arrow

मेयरको आदेशमा स्थानान्तरण गरिएका गाई मारिएपछि कांग्रेसका वडा अध्यक्षहरुले उठाए सवाल

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
ward-chairman-nepalgunj.jpg

नेपालगञ्ज । नेपाली कांग्रेसबाट निर्वाचित नेपालगञ्ज उपमहानगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बोर्ड बैठकमा छलफल नै नगरी पुरैनास्थित कान्जीहाउसका गाईलाई दैलेख लैजाने निर्णय किन, कसरी र कहिले भयो भन्दै आपत्ति जनाएका छन् ।

बोर्ड बैठकमा छलफल नै नगरी मौखिक आदेशका आधारमा गरिएको गाई स्थानान्तरण कार्यको भत्सर्ना गर्दै उनीहरुले कसको लापरबाहीले घटना घटेको हो भन्ने प्रश्न तेर्साएका छन् ।

आइतवार विज्ञप्ती निकालेर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न माग समेत गरेका छन् ।

आफूहरुलाई यस बारेमा कुनै जानकारी नदिएको र मिडियामा समाचार आएपछि मात्र थाहा पाएको भन्दै उनीहरुले यस बारेमा शनिवार बोलाइएको आपत्कालीन बैठकमा मेयर अनुपस्थित भएपछि यस्तो संवेदनशील विषयमा छलफल गर्न मेयर उपस्थित हुनुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको समेत जनाएका छन् ।

वडा नम्बर १३ का वडा अध्यक्ष विरेन्द्र बहादुर शाह, १० का अध्यक्ष विन्दुभूषण बस्नेत, ११ का अध्यक्ष उज्वलसिंह राठोर, वडा नम्बर २२ का अध्यक्ष विद्याराम बर्मा, वडा नम्बर १९ का अध्यक्ष पर्शुराम कुर्मी, १६ का अध्यक्ष हनिफ जोलाह, १२ का अध्यक्ष बुद्धिसागर सुवेदी तथा कार्यपालिका सदस्य बसन्ता जोशी र देवेन्द्रपाल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनै औपचारिक निर्णयविना गाई स्थानान्तरण गरिएको भन्दै आपत्ति जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ