arrow

आतंकवाद विरुद्धको लडाईमा भारतसँगै उभियो युरोपियन युनियन

धारा ३७० खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला भएको बताए ईयुका सांसदहरुले

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
eu-deligation-kashmir.jpg

काठमाडौं। भारतको काश्मिर भ्रमणमा रहेका युरोपियन युनियनका सांसदहरुले धारा ३७० खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको बताएका छन्।

मंगलवारदेखि जम्मु काश्मिर भ्रमणमा रहेका युनियनका सांसदहरुले बुधवार पत्रकार सम्मेलन गर्दै आतंकवाद विरोधी विश्वव्यापी अभियानकै हिस्साको रुपमा भारतको पक्षमा उभिने प्रष्ट पारेका छन्। 

जम्मु काश्मिर भ्रमणमा रहेका २३ युनियनका सांसदहरुको तर्फबाट ४ सांसदहरुले मंगलवार आतंकवादीहरुले पश्चिम वंगालका ५ जना मजदुरहरुको काश्मिरमा गरिएको हत्याको समेत भत्सर्ना गरेका छन्।

युरोपियन युनियनका एक सांसद हेन्री मालोसले भने, ' धारा ३७० हटाउने विषय भारतको आन्तरिक मामिला हो। हाम्रो चासो विश्वव्यापी रुपमा फैलिरहेको आतंकवाद विरुद्ध भारतले गरिरहेको लडाईमा उसको साथ दिनु हो।'

हेन्रीले आफूहरुले काश्मिरमा सेना, प्रहरी र यूवा कार्यकर्ताहरुसँग जम्मु काश्मिरमा शान्ति स्थापनाका लागि विचारहरुको आदानप्रदान गरेको बताए। 

बेलायतबाट आएका सांसद न्युटन डनले आफूहरुको भ्रमण आँखा खुलाउने खालको भएको उल्लेख गर्दै धारा ३७० हटाइएपछिको काश्मिरको अवस्थाको प्राथमिक तहमै पुगी वस्तुस्थितको बारेमा गरिएको अध्ययन महत्वपूर्ण भएको बताए। 

सांसद डनले लामो समयको द्वन्द पछि शान्त भएको युरोपलाई प्रतिनिधित्व गर्ने आफूहरुले भारतलाई पनि विश्वकै शान्त मुलुकका रुपमा हेर्न चाहेको बताए। डनले भने, ' भारतले विश्वव्यापी आतंकवादको विरोधमा भारतले लडिरहेको लडाइमा हामी सँगै उभिन जरुरी छ। सोहि ऐक्यवद्धता प्रदर्शन गर्न हामी यहाँ आएका छौ।'

युरोपियन युनियनका सांसदहरुको जम्मु काश्मिर भ्रमण धारा ३७० हटाएपछिको पहिलो उच्चस्तरिय विदेशी प्रतिनिधीमण्डलको भ्रमण हो। 

भ्रमणमै रहेका पोल्याण्डका सांसद रेजार्डले काश्मिर मुद्धामा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले गरेको रिपोर्टिङ एकपक्षिय रहेको बताए। आफ्नो देश गएपछि आफूहरुले त्यहाँका सञ्चारमाध्यमहरुलाई आफूहरुले देखेको कुरा राख्ने रेजार्डले बताए। 

फ्रान्सका सांसद थेरी मारियानीले आफू पटकपटक भारत भ्रमणमा आएको उल्लेख गर्दै यो भ्रमण कुनै अन्तराष्ट्रिय हस्तक्षेपको रुपमा नहेर्न आग्रह गरे। उनले काश्मिरको बारेमा जनस्तरमै पुगेर प्राथमिक जानकारी हासिल गरिएको बताए। 

आफू अफगानिस्तान र सिरियामा पनि पुगेको स्मरण गराउँदै थेरीले आतंकले कसरी ति देश ध्वस्त भएको हेर्न सुझाव दिए। आतंकवाद विरोधी भारतको लडाइमा आफूहरुको साथ र समर्थन रहेको उनले बताए।युरोपियन युनियनका सांसदहरुको टोली जम्मु काश्मिरमा रहँदा केहि आतंकवादी गतिविधी समेत भएको थियो। 

युनियनका सांसदहरुले पाकिस्तानप्रति कडा टिप्पणी गर्दै आतंकवादलाई प्रश्रय दिने देशको रुपमा पाकिस्तान देखिदै गएको बताए। 

युनियनका सांसदहरुले सोमबार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेका थिए। युनियनका सांसदरुहले भारतको धर्मशालामा रहेका तिव्वती धर्मगुरु दलाई लामासँग समेत भेट्ने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ