arrow

जसको अधीनमा छ साउदी अरेयिबा

logo
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
saudi-prince.jpg

काठमाडौं। साउदी अरेबियाका राजा किङ सलमान हुन्। तर, उनको शारीरिक अवस्थ तथा उमेरको कारण साउदी अरेबियाको जिम्मा युवराज मोहम्मद बिन सलमानले लिँदै आएका छन्। उनलाई एमबीएसको नामले पनि चिनिन्छ।

साउदी अरेबियाको नाम त्यसै पनि मुस्लिम बाहुल्य रहेको मुलुकको रुपमा चिनिन्छ। त्यतिमात्र होइन, यो मुलुकमा मुस्लिम अन्धविश्वास पनि अत्यधिक मात्रामा छ। तर, साउदी राजकुमार मोहम्मद बिन सलमान शक्तिमा आएसँगै उनले मुलुकको अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास गरेका छन्।

मुस्लिम समुदायको आफ्नै किसिमको नियमले परम्परावादी सोचमा रहेको साउदीलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउनु त्यति सजिलो काम पक्कै पनि होइन। युवराज सलमान भने त्यसलाई बिस्तारै चिर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्पसहितका नयाँ कामहरु शुरु गरेका छन्। जसको कारण पछिल्लो समय साउदीको नियम पनि केही खुकुलो बन्दै गएको छ।

युवराजको लागि समस्या परम्परावादी सोच हटाउनु मात्र होइन, यमनसँगको द्वन्द्व, मुस्लिम महिलाको आन्दोलन, कट्टरपन्थीको आन्दोलन र पत्रकार जमाल खाशोग्जीको हत्याको आरोप लाग्नु पनि हो। यी सबै समस्या पार लगाउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प युवराज सलमानको छ। यही आत्मविश्वासको कारण उनले साउदी युवराज हुने अवसर पाएका हुन्।

अहिलेको अवस्थामा हेर्ने हो भने पनि उनको सुधारको योजनाको कारण उल्लेख्य परिवर्तन देखिइसकेको छ। सन् २००३ को तुलनामा अहिले साउदीको अवस्था निकै फरक रहेको त्यहाँ पुगेका मानिसहरु बताउँछन्।

कुनै समय साउदीको राजधानी मरुभूमिको सहरजस्तो थियो। तर, अहिलेको अवस्थामा यो सहर बेलायतको लण्डनसँग तुलना गर्न सकिने अवस्थामा पुगिसकेको छ। जसको कारण पनि साउदीलाई आफ्नो अवस्थामा पनि सुधार गर्नु जरुरी देखिएको हो।

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको जन्म सन् १९८५ अगष्ट ३१ मा साउदी अरेबियाको रियादमा भएको हो। वर्तमान राजाका छोरासमेत रहेका उनलाई भावी राजाको रुपमा हेरिएको छ। उनले अघि सारेको विभिन्न किसिमको सुधारको योजनाको कारण उनको प्रशंसा भइरहेको भए पनि पत्रकार जमाल खाशोग्जीको हत्याको आरोप उनीमाथि लागेको छ।

खाशोग्जी सलमानका कट्टर आलोचक थिए। टर्कीस्थित साउदीको अवैतानिक दूतावासमा उनको हत्या गरिएको थियो। सलमानले उनको हत्या आफूले गर्न नलगाएको तर साउदीका अधिकारीले नै गरेको स्वीकार गरिसकेका छन्। यो घटनाको कारण विश्वभर साउदी सरकारको आलोचना भएको थियो। साथै मुलुकको लगानीमा पनि व्यापक कमी आउनसक्ने अनुमान गरिएको थियो। तर, परिणाम अपेक्षा गरिएजस्तो नभए पनि अझै पनि यो प्रश्नले सलमानलाई घेरिरहेको देखिन्छ। 

साउदीको अर्को समस्या यमनका विद्रोही हुथी हो। यो संगठनले बारम्बार साउदी अरेबियामाथि आक्रमण गर्ने गरेको छ। यो संगठन इरान समर्थित संगठन हो। साउदीसँगको इरानको द्वन्द्वात्मक सम्बन्धको कारण पनि हुथीले साउदी अरेबियालाई आफ्नो निशाना बनाउने गरेको छ। केही समयअघि मात्र पनि हुथीले साउदी अरेबियाको सबैभन्दा ठूलो तेल कम्पनी अराम्कोको तेल कुवामा आक्रमण गरेको थियो। यसबाट पनि हुथी साउदी अरेबियाको लागि टाउको दुखाइको विषय बन्न पुगेको हो। 

यस किसिमका आक्रमणले साउदी अरेयिबा मात्र नभई समग्र खाडी क्षेत्रमा समस्या उत्पन्न गर्नसक्ने आशंका देखिएको छ। जसको कारण अमेरिकाले पनि साउदी अरेबियामा आफ्ना सैनिक तैनाथ गर्ने निर्णय गरेको छ।

साउदी अरेबियाको अर्को समस्या आर्थिक विविधीकरणको हो। साउदी अरेबियाले सन् २०३० सम्म आर्थिक क्षेत्रमा उल्लेख्य सुधारको लागि भिजन २०३० कार्यक्रम अघि सारेको छ। युवराजको यो योजनाका लागि पनि साउदीले उल्लेख्य रकम लगानी गरिसकेको छ। यो योजनामा आर्थिक विविधीकरणलाई जोड दिइएको छ। तेलको निर्यातमा निर्भर रहेको अर्थतन्त्रलाई अन्य क्षेत्रमा पनि सबल बनाउने योजना युवराज सलमानको छ।

साउदी अरेबियाको अर्को समस्या पुरातनवादी सोच हो। एकैपटक यसमा सुधार ल्याउने हो भने यसले मुलुकमा अर्को समस्या निम्त्याउनेमा सलमान सतर्क छन्। उनले बिस्तारै महिलाको हकअधिकारको लागि केही नियम अघि सारेका छन्। 

मानवअधिकारको मामिलामा पनि साउदीको अवस्था निकै कमजोर रहेकोमा अब भने त्यसमा पनि सुधारको अपेक्षा छ। साउदीमा पछिल्लो समय महिलालाई स्वतन्त्ररुपमा बाहिर आफ्नो इच्छाअनुसार घुम्ने, कार चलाउने, फिल्म हलमा प्रवेश गर्न पाउने, स्टेडियममा गएर फुटबल हेर्न पाउनेजस्ता नियम ल्याइएको छ। यसबाट त्यहाँका महिलालाई उल्लेख्य मात्रामा राहत मिलेको छ।

यस किसिमको योजना मुलुकको विकास क्षेत्रमा महिलाको सहभागिता बढाउनका लागि पनि महत्वपूर्ण हुने बताइँदै आएको छ।

साउदीको लचिलोपना पछिल्लो समय मुलुकका केही क्षेत्रमा गरिएको पर्यटन क्षेत्रसँग सम्बन्धित निर्णयमा पनि देखिएको छ। साउदीले पहिलोपटक मुलुकमा विदेशी गैर–धार्मिक पर्यटकलाई अनुमति दिने निर्णय गरेको हो। साउदीले मुलुकको स्रोत तथा साधनको उच्चतम प्रयोग गर्दै आर्थिक विकासमा केन्द्रित हुने निर्णय गरेको छ। 

जसअनुसार तेल तथा प्रविधि क्षेत्रको विकासमा उसले आफ्नो ध्यान केन्द्रित गरेको छ। साउदीको तेल कम्पनी अराम्को विश्वभर आफ्नो तेल व्यापार विस्तार गर्ने योजनाको साथमा अगाडि बढेको छ। साथै साउदीले सोफिया नामको रोबोट बनाएको छ। उसले पहिलोपटक उक्त रोबोटलाई नागरिकता पनि दिएको छ। विश्वमै कुनै मुलुकले रोबोटलाई नागरिकता दिएको यो पहिलोपटक हो।

साउदी अरेबियाका पछिल्ला तर महत्वपूर्ण निर्णयमा युवराज एमबीएसको हात छ। उनले केही न केही मात्रामा मुलुकलाई आर्थिक तथा सामाजिक हिसाबमा माथि उठाउने योजनाअनुसार यस्तो योजना अघि सारेका हुन्। यसले साउदीको आगामी बाटोमा साउदी युवराजको कुनै पनि निर्णय निकै महत्वपूर्ण बन्नसक्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ