arrow

सात मन्त्री अनुपस्थित, एक मन्त्री बैठकबाटै बाहिरिए, प्रधानमन्त्री ओली रन्किएमात्र 

logo
प्रकाशित २०७६ असोज १० शुक्रबार
mantriparisad-baithak.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको बैठकमा महत्वपूर्ण मन्त्रालयकै मन्त्रीहरु उपस्थित नभएपछि बैठक नै खल्लो सावित भएको छ । बिहीबार मन्त्रालयगत समीक्षा बैठक राखिएकामा महत्वपूर्ण मन्त्रालयका सहित सात मन्त्री उपस्थित थिएनन् । 

दुईमध्ये एक उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिकामा छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघको महासभामा मन्त्री यादव पनि अमेरिकामै रहेका हुन् । 

मन्त्री ज्ञवाली पनि अमेरिकामै छन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु नेपाल आएर नेकपासंग सहमति र समझदारी गर्दा मन्त्री ज्ञवाली नेपालमा थिएनन् । 

वन मन्त्री शक्ति बस्नेत पनि अमेरिकामै छन् । जलवायु सम्बन्धी सम्मेलनमा भाग लिन उनी न्यूयोर्क पुगेका हुन् । उर्जा मन्त्री वर्षमान पुन जापानमा छन् । पुन नलसिंहगाढ जलविद्युत आयोजनाको लगानी जुटाउन जाइकाको निमन्त्रणामा जापान गएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको महासभामा भाग लिन मोन्ट्रियल गएका छन् । 

पाँच मन्त्री विदेशमा हुँदा दुई मन्त्रीहरु भने नेपालमै भएर पनि समीक्षा बैठकमा उपस्थित भएनन् । अर्थमन्त्री डा युवराज खतिवडा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा सहभागी हुन पुगेका थिए ।

खानेपानी मन्त्री बिना मगर पनि आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगेकी थिइन् । सात मन्त्रालयका मन्त्रीहरु नै उपस्थित नभएपछि समीक्षा बैठक नै प्रभावित भयो । 

भौतक योजना मन्त्रालयको प्रगति विवरण मन्त्रालयका सचिवले पेश गर्दैगर्दा मन्त्री रघुवीर महासेठ बैठकबाट बाहिरिएका थिए ।

बैठक जानीजानी
प्रधानमन्त्री ओलीलाई आफ्ना मन्त्रीहरु को कहाँ छन् भन्नेकुराको ज्ञान हुनै पर्दथ्यो । विदेश जाँदा त झन् प्रधानमन्त्रीको हैसियतमा उनी जानकार हुनै पर्ने थियो । 

तर पनि उनले यो समयमा समीक्षा बैठक डाके । अर्कातर्फ समीक्षा बैठक बस्ने निर्णय तत्काल गरेर बसेको जस्तो देखिएको छ । होइन भने कुनै पनि मन्त्रीले अग्रिम कार्यक्रम स्थगित गर्न सक्थे । 

अर्कातर्फ समीक्षा बैठकमा मन्त्री उपस्थित नभएका मन्त्रालयका बारेमा चर्को आलोचना भएको जनाइएको छ । जब मन्त्री नै नभएपछि त्यसमाथि बहस गरेर के अर्थ । 

सबैभन्दा महत्वपूर्ण कुरा के भने जति मन्त्रीहरु उपस्थित थिए के तिनीहरुले आफ्नो कर्तव्य पूरा गरेका थिए ? के गुनासो छैन ? 

रन्किए ओली 
ओलीले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउनयता सरकारका विभिन्न मन्त्रालयका कामको जानकारी लिएका थिए । उनी कुनै पनि मन्त्रालयको प्रगति विवरणप्रति सन्तुष्ट भएनन् । 

उनी उनी रन्किए मन्त्रीहरुसंग । उनले सानातिना काममा नअल्झिई राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे मन्त्रीलाई हटाउने चेतावनी दिएका छन् ।

उक्त क्रममा उनले कामको समीक्षा गर्दै देश र जनताको चाहनाअनुसार ल्याइएका योजना समयमै सम्पन्न गर्नेतिर लाग्न मन्त्रीहरूलाई निर्देशन दिए ।

उनले मन्त्रीहरुले आपसमा पनि समन्वय गर्न नसकेको भन्दै आक्रोश पोखे । उनले मन्त्रीहरुलाई एकले अर्कालाई दोष थोपरेर उम्कने बाटो नखोज्न चेतावनी दिए । 

औपचारिकता मात्र 
सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले मन्त्रालयहरुको दुई महिनाको कार्यप्रगति विवरण जानकारी लिएको बताए। 

उनले भने,  ‘प्रधानमन्त्रीज्यूले कार्यसम्पादन सम्झौता गरेपछि के–के प्रगति भयो भनेर दुई महिनाको विवरण माग्नुभएको हो। यो नियमित प्रक्रिया हो ।’ 

हो, यो नियमित प्रक्रिया हो । प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित प्रक्रिया नै पूरा गर्दै आएका छन् । काम नगर्ने मन्त्री र विवादित मन्त्रीलाई हटाएका छैनन् । 

आफ्नो तजबिजीले उनले हटाएकै छैनन् । सामाजिक दवाव आएपछि यसअघि मन्त्री हटाइए पनि कार्यविवरण प्रगति चित्त नबुझेर मन्त्री हटाउन उनले सकेकै छैनन् । 

अहिलेसम्म यो मन्त्रालयको प्रगति विवरण ठीक छ भनेर भन्ने कुनै अवस्थै छैन । र पनि प्रधानमन्त्री ओली चुप छन् । अर्थात् उनी औपचारिकतामात्र पूरा गरिरहेका छन् । सरकारका प्रवक्ताको भनाइलाई आधार मान्ने हो भने मन्त्रीमण्डल कुनै हेरफेर हुँदैछैन केबल नियमित प्रक्रियाका लागिमात्र समीक्षा बैठक बसेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ