arrow

विभागीय प्रमुख नियुक्ति विरुद्ध त्रिवि रजिष्ट्रार कार्यालयमा तालाबन्दी

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
talabandi-kanchanpur-yes.jpeg

काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापनले आफैले तय गरेको सिद्धान्त विपरित जनप्रशासन विभागमा निमित्त प्रमुख नियुक्त गरेको आरोप लगाउदै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले बुधवार त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् ।

त्रिवि पदाधिकारी बैठकले रिक्त हुन आएका विभाग र क्याम्पसहरुमा निमित्त प्रमुखका रुपमा कार्यरतहरुलाई नै निरन्तरता दिने सिद्धान्त पारित गरेपनि जनप्रशासन केन्द्रिय विभागमा मात्र अनुचित ढंगले जुनियरलाई प्रमुख बनाएकाले आन्दोलतमा उत्रनु परेको विद्यार्थी नेताहरुले जनाएका छन् ।

सोमबार नियुक्तिको विरुद्ध विभागमा तालाबन्दी गरेका विद्यार्थीहरुले माग सुनुवाई नभको भन्दै बुधवार रजिष्ट्रार कार्यालयमै ताला लगाएका हुन् ।

पदाधिकारीहरुले अनुचित ढङ्गले विभागको विभागीय प्रमुख नियुक्त गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले आन्दोलन थालेका हुन् ।

विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै आन्दोलित नेविसंघ जनप्रशासन क्याम्पस इकाई अध्यक्ष सुदीप श्रेष्ठले अझै माग सुनुवाई नभए उपकुलपति कार्यालयमा समेत तालाबन्दी गरिने चेतावनी दिए ।

वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्त गर्नुपर्ने, एउटै व्यक्ति दुई संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग पुरा नभएसम्म आन्दोलन जारी रहने श्रेष्ठको चेतावनी छ । विद्यार्थीको आन्दोलनमा जनप्रशासनका वरिष्ठ प्राध्यापक तथा शिक्षकहरुको समेत सहयोग रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ