विचार गर्नुस संसारलाई धोका दिन सक्नुहोला भगवानलाई गाह्रो

निस्काम कर्मयोगको साधना सुगम सन्यास मार्ग कठिन

प्रकाशित मिति : २०७६ भदौ २५ बुधबार

काठमाडौं ।  मनुष्य शरीर भगवानको मन्दिर हो । जसले पनि भगवानको दर्शन गरे, यहि शरीरभित्र गरे। आफ्नो मन-मन्दिरभित्र पस्नु नै भगवानको द्वारभित्र पस्नु हो । जसले पनि भगवानको दर्शन गर्न चाहन्छ, उसले आफ्नो मन-मन्दिरभित्र प्रवेश गर्ने विधिलाई जान्नु पर्दछ। यो काम कठिन अवश्य छ; किनभने भगवानलाई आफ्नो बनाउनु कुनै सरल काम पनि त होइन । जब संसारी मानिसलाई आफ्नो बनाउन त कत्ति जोड लगाउनु पर्दछ भने, भगवानको लागि आफ्नो मनलाई संसारबाट हटाउनु कति गाह्रो काम छ।

यो विषय अति गहन छ। पढन-लेख्नाले अथवा काल्पनिक कुराहरुद्वारा यसलाई जान्न सकिंदैन । भगवान सबै शक्तिहरूका भण्डार हुन् साथै समस्त विश्वका संचालक तथा जीवहरूलाई चेतना दिनेवाला हुन् । तर यो सत्यलाई जानेर ध्यान गर्नाले मात्र मोह तथा अज्ञान दूर हुन्छ अनि अज्ञान दूर भएपछि मन-मन्दिरभिन्न हृदयमा भगवानको साक्षात्कार हुन्छ । मन-मन्दिरभित्र प्रवेश गर्ने साधनको ज्ञान प्राप्त गर्नका लागि सदगुरुको सान्निध्यमा जानु परम आवश्यक छ।

नेत्र आदि इन्द्रियहरूद्वारा जति पनि अनुभव गरिन्छ अनि मनको जहाँसम्म दौड रहन्छ, त्हाँसम्म सबै अनित्य, स्वप्नवत्, क्षणभंगुर र नाशवान छन् । ती सबैलाई असत्य जानेर ती सबैका आसक्तिबाट मुक्त हुनु नै शान्ति तथा मोक्षको मार्ग हो। दृश्यमान जगतको अन्त्यमा जुन शेष रहन्छ त्यसैलाई ब्रह्म अथवा परमात्मा भनिएको छ, जसलाई जानेर उपासना गर्नाले जीव परम सुखी बन्छ। परमात्मा प्राप्तिको पूर्ण साधन हर व्यक्तिको हृदयमा गुप्त रूपले छुपेको छ, जसलाई जान भक्ति तथा सनातन योग भनेको छ । त्यसको ज्ञान सद्गुरुको शरणमा गएर मात्र प्राप्त गर्न सकिन्छ, किनभने ज्ञानका दाता एकमात्र सद्गुरु हुन्छन्। भनेको छ-

अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम्।
तत्पदं दर्शितं येन तस्मै श्री गुरुवे नमः।।

अखण्ड रूपले जुन महाशक्ति सम्पूर्ण चराचरमा व्याप्त छ यस्ता महा-तत्त्वको ज्ञान गराउने गुरुदेवलाई मेरो नमस्कार छ। यहाँ तन्त्र मन्त्र बताउनेलाई, एउटा डण्डा राखेर त्यसलाई  ब्रह्म-डण्ड मान्नेहरू, कान चिर्ने र माला दिनेहरूलाई गुरु भनेको छैन, तर आजका दुनियाँले विचार गर्दैन। जो भेटायो उसैलाई गुरु बनाएर बस्दछन, तर गुरु उनैलाई भनिन्छ जसले  सर्वव्यापक अखण्ड ज्योतिको ज्ञान हृदयमा गराउदछन्। जसलाई यस्तो गुरु मिलेको छैन, उसले अरु अनेकौं गुरु बनाए पनि अज्ञानी नै रहन्छ।

सद्गुरुले शब्द-ब्रह्मको ज्ञान गराएर शिष्यको हृदयबाट अज्ञान अन्धकार दूर गरिदिनुहुन्छ अनि ज्ञानको यस्तो अमिट छाप लगाईदिनु हुन्छ जसले उसको हृदयको सारा भ्रम दूर हुन्छ। तर जसले शास्त्रहरू पढेर वा पाठ गरेर त्यो दिव्य ज्ञानलाई जान्न चाहन्छ अथवा शास्त्रहरूको सहायताले योग- मार्गमा हिंडन चाहन्छ, उसलाई कनै कालमा पनि सिद्धि प्राप्त हुँदैन। अनि जसले साँचो गुरुको खोजि नगरी अन्धो भएर जोसुकैलाई गुरु धारण गर्दछ, उसले भवसागरमा नै गोता लगाइरहनु पर्दछ, किनभने सृष्टिको पछाडि अव्यक्त रूपमा रहने महान् शक्तिको ज्ञान केवल मान्न साँचो गुरुबाट हुन्छ । जो झूटा गुरुहरूको चक्करमा पर्छ, उसको ज्ञान इन्द्रियका विषयहरूसम्म मात्र रहन्छ, किनभने ध्येयको ध्यान गर्नाले मात्र ध्याता ध्येयमा गएर मिल्छ। जसरी आगोबाट आगो प्रकट हुन्छ, त्यसरी नै सत्यको ज्ञान सत्यबाट मात्र हुन्छ । संसारमा सत्य-स्वरूप एक मात्र सद्गुरु हुन्छन्, बाँकी सारा संसार नाशवान् छ।

जब मानिसले सर्वव्यापक चैतन्य स्वरूप परमात्माको ध्यान गर्न थाल्छ, तब साधकको बुद्धि समत्व-बुद्धि हुनजान्छ अनि राग-द्वेष रहित भएर उसले सर्वत्र आफ्नो आत्मालाई देख्दछ । तर जसले बाहिरी पूजा-पाठ र ध्यानको आडम्बर गर्दछ अथवा घरबार त्यागेर गेरुवा वस्त्र लगाएर यो सम्झन्छ कि म संसारको सारा बन्धनबाट मुक्त भएँ वा यस प्रकारले  मेरो परमात्मासंग मिलन हुनेछ, त्यो उसको ठूलो भूल धारणा हो, झूटो कल्पना मात्र हो । यस्ता मानिसलाई परम शान्ति र परमात्माको ज्ञान हुँदैन।

यदि महाशक्तिले मनुष्य रूप धारण गरी सद्गुरु रूपमा आएर मानव मात्रलाई आफ्नो स्वरुपको ज्ञान गराएनन् भने मनुष्यले कुनै कालमा पनि भगवानलाई जान्न सक्ने छैन। भगवानको यो महान् कृपा हो कि मनुष्य तथा जीवको भ्रम दूर गर्न समय-समयमा अनेक रूपमा अवतार लिएर संसारमा आउनुहुन्छ । यदि भगवानसंग मिल्नु हो भने एकमात्र साँचो भक्तिद्वारा मिल्न सकिन्छ अनि त्यो भक्तिको ज्ञान सद्गुरुबाट मिल्छ । मानिसहरू वेद पढनुमा त सबैको अधिकार मान्दैनन्, तर भक्ति गर्ने अधिकार सबैको छ, सानो-ठूलो सबैले भगवानको भक्ति गर्न सक्छ ।

मानिसहरू यस्तो मान्दछन् कि जसरी मानिसको गुण र स्वभाव अलग-अलग हुन्छ, उस्तै भगवानलाई प्राप्त गर्ने पनि अलग-अलग मार्ग र तरीकाहरू छन् । तर आजका पण्डित, विद्वानहरूका भगवानलाई प्राप्त गर्ने अनेक साधन वा मार्गहरू छन् भन्ने विचार असत्य हो, भूल धारणा हो, किनभने जब सबैले एउटै महाशक्तिको उपासना गर्नुछ अनि उनै एक शक्तिमा मिल्नु छ भने, त्यसको अनेक मार्ग कसरी हुनसक्छ?

भगवानको वास सूक्ष्म रूपले सबैको हृदयमा छ जसको याद, जसको ध्यान हृदयमा नै जानेर गर्नु पर्दछ । हृदयमा भगवानको ध्यान-स्मरण गर्नुलाई नै भक्ति भनेको छ। कसले कस्तो भावना लिएर भक्ति गर्छ त्यो सबै अन्तर्यामी भगवानले जान्नुहुन्छ । संसारलाई धोका दिन सकिन्छ, तर भगवानलाई  धोका दिन सकिंदैन । कसैले माला र तिलकको छाप देखेर सम्झन्छ यो नै भगवानको पक्का भक्त हो, तर भक्तिमा कुनै  प्रकारको बाहिरी भेष-भुषा, तिलक छापको जरुरत पर्दैन।

आफ्नो संशय प्रकट गर्दै अर्जुनले भगवान कृष्णलाई भन्छन्- प्रभु! तपाईंले एकातिर निष्काम कर्मयोगको प्रशंसा गर्नुहुन्छ अनि अर्कोतिर कर्म संन्यासको अर्थात् कर्मलाई त्याग गर्न भन्नहुन्छ । यो कुरा ठीकसंग बुझ्न नसक्नुको कारण मेरो बुद्धि संशयमा परिरहेको छ, यसकारण यी दुवैमा निश्चय गरिएको कल्याणकारी जुन श्रेष्ठ मार्ग छ, त्यहि मेरो निम्ति बताउनुहोस् ।

तब भगवान कृष्ण भन्नुहुन्छ, हे अर्जुन! सांसारिक  बन्धनहरुबाट छुटेर भगवानसंग मिल्ने जुन सरल मार्ग छ, त्यो  मार्गको बारेमा म तिमीलाई बताउने छु। त्यसको ठीकसंग  साधना गर्नाले निष्काम कर्मयोग र संन्यास दुवै मार्ग कल्याणकारी  हुन्छ, किनभने दुवै अवस्थाको अन्तिम फल परमात्मा प्राप्ति हो। जसले संन्यास र निष्काम कर्मयोगलाई अलग-अलग फलदाता सम्झन्छ, उसलाई अज्ञानी मूर्ख भनि सम्झनु पर्छ; किनभने भगवानको याद जस्तो सर्वश्रेष्ठ कर्मलाई त दुवै अवस्थामा गर्नुपर्दछ ।

तसर्थ कर्म त्यागको झूटो अभिमान किन गर्नु ? जसले नाना प्रकारको भेष बनाएर भगवानको चिन्तन गर्दैन, उसलाई  परमार्थ पथबाट भ्रष्ट भएको सम्झ। जसको कामना, इच्छाहरू दूर भएको छ अनि जसले आयुपर्यन्त भगवानको चिन्तन गर्दै अरुलाई पनि भक्तिको मार्गमा लगाउँदछ, उसैको संन्यास  सफल हुन्छ । लुगा रंगाउनाले, कान चिर्नाले अनि ब्रह्मा दण्ड राख्नाले कोहि संन्यासी हुँदैन । संन्यास र निष्काम कर्मयोगमा जसले केहि भेद मान्दैन, उसैले परमात्मालाई जान्दछ ।

तर  निष्काम कर्मयोगको साधना गर्नु मानिसहरुको लागि जति सुगम छ, संन्यास मार्ग त्यति नै कठिन छ। स्त्री-पुत्र, घरबार र संसारका सबै पदार्थहरूको आसक्तिलाई त्यागेर ईश्वरको  चिन्तन गर्नेलाई संन्यासी भनिन्छ । 'अहं ब्रह्मास्मि' म नै ब्रह्म हैं  आदि महा-वाक्य रटनेहरूलाई संन्यासी भनिंदैन। ।

संन्यास के हो? यो पहिले जान्न पर्छ। जसले अप्राप्त वस्तुको कामना गर्दैन अनि प्राप्त वस्तुमा आसक्ति राख्दैन, न  कसैसंग द्वेष गर्छ, न त कसैसँग राग गर्दछ, यस्ता मानिस  स्त्री-पुत्र, घरबार त्याग नगरी पनि सदा संन्यासी रहन्छ । ऊ जहाँ पनि रहन्छ उसलाई कर्म बन्धन हुँदैन। जसले संसारलाई  दुःख रूप सम्झेर हठपूर्वक त्याग गर्छ अर्थात संन्यासी बन्छ। तर मनले भने संसारको चिन्तन गर्दछ, उसले अनेक प्रकारको  दुःख भोग्नु पर्छ, ऊ कहिल्यै बन्धनबाट मुक्त हुँदैन। निष्काम  कर्मयोगको साधना गर्नेले परमात्माको चिन्तन गर्दै कर्म गरेता पनि उसले शीघ्र परमात्मारूपी परम शान्ति प्राप्त गर्दछ। कायेन मनसा बुद्धया केवलैरिन्द्रियैरपि।

नयाँ