arrow

डोजर आतंकको प्रतिवेदन पेश गर्न कांग्रेसले पठायो प्रतिनिधि

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
dojer.jpg

काठमाडौं । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा नगरपालिकाले सहमति निर्माण गर्ने प्रयत्न गर्दा गर्दै स्थानीय नागरिकलाई विश्वासमा नलिई हिजो कात्र्तिक ४ गते एकपक्षीय रुपमा सडक खन्ने क्रममा भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण जनाएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वार जारी विज्ञप्तिमा भनिएको छ,'विकासका कुनै पनि कार्यबाट सम्बन्धित क्षेत्रका नागरिक लाभान्वित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ तर सम्बन्धित क्षेत्रका नागरिकलाई विश्वासमा नलिने र स्काइभेटर प्रयोग गरी सडक निर्माण गर्ने कार्य अघि बढाउँदा विरोधमा उत्रिएका नागरिकमाथि ‘डोजर’ चलाइएको घटना गम्भीर र अक्षम्य छ । नेपाली कांग्रेस यो घटनाको गहिरो छानविन गरी दोषी माथि कडा कार्वाही गर्न र घटनाका घाइतेलाई सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ ।'

नेपाली कांग्रेसले घटनास्थलमै पुगेर स्थानीय नागरिक, स्थानीय सरकार, राजनैतिक दलहरु, स्थानीय प्रशासन, संचारकर्मीहरु एवं आवश्यक व्यक्तिहरुसँग संवाद गरी आवश्यक निर्णय लिन र प्रतिवेदन पेश गर्न केन्द्रीय प्रतिनिधिका रुपमा श्री बहादुर सिंह थापालाई बैतडी पठाइएको छ ।

कञ्चनपुर जिल्लाका पूर्व सभापति समेत रहेका संविधान सभा सदस्य थापाले आजै साँझबाट बैतडीमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेको कांग्रेसले जनाएको छ ।

सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।   दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा देखिन्छ ।

प्रहरीका अनुसार घटनामा अन्य ८ जना घाइते भएका छन् । स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन् ।

सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन् । डोजर चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

 बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । झडप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि पक्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ