arrow

हृदयश त्रिपाठीको समुह नेकपासँग चिढियो, नयाँ पार्टी गठन गर्ने तयारी

logo
राजु रिमाल,
प्रकाशित २०७६ भदौ २५ बुधबार
hridayesh-tripathinews.jpeg

काठमाडौं। चुनावको बेला सुर्य चुनाव चिन्ह लिइ निर्वाचन लडेको हृयदेश त्रिपाठी, व्रिजेश गुप्ता, पशुपति दयाल मिश्र, इश्वर दयाल मिश्र, अजय शाही लगायतका समुह नेपाल कम्युनिस्ट पार्टीसँग चिढिएको छ। 

यसअघि, उक्त समुहले नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकीककरणकोलागि पटक पटक अनौपचारिक कुराकानी गरेको थियो। तर नेकपाका नेताहरुले उक्त समुहलाई त्यती महत्व दिएनन्। स्रोतका अनुसार त्रिपाठीले नेकपामा पदाधिकारी मागेका थिए। साथै समुहका ४ जना सदस्यलाई केन्द्रीय सदस्य बनाउन माग गरेका थिए तर त्रिपाठीको समुहको मागलाई प्रधानमन्त्री र प्रचण्डले वास्ता गरेनन्।

त्यसपछि पनि यो समुह केही समय चुप लाग्यो। चुप लाग्दा पनि ओली र प्रचण्ड लगायतका नेताहरुले त्रिपाठी समुहका सदस्यहरुलाई बोलाएर छलफल गर्ने चासो राखेनन्। नेपाल कम्युनिट पार्टीका नेताहरुबाट अपमानित भए पछि त्रिपाठी समुहले मंगलबार काठमाडौमा भेला गर्‍यो। उक्त भेलामा २६ जना नेताको उपस्थिति थियो। भेलाले १७ बुँदे माग पनि पास गरेको छ। भेलामा त्रिपाठीले देशभर संगठन विस्तार गर्ने घोषणा गरे। उनले ७७ जिल्लामा जिल्ला समिति तथा ७ प्रदेशमा प्रदेश समिति गठन गर्ने घोषणा पनि गरे। साथै भविष्यमा पार्टी खोल्न सक्ने बताए। काठमाडौमा उपयुक्त ठाउँमा सम्पर्क कार्यालय खोल्न भवन खोज्ने काम भइरहेको समेत उनले घोषणा गरे।

भेलामा प्रतिनिधिसभाका दुई सांसद त्रिपाठी, गुप्ता तथा प्रदेश ५ का दुई सांसद अजय शाही तथा धर्मबहादुर श्रीवास्तवको उपस्थिति रहेको थियो। यसैगरी सो भेलामा इश्वर दयाल मिश्र, पशुपति दयाल मिश्र, अर्जुन थापा मगर, मोहम्मद साविर कर्सी लगायतका नेताहरूको उपस्थिति थियो। उनीहरू मध्ये धेरैजसो नेता यसअघि राष्ट्रिय जनता पार्टी नेपालमा आवद्ध थिए। चुनावको मुखमा उनीहरूले राजपा छाडेका थिए।

त्रिपाठी समुहको नाम स्वतन्त्र राजनीतिक समुह राखिएको छ। भेला पछि पत्रकारहरुसँग कुरा गर्दै त्रिपाठीले स्वतन्त्र राजनीतिक समुहलाई पाटीको रूपमा गठन गर्न सक्ने बताए। राजनीतिमा जे पनि हुन सक्ने भन्दै पार्टी गठन गर्न सक्ने सम्भावना देखाए। ‘राजनीतिमा लागेको व्यक्तिलाई पार्टी गठन गर्ने चाहना हुनु स्वभाविक हो। त्यो सम्भावना जहिले पनि रहन्छ’। आफू अहिले कुनै राजनीतिक पार्टीमा सम्बद्ध स्वतन्त्र भएको उनले दावी गरे।

सूर्य चुनाव लिइ निर्वाचनमा भाग लिए पनि आफू नेकपासँग सम्बन्धित नभएको उनले ठोकुवा गरे। उनले भने, ‘अहिले पनि हामीले नयाँ पार्टी गठन गर्न सक्छौ। 

कानुनी रुपमा हामीलाई कुनै समस्या आउँदैन’। त्रिपाठीले भने, ‘विगतमा पनि एक पटक पद्मरत्न तुलाधारले सूर्य चुनाब चिन्ह लिइ चुनाव लड्नु भएको थियो तर उहाँ तत्कालिन एमालेको सदस्य हुनु भएन’। अर्को पार्टीको चुनाव चिन्ह लिइ चुनाव लड्न सक्ने कानुनमै व्यवस्था भएको बताउँदै आफूहरु र नेकपा अलग अलग भएको दावी गरे।

पार्टी एकीकरणकोलागि नेकपासँग वार्ता भएको भने उनले स्विकार गरे। उनले भने, ‘पार्टी एकीकरणकोलागि नेकपा र हामी वीच गम्भिर चरणको वार्ता भएको थियो तर वार्ता अघि बढ्न सकेन’। नेपाल कम्युनिस्ट पार्टीसँग संवाद प्रक्रिया ठप्प भएको पनि उनले बताए। नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश नगर्ने घोषणा उनले गरे। उनले भने, ‘कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने हल्ला हल्ला मात्रै हो। यस्तो हल्ला मैले पनि सुनेको हुँ’। राजनीतिमा आएका नैराश्यतालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सकिन्छ कि भन्ने उदेस्यबाट आफूहरुले समुह गठन गरेको उनले चर्चा गरे। उनले भने, ‘अहिलेको राजनीतिक उपलब्धीमा अन्य नेता सरह हाम्रो पनि योगदान रहेको छ’।  

भेलाले निर्णय गरेका १७ बुँदाहरुमा संविधान संशोधन हुनु पर्ने, किसानहरूलाई  दिइने अनुदान प्रक्रिया प्रभावकारी बनाउनु पर्ने, कृषि उपजको आयातलाई बढुवा दिनु पर्ने, किसानको हक हितकोलागि कृषि उपज मुल्य निर्धारण आयोग गठन गर्नु पर्ने, भ्रष्ट्राचार, ढिला सुस्ती तथा अनियमिता अन्त्य हुनु पर्ने, नागरिकताको समस्या सामधान हुनु पर्ने लगायतका मागहरू छन्। भेलाले पास गरेका १७ बुँदे माग प्रधानमन्त्री, प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाइने त्रिपाठीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ