arrow

६० लाख गैरआवासीय नेपालीको नागरिकताको सवाल सम्बोधन होस्ः कुल आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७६ भदौ १५ आइतबार
Kul_Acharya_NRNA.jpeg

मलेसिया । गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले संस्थाको विरासत कायम राखेर अघि बढाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । 

मलेसियाको राजधानी क्वालालम्पुरमा एनआरएनका विभिन्न समितिका पदाधिकारी एवम् प्रभावशाली व्यक्तित्वहरुले क्वालालाम्पुरस्थित विमानस्थलमा स्वागत गरे पश्चात बोल्दै आचार्यले एनआरएनलाई अब नवीनतम् सोच र लक्ष्यका साथ अघि बढाउनुपर्ने अवस्था आएको बताएका हुन् ।

‘विश्वभरिका लोकतन्त्र पक्षधरहरुले एनआरएनएको नेतृत्व लिन अनुरोध गर्नु भएको छ, त्यसैले मैले संस्थाको हितलाई शिरमाथि राखेर एनआरएनएको अध्यक्ष पदको जिम्मेवारी लिन आवश्यक तयारी थालेको हुँ,’ उनले भने ।

गैरआवासीय नेपालीहरूलाई विदेशस्थित कूटनीतिक नियोग र दूतावासहरुबाटै नागरिकताका लागि आवेदन दिन सकिने व्यवस्था गर्न माग गरेका छन् । भाषिक एकरुपताका बारेमा पनि पुनर्विचार गर्न उनको माग छ ।

उपाध्यक्ष आचार्यले गैरआवासीय नेपाली संघको आगामी रणनीति सरकारलाई नागरिकताका साथै राहदानी पनि दिने व्यवस्था गर्नतर्फ केन्द्रित हुने बताए ।

विश्वभरि रहेका नेपालीहरुको पक्षमा नेपाल सरकारले कानुन निर्माण गर्ने अपेक्षा व्यक्त गर्दै उनले राज्य व्यवस्था समितिमा छलफल हुँदा सिर्जना भएका प्रश्नको समाधान खोजिनुपर्ने बताए ।

आचार्यले गैरआवासीय नेपाली नागरिकता ऐनको व्यवस्था अनुसार सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारहरूलाई प्रष्ट पार्न आवश्यक रहेको धारणा राखे । 

‘सम्पत्ति तथा अन्य सवालमा सिर्जित प्रश्नहरुलाई समाधान गरेर ६० लाख नेपालीको अधिकार सुनिश्चित गर्नुपर्छ,’ आचार्यले थपे, ‘हाम्रो संकल्प र चिन्ता नागरिकताको सवाल सम्बोधन होस् भन्ने नै हो ।’

कतारमा शुक्रबार आयोजित गैरआवासीय नेपाली संघ कतारको आठौं अधिवेशन सम्पन्न गरी आचार्य मलेशिया पुगेका हुन् । 

आचार्यले आगामी असोज २६ देखि २९ गतेसम्म काठमाडौँमा हुने एनआरएनए विश्व सम्मेलनकै तयारीका लागि विश्वभर रहेका एनआरएनएका पदाधिकारी, सदस्य र विभिन्न क्षेत्रका अगुवाहरुसँग परामर्श र भेटघाटको क्रम तीव्र पारेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ