arrow

कांग्रेस जोगाउदै, नेकपा भत्काउदै विरासत

logo
काशीराम शर्मा,
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
ncp-nc.jpg

बाँके । प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली कांग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ ।

कोहलपुर–६ मा दलले अहिले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटी निर्माण गरेर चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रम भइरहेका छन् । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलले सबै रणनीति तय गरिरहेका छन् ।

उम्मेदवार सिफारिस भएसँगै निर्वाचन आफ्नो पक्षमा पार्न दल चुनावी अभियानमा सक्रिय भएका छन् । वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउने लयमा छ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै कांग्रेसको विरासत भत्काउने दाउमा छ ।

तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलबीच कडा प्रतिस्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ । गत निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । गत निर्वाचनमा कांग्रेसका उम्मेदवार रामसोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए।

विसं २०७५ मङ्सिर ९ गते उनको निधनपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो । सो वडाबाट तत्कालीन नेकपा एमालेका उम्मेदवार श्रीराम थारुले ३५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २७३ मत प्राप्त गरेका थिए । पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले यसपटकको उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाको दाबी छ ।

अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर वली र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मत ल्याएका थिए। “पार्टी एकीकरणपछि हाम्रो मत करीब २०० को अन्तरले बढेको छ, नयाँ मतदाता पनि धेरै नेकपाकै हुनुहुन्छ”, कोहलपुर नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले भने।

वडा नं ६ मा थारु र मधेशी बाहुल्य गाउँमा सैद्धान्तिक मत कम रहेकाले मतदातालाई आफ्नो पक्षमा पार्ने चुनौती रहेको नगर अध्यक्ष अधिकारीको भनाइ छ । उनले भने, “थारु र मधेशी बाहुल्य गाउँमा सैद्धान्तिक र वैचारिक मत निकै कम छ । यो मत कसको पक्षमा कसरी जान्छ भन्ने थाहा नै हुँदैन । तर हामी हाम्रो पक्षमा पार्छौं ।”

सरकारका लोकप्रिय र जनमुखी कार्यक्रमकै कारण मतदाता नेकपाका पक्षमा रहेकाले जीत सुनिश्चित भएको नगर अध्यक्ष अधिकारीको दाबी छ । “सरकारले ल्याएको विकास र आर्थिक समृद्धिका कारण जनलहर नेकपाको पक्षमा छ । कोहलपुरमा नेकपाकै प्रमुख भएकाले विकासका काम तीव्ररुपमा भएका छन्, यो पनि जीतको आधार हो”, उनले भने ।

नेपाली कांग्रेस कोहलपुर नगरपालिकाका नगर सभापति बलराम शर्माले नेकपा एकीकरणपछि विगतको भन्दा केही चुनौती देखिए पनि कांग्रेसको जीत सुनिश्चित रहेको बताए। उनले भने, “तत्कालीन मधेशी जनाधिकार फोरमका उम्मेदवार हाम्रो पार्टीमा आइसक्नुभएको छ । यसले पनि हाम्रो जित्ने आधार झन् बलियो बनेको छ ।”

तत्कालीन मधेशी जनाधिकार फोरमबाट प्रमुखको उम्मेदवार बनेका फूलाराम थारुले गत निर्वाचनमा वडा नं ६ बाट ११४ मत प्राप्त गर्नुभएको थियो । फूलाराम र रामसोहनले ल्याएको कूल ५३८ मत छ । यो तथ्याङ्कअनुसार नेकपा र कांग्रेसको मतान्तर ८७ देखिन्छ । तर, सो वडामा थारु मत धेरै रहेकाले कांग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ ।

सो वडामा थारु मतदाता एक हजार २६ रहेका छन् भने अन्य समुदायका एक हजार मतदाता छन् । “थारु समुदायबाट बलियो उम्मेदवार छनोट गरेकाले निर्वाचन परिणाम सहजै हाम्रो पक्षमा आउँछ”, नगर सभापति बलरामले दाबी गर्दै भने। तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका श्रीराम थारुका भाइ कृष्ण थारु अहिले कांग्रेसबाट उम्मेदवार बनेका छन्  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ