arrow

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमामा आबद्ध हुनेको संख्या २ लाख २५ हजार नाघ्यो

कैलालीमा मात्रै १ लाख २६ हजार ४८

logo
पूर्णबहादुर खड्का,
प्रकाशित २०७६ असोज १२ आइतबार
swasthya_bima.jpg

अछाम । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमामा आबद्ध हुनेको संख्या २ लाख २५ हजार ३ सय ९७ पुगेको छ । यस प्रदेशका ७ जिल्लामा लागु भएको बिमा कार्यक्रम मार्फत उक्त संख्या पुगेको स्वास्थ्य बिमा बोर्डका सुदूरपश्चिम प्रदेश संयोजक जनक साँउदले बताए ।

संयोजक साँउदका अनुसार सबै भन्दा बढी कैलाली जिल्लामा १ लाख २६ हजार ४८ जनाले स्वास्थ्य बिमा गराएका छन भने बझांगमा २७ हजार ८ सय ६, बाजुरामा २५ हजार ७ सय २३, अछाममा २४ हजार ४०, बैतडी मा १० हजार ८ सय ३०, कञ्चनपुरमा ६ हजार २ सय ५४, दार्चुलामा ४ हजार ६ सय ९६ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम २०७२ चैत्र महिनामा कैलाली जिल्लाबाट सुरु गरिएको थियो । ९ जिल्ला रहेको यस प्रदेशको डोटी र डडेलधुरामा मंसिर १ गते देखी स्वास्थ्य बिमा कार्यक्रम लागु हुने गरि तयारी भईरहेको बताईएको छ ।

बाँकी रहेका २ जिल्लाका लागि पहिलो चरणमा जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई अभिमुखिकरण कार्यक्रम सकिएको र हाल दर्ता छनोटको काम भईरहेको प्रदेश संयोजक साँउदले जानकारी दिए । साथै उनले यस प्रदेशमा उत्साहजनक रुपमा स्वास्थ्य बिमामा आबद्ध हुनेको संख्या बढीरहेको उल्लेख गरेका छन् ।

नियमावली अनुसार राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमा अन्तर्गत उपचार सेवा लिन सक्छन । यसअघि २ हजार ५ सय रुपैयाँको प्रिमियम तिरेर ५ जनाको परिवारले स्वास्थ्य बिमाअन्तर्गत ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान थियो । यसलाई बढाएर एक लाख पुर्‍याइएको छ ।

परिवारको एक जनाले बर्षेनी स्वास्थ्य बिमाबापत १० हजार रुपैयाँ बराबरको उपचार सुविधा पाउने गरेकामा अब यो रकम दोब्बर अर्थात् २० हजार भएको छ ।

स्वास्थ्य बिमा नियमावली २०७५’ मा ज्येष्ठ नागरिकको बिमा शुल्क सरकारले तिर्ने व्यवस्था छ । ज्येष्ठ नागरिकलाई छुट्टै युनिट मानेर वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार सेवा पाउने गरी राज्यले प्रिमियम आफै तिर्ने गरेको छ ।

नयाँ नियमअनुसार एउटा परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रत्येक सदस्य बापत ७ सय रुपैयाँ तिर्नुपर्छ । सदस्य संख्या थपिँदा एउटा परिवारले अधिकतम २ लाख रुपैयाँसम्मको बिमा गराउन पाउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ