arrow

समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा सरकार छाड्ने एजेण्डा

समाजवादी पार्टीको वैठकको चासो राजपालाई बढी

logo
राजु रिमाल,
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं। कात्तिक २८ देखि ३० गतेसम्म बस्ने समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा सरकार छाड्ने विषयमा गम्भिर छलफल हुने भएको छ। सरकार छाड्ने-नछाड्ने विषयलाई केन्द्रीय समितिको बैठकमा प्रमुख एजेण्डा बनाइएको छ। 

यसबारेमा पार्टीका केन्द्रीय सदस्यहरुलाई जानकारी पनि गराइएको छ। उक्त बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने सम्भावना रहेको पार्टीका नेताहरु बताउछन्। समाजवादी पार्टीको सो बैठकलाई समाजवादी पार्टी भन्दा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले ठूलो चासोका साथ हेरेका छन्।

समाजवादी पार्टी र राजपाबीच भएको पार्टी एकीकरण प्रक्रिया कात्तिक मसान्तसम्मकोलागि स्थगित गरिएको छ। कात्तिक मसान्त पछि एकीकरण प्रक्रिया अघि बढ्ने-नबढ्ने २८ देखि ३० सम्म बस्ने समाजवादी पार्टीले गर्ने निर्णयमा भर पर्छ। त्यसैले समाजवादी पार्टीको उक्त बैठकलाई राजपाका नेताहरुले पनि चासोका साथ हेरेका हुन्। 

स्रोतका अनुसार, राजपाका नेताहरुले प्रष्टसँग भनेका छन, समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्‍यो भने समाजवादी पार्टी र राजपावीच एकीकरण प्रक्रिया अघि बढ्छ। नभए स्थगित हुन्छ। राजपाका महासचिव केशव झाले भने, ‘समाजवादी पार्टीका नेताहरुले कात्तिक मसान्तमा बस्ने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने छ भनेर हामीलाई आश्वासन दिनुभएको छ। त्यसैले हामीले उक्त निर्णय पर्खेर बसेका छौ।’ 

समाजवादी पार्टीले सरकार छाड्ने निर्णय नगरेमा समाजवादी पार्टीसँगको एकीकरण प्रक्रिया अघि नबढ्ने झाले प्रष्ट पारे। उनले भने, ‘यसमा हामी प्रष्ट्र छौ। समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्‍यो भने एकीकरण प्रक्रिया अघि बढ्छ। नभए स्थगित हुन्छ।’ समाजवादी पार्टीका उपाध्यक्ष रेणू यादवले कात्तिक मसान्तमा बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा सरकारमा बस्ने या नबस्ने विषयमा पनि छलफल हुने बताइन।  

यता, पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न चर्को दबाब परेको छ। राजपाले  सरकार छाड्ने निर्णय नगरेसम्म समाजवादी पार्टीसँग एकीकरण प्रक्रिया नै अघि नबढ्ने शर्त राखे पछि यादवलाई दबाब परेको हो। पार्टीभित्रै पनि कार्यकर्ता पंक्तिबाट सरकार छाड्न पार्टी नेतृत्वलाई दबाब परेको छ।

समाजवादी पार्टी र राजपावीच पार्टी एकीकरण प्रक्रिया विगत केही समयदेखि देखि सुरु भएको छ। अहिले यो प्रक्रिया अड्किएको छ। राजपाका नेताहरुले कात्तिक मसान्त पछि मात्र समाजवादी पार्टीसँग औपचारिक-अनौपचारिक वार्ता हुने बताएका छन्।

स्रोतका अनुसार राष्ट्रिय परिषदका अध्यक्ष बाबुराम भट्टराइ तत्काल पार्टी सरकारबाट बाहिरिएर राजपासँग पार्टी एकीकरण प्रक्रियालाई अघि बढाउनु पर्छ भन्ने लाइनमा छन्। यादव भने सरकारबाट तत्काल बाहिरिने लाइनमा त्यती सकारात्मक नभएको पार्टीका एक पदाधिकारी भन्छन, ती नेता भन्छन, ‘तर पनि यादव पार्टीभित्रै यती ठूलो दबाबमा पर्नु भएको छ ताकि यादवको भित्री मन नभए पनि पार्टीले सरकार छाड्ने निर्णय गर्ने सम्भावना बलियो छ।’ समाजवादी सरकारमा सहभागी भएको करिब १८ महिना पूरा भएको छ। यो विचमा दुई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पाटीवीच सम्बन्ध विग्रन थालेको छ।

समाजवादी पार्टीका नेताहरू १८ महिनासम्म पनि संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा सरकारको नेतृत्व गरेको नेकपासँग आक्रोशित भएका छन्। सरकारसँग दुई बुँदे सहमति गरी २०७५ जेठ २२मा समाजवादी पार्टी (तत्कालिन संघीय समाजवादी फोरम नेपाल) सरकारमा गएको थियो। दुइ बुँदे सहमतिको पहिलो बुँदामा सरकारले संविधान संशोधनको काम अघि बढाउने र दोश्रो बुँदामा तत्कालिन संघीय समाजवादी पार्टी सरकारमा सहभागी हुने सहमति गरिएको थियो।

तत्कालिन संघीय फोरम सरकारमै भएको बेला संघीय फोरम र तत्कालिन नयाँ शक्ति पार्टीवीच एकीकरण भई समाजवादी पार्टी निर्माण भएको छ। तत्कालिन संघीय फोरमसँग पार्टी एकीकरण गर्नु अघि तत्कालिन नयाँ शक्ति प्रतिपक्षमा थियो। तर तत्कालिन संघीय फोरमसँग एकीकरण गरे पछि बाबुराम भट्टराइ पनि सत्तापक्षीय भएका हुन्। 

तत्कालिन नयाँ शक्ति पार्टी नेताहरू भने दुई पार्टी एकीकरण हुनु अघि एकीकरण पछि एकीकृत पार्टीले सरकार छाड्ने सहमति भएको बताउछन्। उक्त सहमति अनुसार समाजवादी पार्टी सरकार बाहिरिनु पर्ने तत्कालिन नयाँ शक्ति पार्टीका नेताहरू वताउछन्।

सरकारको कार्याशैली तथा सरकारले गरेको कतिपय नियुक्तको बारेमा पनि समाजवादी पार्टीका नेताहरु सरकारसँग असन्तुष्ट छन्। संविधान संशोधनको एजेण्डामा माग पूरा गर्न समाजवादी पार्टीले यसअघि पनि पटक पटक सरकारको ध्यानाकर्षण गराएको छ। तर संविधान संशोधन गर्ने एजेण्डामा सरकारले कुनै चासो देखाएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ