arrow

खुला दिसामुक्त जिल्लाको राजनीतिः कास्की पहिलो, काठमाडौं बल्ल

logo
प्रकाशित २०७६ असोज १ बुधबार
toilet.jpeg

काठमाडौँ । देशको राजधानी भएको काठमाडौँ जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँ जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन् । 
     
भदौ २४ गते काठमाडौँ महानगरलाई ‘खुला दिसामुक्त महानगर’ घोषणा गरिएको थियो । खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिको प्रतिवेदनअनुसार काठमाडौँ जिल्लामा दुई लाख ९२ हजार ४५२ घर छन् र ती सबै घरमा चर्पी छन् ।

तर सार्वजनिक स्थानमा भने सहजै सर्वसाधारणले चर्पीको प्रयोग गर्न पाएका छैनन् । सहज व्यवस्था नभएसम्म दिसामुक्त क्षेत्र केवल राजनीति गर्ने बहानामात्र बन्नेछ । 

काठमाडौँलाई सन् २०१७ अगाडि नै खुला दिसामुक्त जिल्लाका रूपमा घोषणा गर्ने कार्यक्रम रहेको भए पनि काम सफल हुनसकेको थिएन । प्रदेशसभा सदस्य सिलवालले खानेपानी र सरसफाइलाई सभ्यतासँग जोडेर एकीकृत र समन्वयात्मक कार्यक्रम सञ्चालन गरेर पूर्ण सरसफाइतिर लाग्नुपर्ने बताए ।     
     
जिल्ला समन्वय समितिका प्रमुख एवं खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले चर्पी बनाएर मात्र पूर्ण सरसफाइ नहुने बताउँदै उनले स्थानीय तहबाट पूर्ण सरसफाइमा लाग्नुपर्नेमा जोड दिए । 

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पूर्ण सरसफाइका लागि चर्पी भएर मात्र पुग्दैन, चर्पीसँगै यसको प्रयोग, सार्वजनिक शौचालय निर्माणलगायतका क्षेत्रमा सक्रियतापूर्वक काम हुनुपर्ने बताए ।     
     
जिल्लास्तरीय समन्वय समितिका सदस्य सचिव हरिदत्त पौडेलले यस अभियानका क्रममा ५५ हजार ५०० चर्पी बनाउन उपभोक्ताको रु २७ करोड ८० लाख र सरकारको रु छ करोड ६५ लाख बराबर खर्च भएको जानकारी दिए । काठमाडौँ उपत्यकामा भक्तपुरलाई विसं २०७० कात्तिकमा र ललितपुरलाई २०७५ जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । नेपालको पहिलो खुला दिसामुक्त जिल्ला भने कास्की हो । कास्कीलाई विसं २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको हो ।     
     
 भोजपुर नगरपालिका क्षेत्रलाई पनि खुला दिसामुक्त घोषणा गरिएको छ । नगरक्षेत्रका सम्पूर्ण घरमा सेफ्टीट्याङ्कीसहितको शौचालय निर्माण भएसँगै नगरलाई मङ्गलबार खुला दिसामुक्त घोषणा गरिएको हो । 

जिल्लाका अन्य आठ स्थानीय तह यसअघि नै खुला दिसामुक्त घोषणा गरिएका भए पनि मुख्य बजार रहेको नगरपालिकाको वडा नं ७ मा शौचालय निर्माणमा ढिलाइ हुँदा खुला दिसामुक्त घोषणा गर्न समस्या हुँदै आएको थियो । वडावासीले शौचालय निर्माण गरेपछि वडासँगै नगरपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले खुला दिसामुक्त घोषणा गरेका हुन् । 
     
महोत्तरी जिल्लाले सरसफाइका क्षेत्रमा एउटा फड्को मारेको छ । जिल्ला नै खुला दिसामुक्त घोषणा गरिएपछि समस्त जिल्लावासीका लागि यो सामाजिक र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण उपलब्धि बनेको हो । 

प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मङ्गलबार जलेश्वरमा जिल्ला खुला दिसामुक्त बनेको घोषणा गरेका हुन् । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको विशेष समारोहमा मुख्यमन्त्री राउतले अब महोत्तरीको परिचयमा एउटा खास उपलब्धि जोडिएको बताए । 

सरसफाइ व्यक्तिको मात्र नभई सामाजिक पहिचान र संस्कृतिसँगै जोडिने कुरा भएकाले यो परिचय कहिल्यै निभ्न नदिन जिल्लाका प्रत्येक नागरिकको दायित्व भएको राउतले औँल्याए ।     
     
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तह खुला दिसामुक्त बनेपछि मङ्गलबार सो घोषणा गरिएको हो । जिल्लामा पछिल्ला १० वर्षयता जिल्ला समन्वय समिति (हालको) र स्थानीय तहबीच समन्वय गरेर जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रत्येक स्थानीय तहका घर–घरमा शौचालय निर्माणको अभियान सञ्चालन गर्दै आएको थियो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ