arrow

अन्नपूर्ण होटलको भवन निर्माण ठेक्कामा ७ करोडको चलखेल 

सिइओ राणा नै चलखेलमा

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
sirjana-rana-annapurna.jpg

काठमाडौं । नेपाल ट्रष्टको सेयर रहेको अन्नपूर्ण होटलले निर्माण गर्न लागेको क्यासिनो भवनमा ७ करोड रुपैयाँ घुसको चलखेलमा ठेक्का दिने तयारी भइरहेको छ। क्यासिनो भवन निर्माणमा ७ करोड रुपैयाँ बढी दरमा टेण्डर हालेको निर्माण कम्पनीको बोलपत्र स्वीकृत गर्ने चलखेलमा अन्नपूर्ण होटलकी प्रमुख कार्यकारी अधिकृत(सीईओ) सिर्जना राणा लागेकी छन् । 

अन्नपूर्ण होटलले क्यासिनोको भवन निर्माणका लागि १ महिनाअघि टेण्डर गरेको थियो । जुन टेण्डरको मूल्यांकन भइरहेको छ । नेपाल ट्रष्टको समेत ५ प्रतिशत लगानी रहेको अन्नपूर्ण होटलकी सीईओ सिर्जना राणाले ४ वटा कम्पनीले क्यासिनो भवन निर्माणमा बोलपत्र पेश गरेकोमा सबैभन्दा कम दरमा प्रस्ताव गर्नेलाई नदिई ७ करोड बढी दररेट पेश गरेको कविन्द्रमान निर्माण सेवालाई ठेक्का दिन जबर्जस्ती गरिरहेकी छन् ।

भवन निर्माणका लागि सीई कन्ष्ट्रक्सन, आदर्श निर्माण सेवा, कविन्द्रमान निर्माण सेवा, गार्गी नमूना निर्माण सेवाको प्रविधिक प्रस्ताव उपयुक्त देखिएपछि छानिएका थिए । छानिएकामध्ये सीईले ४४ करोड रुपैयाँमा बनाउने बोलपत्र पेश गरेको थियो । आदर्शले ३८ करोड ३० लाख रुपैयाँ, कविन्द्रमानले ३५ करोड ९५ लाख र गार्गीले २८ करोड ९८ लाख रुपैयाँमा क्यासिनो भवन निर्माणको टेण्डर दाखिला गरेका छन् । यीमध्ये सार्वजनिक खरिद ऐन अनुसार गार्गीको टेण्डर स्वीकृत गर्नुपर्छ । प्राविधिक प्रस्ताव पास गरिसकेकाले अन्नपूर्ण होटलले क्यासिनो भवनको निर्माणको ४ वटा कम्पनीमध्ये कम दरमा हाल्नेलाई नै दिनुपर्ने हुन्छ । सरकारको पनि लगानी भएकाले सार्वजनिक खरिद ऐन लागू गर्नैपर्ने हून्छ । तर अनपूर्ण होटलकी सीईओ राणाले गार्गीभन्दा ६ करोड ९७ लाख रुपैयाँ बढी रकम कबोल गर्ने कविन्द्रमानलाई दिने चलखेलमा लागेकी छन् ।

बोलपत्र मूल्यांकनका क्रममा उनले कविन्द्रमानलाई दिन चर्को दबाब दिएपछि होटलका मजदुरहरु पनि देखादेखी ७ करोड भ्रष्टाचार हुन नदिन पर्यटन विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुहार मागिरहेका छन् । सीईओ राणाले टेण्डरमा चलखेल गरी ७ करोड घोटाला गर्न खोजेपछि क्यासिनो भवन निर्माण सुरु नै हुन बिलम्ब भइरहेको छ । अन्नपूर्ण कफिसपको पछाडि क्यासिनो भवन बनाउन गरिएको टेण्डरमा सीईओ राणाको कमिसनमोह प्रकट भएपछि ठेक्का प्रक्रिया नै अवरुद्ध छ।

नेपाल ट्रष्टको ३० हजार ६ सय २२ कित्ता सेयर रहेको अन्नपूर्ण होटलकी सीईओ राणामाथि ऐन नियम मिचेर निर्माण क्षेत्रमा पेटी कन्ट्याक्टको काम गर्ने कविन्द्रमानलाई ३५ करोडको ठेक्का दिएर ७ करोड कमिसन खान खोजेको आरोप छ । होटलको मुनाफाको ७ करोड रकम भवन निर्माणमा सकेर मजदुरलाई दिनुपर्ने बोनस र आयकर समेत छल्न राणा उद्यत भएर लागेको आरोप छ। मजदुरलाई मुनाफाको १० प्रतिशत बोनस दिनुपर्छ । ७ करोड मुनाफा भए मजदुरले ७० लाख बोनस पाउँछन् । होटल मुनाफामा हुँदा मजदुरलाई बोनस दिनुपर्ने हुन्छ । तर ७ करोड रुपैयाँ घुस खाने र मजदुरलाई मुनाफा नभएको भनी बोनस नखुवाउने दाउ सृजना राणाको रहेको आरोप होटलका मजदुरहरुको छ ।

होटलको ट्रेड युनियनलाई पनि सृजना राणाले ७ करोड बढी कबोल गर्ने कविन्द्रमानलाई नै दिने पक्षमा भित्रभित्रै सहमत गराइसकेको ट्रेड युनियनमा आवद्ध नभएका होटलका मजदुर बताउँछन् । होटलको ट्रेड युनियन नेतृत्व पनि राणाको प्रलोभनमा परी कम दरमा निर्माण गर्ने प्रस्ताव गरेको गार्गीलाई ठेक्का नदिई कविन्द्रमानलाई नै दिने पक्षमा चुपचाप बसेको छ ।  ७ करोड मुनाफा भए ७० लाख बोनस दिदा करिब २ सय ५० होटलका मजदुरले प्रतिब्यक्ति २८ हजारको हाराहारीमा पाउने थिए । तर क्यासिनो भवन निर्माणमा ७ करोड बढी रकम कबोल गर्नेलाई ठेक्का दिएर त्यो रकम कमिसन लिने, मजदुरको गाँस खोस्ने र कर छल्ने दाउमा राणा रहेको आरोप स्वयं कर्मचाराी र मजदुरहरुले लगाएका छन् । भवन निर्माणको बिषयमा क्यासिनो र होटलबीच कुरा नमिलेपछि क्यासिनो एक प्रतिष्ठित कन्सलट्यान्टकोमा पुगेको स्रोतले बतायो । स्रोतका अनुसार ती कन्सलट्यान्टले हालसम्म भवन निर्माण सुरु नहुनुको कारण टेण्डरमा भइरहेको चलखेल भएको स्पष्ट पारेको बुझ्नमा आएको छ । (साँघु साप्ताहिकबाट)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ