arrow

सगरमाथा आरोही कल्पना महर्जनद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार

logo
भरत प्रधान
प्रकाशित २०७६ कार्तिक ९ शनिबार
Kalpana-maharjan-sagarmatha.jpg

पोर्चुगल । सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष– २०२० को प्रचारप्रसार गर्नुभएको छ । 

नेपाल भ्रमण वर्ष–२०२० का लागि ललितपुर महानगरपालिकाकी सद्भावनादूत समेत रहनुभएकी महर्जनले अष्ट्रिया, फ्रान्स, स्लोभाकियालगायतका देशमा नेपाल भ्रमणको प्रचारप्रसार गर्नुभएको हो ।    
    
नेपालको राष्ट्रिय झण्डा फहराउँदै नेपालका हिमशृङ्खलालगायत विभिन्न सम्पदाहरुको तस्वीर, पर्यटकीयस्थलको जानकारीमूलक पर्चा, ब्यानर र वृत्तचित्रसहित पत्रकार महर्जनले युरोपमा नेपाल भ्रमणको प्रचार–प्रसार गर्नुभएको हो ।    
    
भ्रमण वर्ष–२०१९ को प्रचारप्रसार, सर्वोच्च शिखर सगरमाथालगायत नेपालका हिमशिखरहरुको प्रचारप्रसार गर्न तथा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले युरोपका विभिन्न मुलुकमा प्रचारमूलक कार्यक्रम सम्पन्न गरिएको पत्रकार महर्जनले जानकारी दिनुभयो । सो अवसरमा विभिन्न मुलुकहरुमा आयोजित कार्यक्रममार्फत विदेशीलाई नेपाल भ्रमणका लागि आह्वान गरिएको उहाँले बताउनुभयो।    
    
प्रचारप्रसारकै क्रममा महर्जनले अष्ट्रियाको मुटकोफ हुटेमा आयोजित ‘नेपाल फेष्ट’ कार्यक्रममा नेपालको पर्यटन वर्ष २०२० को प्रवद्र्धन गर्नुका साथै नेपाली कला, लोक संस्कृति र नेपाली खानासम्बन्धी भिडियो बृत्तचित्रहरु प्रर्दशन गर्नुभएको थियो । यस्तै स्लोभाकियाको राजधानी ब्राटिसलाभामा आयोजित कार्यक्रममा महर्जनले सगरमाथा आरोहणको अनुभव साट्नुका साथै नेपालसम्बन्धी जानकारीमूलक र प्रचारमूलक बृत्तचित्र प्रदर्शनी गर्नुभयो ।  
    
फ्रान्सको कोर्सिका टापुको आजाक्सिओ शहरमा आयोजित सप्ताहव्यापी अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा पर्वतीय पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको पत्रकार महर्जनले जानकारी दिनुभयो । उक्त चलचित्र महोत्सवमा सगरमाथा आरोही महर्जनले नेपाल पर्यटन बोर्ड र ललितपुर महानगरपालिकाद्वारा तयार गरिएको प्रचार सामग्री वितरण गर्दै सहभागी विदेशीहरुलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको थियो ।    
    
फ्रेन्च नागरिक आँन बेनोइट जानिन् र जाँमिसेल आँसलिनको समूहद्वारा निर्मित ‘ले बेले अनभोली’ नामक फ्रेन्च वृत्तचित्रका पात्रसमेत रहनुभएकी महर्जनको उक्त वृत्तचित्रमेत प्रर्दशन गरिएको थियो । उक्त वृत्तचित्रमा महर्जनको सामाजिक परिवेश, सङ्घर्ष, हिमाल आरोहण र महिला भएकै कारण भोग्नुपरेको विभेदलगायतका विषयमा चित्रण गरिएको छ ।    
     
यस्तै फ्रान्सको आल्बर्टभिल्लेमा आयोजना भएको पर्वतीय चलचित्र महोत्सवमा पनि उक्त वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा पनि महर्जनले नेपाली कला, लोक संस्कृति, सभ्यता, नेपालको पर्यटकीयस्थलहरुको जानकारी गराउँदै नेपाल भ्रमण गर्न उपस्थित विदेशीहरुलाई आह्वान गर्नुभयो ।

पत्रकार महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नेपाल र चीनतर्फ गरी दुवै मोहोडाबाट सफल आरोहण गरी कीर्तिमान राख्न सफल हुनुभएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ