arrow

कोहलपुर पेस्तोल प्रकरणका डिएसपी हेमबहादुर शाही अनुसन्धानको दायरामा

दोषी पाइए कार्वाही गर्ने डीआइजी शाहको भनाई

logo
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
tarundal-police1.jpg

बाँके । तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाह सहित ६ जनालाई नियन्त्रणमा लिएका प्रहरी नायव उपरिक्षक (डिएसपी) हेमबहादुर शाही प्रहरी आचरण विपरितका गतिविधीमा संलग्न भएको अडियो भिडियो सार्वजनिक भएपछि उनीमाथि नै अनुसन्धान हुनुपर्ने माग उठेसँगै उनी अनुसन्धानको दायरामा आएका छन्।

प्रहरी आचारण विपरित बडाभोजका लागि खसी बोका माग्ने तथा आफूसँग असहमत पक्षलाई गोली हानेर तिघ्रा छेड्ने धम्की दिने डिएसपीलाई अनुसन्धानको दायरामा ल्याउन तरुण दलले माग गरिसकेको छ। शाहीले आफ्ना कार्यकर्ताहरुलाई फसाउने षडयन्त्र गरेको भन्दै तरुण दलले कोहलपुरमा प्रदर्शन समेत गरेको छ। 

गाडीको सिटमा फल्स बटम बनाई पेस्तोल लुकाएको आरोपमा सन्दिपजंग शाही लगायत पक्राउ परेको भनिए पनि यस घटना तथा घटनाको पृष्ठभुमीमा भएको अन्य प्रकरणमा स्थानिय प्रहरी नेतृत्वको संलग्नतालाई लिएर व्यापक टिकाटिप्पणी शुरु भएको छ। प्रहरी नै आफूसँग असहमत हुनेहरुलाई फसाउन खोजेको आरोप लागिरहँदा यसको छानविन हुनुपर्ने माग बढेको हो। 

प्रदेश नम्वर ५का प्रहरी प्रमुख डीआइजी शुरेस विक्रम शाहले व्यवसायिक रुपमा डीएसपी शाहीको गतिविधीको रेकर्ड ठीक भएपनि उनको बारेमा सञ्चारमाध्यममा प्रश्न उठिसकेका कारण उनीमाथि प्रहरीले अनुसन्धान गर्ने बताए। शाहले भने, 'अनुसन्धानमा डीएसपी शाही दोषी हो भनेर पाइए उसमाथि कार्वाही हुन्छ।'

डीआइजी शाहले यसो भनिरहँदा असोज २८ गते भएको कुरा सन्दिप सहितका व्यक्तिहरु नियन्त्रणमा आएपछि किन बाहिर आयो भन्ने आफूहरुले नजिकबाट नियालिरहेको समेत बताए। प्रहरीलाई वदनाम गराउने किसिमले आएको होकी भन्ने कोणबाट पनि यसलाई हेरिरहेको उनले बताए।

वाहिर सार्वजनिक भएको डीएसपी र अन्य दुई व्यक्तिको दुईवटै संवादको भ्वाइस टेस्ट गर्ने अवस्था आउन सक्ने शाहको भनाइ छ। सार्वजनिक भएको भिडियोमा समेत प्रहरी संलग्नताको आशंका उठिरहेको बेला त्यसलाई पनि आफूहरुले गम्भिरतापूर्वक हेर्ने शाहले बताए। 

प्रहरीको आचरण र व्यवहारको विषयमा सार्वजनिक तथ्यहरुले प्रहरीको गरिमामा असर हुनसक्ने ठानेर प्रहरी प्रधान कार्यालयले प्रहरीको प्रदेश प्रमुखलाई निर्देशन दिएको बताइएको छ। आचरण विपरितको गतिविधीमा संलग्न भएको देखिएमा अनुसन्धान गर्न प्रहरी प्रमुख सर्वेन्द्र खनालले समेत निर्देशन दिइएको प्रहरी स्रोत बताउँछ। 

तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग दशैको बडाभोज गर्न नायब उपरिक्षक शाहीले खसी मागेको, तरुण दल नेपालगञ्जका नगर सभापति शाहलाई फोन गरेर आफ्नो नजरमा परेको भन्दै धम्क्याएका थिए। नायब उपरिक्षक शाहीले आफ्नो सरुवा गर्न लागिपरेको भन्दै उनलाई फोनमा धम्क्याएका थिए।

प्रहरीले नमस्ते रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८ च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्स बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको दाबी गरेको थियो ।

प्रहरीले लोड भएको पेस्तोल सहित पक्राउ परेको भनिए पनि भिडियोमा प्रहरी नायब उपरिक्षक शाहीले आफै गोली लोड गरिरहेको देख्न सकिन्छ । उक्त भिडियोमा शाहीले अर्का प्रहरीलाई अपशब्द बोलेको पनि सुन्न सकिन्छ। प्रहरीले दाबी गरेको भन्दा बिल्कुल फरक देखिएको भिडियो र यस्को पृष्ठभुमीको अडियोमा प्रहरी नायब उपरिक्षक शाहीले आचरण बिपरित गएर लाभ खोजेको कुरा नपाए पछिको रिसमा फसाउँन खोजेको तरुण दलले आरोप लगाएको छ।

व्यक्तिगत रिसिबी साँध्न प्रहरी नायब उपरिक्षकले तरुण दलका नेतालाई फसाएको तरुण दलको ठहर छ। प्रहरीमाथि नै औंला उठाउँदै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नागरिकलाई फसाउँने षडयन्त्र गर्ने शाहीसहितका प्रहरी अधिकारीहरुमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।

कोहलपुरको पेस्तोल प्रकरणमा प्रहरीमाथि नै गंभिर आशंका



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ