङ, हर्का, लंखालगायतका क्षेत्रमा पनि फौजी किराको प्रकोप देखिएको छ। भोजपुरमा फौजी किराको प्रकोप देखिएको यो पहिलोपटक हो। 

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको कटारी नगरपालिका १३ मा किराको प्रकोप फैलिएको छ। मानेभन्ज्याङको हिलेपानी, सोक्माटार, थाक्लेमा लगाइएको मकैबाली सखाप पारेको सोक्माटारका किसान क्षमराज राईले बताए। 

खोटाङको बाहुनीडाँडामा कृषि ज्ञान केन्द्रका टोलीसमेत पुगेको छ। हलेसी तुवाचुङ नगरपालिकामा खडेरीका कारण मकैको बिरुवा मरेको केही समयपछि फेरि छरेर उम्रिएको मकैको बिरुवा फौजी किराले सखाप पारेको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले बताए। उनका अनुसार फौजी किराले घाँस तथा मकैका घोगासमेत नष्ट गरेको छ ।

अन्य जिल्ला उच्च जोखिममा रहेको उनको भनाइ छ। ‘अमेरिकी फौजी किरा पहिलोपटक भित्रिएको हो। पश्चिमका जिल्लामा साउन अन्त्यमा देखिएको अमेरिकी फौजी किरा अकस्मात् प्रदेश १ को ओखलढुंगामा देखिएको हो। यसको नियन्त्रणका लागि सरकारले विशेष योजना बनाउनुपर्छ,’ उनले भने।

अमेरिकी रैथाने फौजी किरा समूहमा दिउँसो माटोमुनि र रूखमा बस्छ। राति सक्रिय हुने यो किराले मकै र रूखका पालुवामा फुल पार्छ। एउटा फौजी किराले एकपटकमा २ सय वटासम्म फुल पार्ने विशेषज्ञ बताउँछन्। (अन्नपूर्ण पोष्ट दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ