arrow

हिन्दू धर्म कथावाचकले सन्ततिलाई संस्कृत सिकाउनै पर्ने, धर्म संस्कृति नमान्ने नेतालाई वहिस्कार

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
sanskrit_(1).jpg

काठमाडौँ । नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि ॐ कार परिवारमा आबद्ध सम्पूर्ण धार्मिक संस्थासँग सहकार्य गरिने भएको छ । हिन्दू जागरण नेपालको आयोजनामा यही कात्तिक ८ गते राजधानीमा सम्पन्न एक दिने कथाव्यास सम्मेलनको निष्कर्ष बुधबार सार्वजनिक गर्दै कथावाचकले प्रवचनका क्रममा अनिवार्यरुपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनुपर्नेमा जोड दिइएको छ ।     
     
 सम्मेलनमा सहभागी कथावाचकले आफ्ना सन्ततिलाई अनिवार्य संस्कृत पढाउनुपर्ने, शिखा, सूत्र, गाई, तुलसी, शालिग्राम र देवालयको संरक्षण तथा प्रचारप्रसारका लागि प्रवचनमार्फत प्रेरित गर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिइयो । कथा प्रवचन हुने हरेक ठाउँमा स्थानीय जातका गाई संरक्षण गरी गौशाला बनाउन आह्वान गरिने निर्णय पनि कथाव्यासले गरेका थिए । 

नेपालका विभिन्न भागमा भइरहेको धर्मपरिवर्तनविरुद्ध आवाज उठाइने प्रतिबद्धता पनि पुराण वाचकले गरेको आयोजक संस्थाका अध्यक्ष रामकृष्ण उपाध्यायले बताए । विभिन्न किसिमका प्रलोभनले सनातन धर्म त्यागेकालाई स्वधर्ममा फर्काउन प्रेरणा जगाउन पहल गरिने जनाइएको उनले जानकारी दिए ।
     
 “नेपाललाई लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप संवैधानिकरुपमै हिन्दूराष्ट्र कायम गराउन हरेक कथा प्रवचनमा सर्वसाधारणलाई प्रेरित गर्ने–गराउने घोषणा पनि सम्मेलनले गरेको छ”, अध्यक्ष उपाध्यायले भने । हरेक यज्ञानुष्ठान शास्त्रीय मर्यादाअनुरुप मात्र गर्ने, समयशुद्धि, मुहूर्त आदि निश्चय गरेर मात्र कार्यक्रम आयोजना गर्ने, समयशुद्धि र शास्त्रीय मर्यादा कायम गर्न आवश्यकताअनुसार विज्ञहरुसँग परामर्श गर्ने निर्णय पनि सम्मेलनले गरेको थियो । कुनै विषयमा विवाद आएमा आयोजक संस्थासँग परामर्श लिइने घोषणा पनि सम्मेलनले गरेको सो अवसरमा बताइएको थियो ।     
     
 धर्म संस्कृति नमान्ने, सो अनुसार कर्म नगर्ने, राजनीतिक नेता तथा व्यक्तिलाई आफ्ना कुनै पनि कार्यक्रममा प्रमुख अतिथि नबनाउने र कुनै पनि धार्मिक काम यस्ता व्यक्तित्वको हातबाट उद्घाटन वा शिलान्यास नगर्ने–नगराउने घोषणा गरिएको पनि जानकारी गराइएको थियो । 

हरेक धार्मिक कार्यक्रममा सङ्कलित रकममध्ये रु एक हजार १०० धार्मिक कोषमा जम्मा गरी धर्म संरक्षणमा उपयोग गर्ने, धार्मिक महागठबन्धन बनाउन कथा प्रवचन भएका स्थानमा क्रियाशील कर्मकाण्ड गराउने पुरोहित एवं धर्म र संस्कृतिको सम्वद्र्धनमा सक्रिय संस्था एवं व्यक्तिको समूह बनाउने प्रतिबद्धता पनि कथाव्यासले जनाएको सो अवसरमा बताइएको थियो ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ