arrow

भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उपप्रधानमन्त्री यादव र राजदुत पुरीद्वारा उद्घाटन

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
school-darchula-puri-yadav.jpg

दार्चुला। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र नेपालका लागी भारतीय राजदुत मञ्जिव सिंह पुरीले नेपाल र भारत सरकारको सहयोगमा निर्माण गरिएको महेन्द्र नमुना माध्यमिक विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

शुक्रबार महाकाली नगरपालिकाको वडा नम्बर ८ स्थित निर्माण हुने नेपाल भारत जोड्ने मोटरेवल पुलको स्थलगत अवलोकन गर्न हेलीकप्टर मार्फत दार्चुला आइपुगेका उपप्रधानमंत्री यादव र राजदुत पुरीले संयुक्त रुपमा रिबन काटेर विद्यालय भवनको उद्घाटन गरेका हुन्।

जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको शिलान्यास भएको ४ वर्ष पछि विद्यालय भवनको उद्घाटन गरिएको हो । नेपाल र भारत सरकारको ३ करोड ३७ लाख लागत लागेको भवनको निर्माण कार्य २०७४ पौषमा सम्पन्न भएको थियो ।

२०७२ वैशाख ६ गते नेपालका लागि तत्कालिन भारतिय राजदुत रञ्जित रेले भवनको शिलान्यास गरेका थिए । अढाइ वर्षपछि २०७५ फागुन २५ गते निर्माण सम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए ।

विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै नेपालका लागी भारतिय राजदुत मञ्जिव सिंह पुरीले समयमै विद्यालय भवन निर्माण भएको बताए । उनले विद्यालयमा आइसिटी कक्षा संचालनका लागी आवश्यक पर्ने सामग्री सहयोग गर्न तयार रहेको बताए। नेपाल भारत बिच सदियौ पुरानो सम्बन्धको निरन्तरतामा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्रि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाल र भारत सरकारको सयुक्त लगानीमा निर्माण भएको विद्यालय भवन बालबालिकाको भविष्य निर्माण गर्ने अध्ययन केन्द्रको रुपमा विकसित गर्नुपर्ने बताए । 

नेपाल र भारत सरकारको संयुक्त लगानीमा निर्माण गरिएको तीन तले भवनमा १३ कक्षाकोठा र १ हल रहेको विद्यालयका प्रधानाध्यापक जोशीले जानकारी दिए । 

विद्यालयले सुलभ शुल्कमा प्राथमिकदेखि उच्च माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दछ । विद्यालयले खेलकुद, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, शैक्षिक परामर्श, मल्टिमेडिया, छात्रवृत्ति, शैक्षिक भ्रमण, कक्षा कोठा लगायत अन्य विभिन्न सुविधाहरू प्रदान गर्दै आएको छ । विद्यालयमा २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ