arrow

राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्ट: सिंहदरवारकै सरकारी कर्मचारी ३ नबज्दै घर हिड्छन 

logo
राजु रिमाल,
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
satarkata.jpg

काठमाडौं। सरकारी कर्मचारीको डयुटी समान्यतया विहान १० वजे देखि साँझ ५ वजेसम्म हो। तर यो नियम अधिकांश सरकारी कर्मचारीले मान्दैनन्। विहान १० वजे कार्यालयमा पुगी साँझ ५ वजेसम्म कार्यालयमै बस्ने कर्मचारी निकै न्युन हुन्छन्। सिंहदरवार भित्रका सरकारी कार्यालयहरुमा यस्तो स्थिति छ भने सिंहदरवार बाहिरका कार्यालयहरुमा कस्तो होला अनुमान गरौं। 

राष्ट्रिय सतर्कता केन्द्रका कर्मचारीहरुले असोज ३० गते दिउँसो ३ वजे एकै पटक सिंहदरवारभित्र रहेका ६ वटा सरकारी कार्यालयहरुमा गइ छड्के गरेका थिए। नतिजा निस्क्यो, अधिकाशं सरकारी कर्मचारी दिउँसो ३ वजे अघि घर निस्कन्छन्। दिउँसो ३ वजेसम्म कार्यालयमा बस्ने कर्मचारी निकै न्युन देखिए। केन्द्रका कर्मचारीहरु छड्के गर्न जाँदा ६ वटा सरकारी कार्यालयका २ सय २६ कर्मचारी मध्ये एक सय ६९ कर्मचारी दिउँसे ३ वजे कार्यालयमा थिएनन्।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका ५४ कर्मचारी मध्ये ५० कर्मचारी दिउँसो ३ वजे कार्यालयबाट हिडेको प्रतिवेदनमा जनाइएको छ। अर्थ मन्त्रालयका २७ मध्ये २४, उद्योग मन्त्रालयका ३९ मध्ये ३२, मुद्रण विभागका ६१ मध्ये ५६ कर्मचारी दिउँसो ३ वजे कार्यालय समयमा नभएको केन्द्रको प्रतिवेदनमा जनाइएको छ।

केन्द्रको रिपोर्ट अनुसार दिउँसो ३ वजेसम्म सरकारी कार्यालयमा बस्ने कर्मचारीहरुमा रेडियो नेपालका कर्मचारी बढी जिम्मेवार देखिएका छन्। रेडियो नेपालका ४२ जना कर्मचारी मध्ये ६ जना मात्र मध्ये दिउँसो ३ वजे कार्यालयमा थिएनन्। केन्द्रले तयार गरेको वार्षिक प्रतिवेदनमा पनि यस कुरालाई प्राथमिकताको साथ उठाएको छ। 
कार्यालय समयमा कार्यालयमा आउन र साँझ ५ वजेसम्म कार्यालयमा बस्न केन्द्रले सरकारी कार्यालयहरुलाई पटक पटक निर्देशन गरेको छ। केन्द्रको निर्देशनलाई अधिकांश सरकारी कार्यालयहरुले टेर्न गरेका छैनन। 

सरकारी कार्यालयहरुमा कर्मचारीहरुकोलागि पोशाकको व्यवस्था गरिएको छ। केही कर्मचारीहरुले सरकारले तोकेको पोशाक नलगाएरै सरकारी कार्यालयमा आउने गरेको रिपोर्टमा जनाइएको छ। केन्द्रले गरेको छड्कोमा २ सय २६ कर्मचारी मध्ये १४ जना कर्मचारीले तोकेको पोशाक लगाएका थिएनन्। जव कि, हरेक वर्ष सरकारले सरकारी कर्मचारीहरुको पोशाकको लागि करोडौं रकम छुट्टयाएको हुन्छ। प्रत्येक सरकारी कर्मचारीलाई छुट्टाछुट्टै पोशाक भत्ता उपलब्ध गराइएको छ। 

कार्यालय समयमा कार्यालयमा नआउने तथा तोकिएको पोशाक नलगाएर कार्यालयमा आउने कर्मचारीहलाई विभागीय कारबाही गर्न केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन गरेको छ। तर विगतमा यस्तो निर्देशन सम्बन्धित कार्यालय प्रमुखले टेर्ने गरेका छैनन्। यस वर्ष पनि टेर्ने छाँटकाँछ छैन,–केन्द्रका एक उच्च कर्मचारी दुखेसो पोख्छन्। ती कर्मचारी भन्छन, ‘हामीले आफै कारबाही गर्न कानुनी रुपमा पाउँदैनौ। हामीले सिफारिश गर्ने मात्र हो तर हाम्रो सिफारिशलाई सम्बन्धित विभागीय प्रमुखहरुले मान्दैनन्।’ 

केन्द्रले यसअघि पनि पटक पटक सरकारी कार्यालयमा गइ छड्के गर्ने गरेको छ तर सबै छड्केहरुमा सरकारी कर्मचारीहरुले कार्यालय समयको बेवास्ता गरेको केन्द्रले तयार गरेको वार्षिक प्रतिबेदनमा जनाइएको छ। प्रतिबेदन अनुसार कार्यालय समयलाई बेवास्ता गर्ने प्रवृत्ति काठमाडौं बाहिरका कार्यालयहरुमा अझै बढी छ। केन्द्रले आफ्नो प्रतिबेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयलाई बुझाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ