arrow

छिमेकीको एक विघा जग्गा बहिनीको नाममा

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
pidit_dampati_(2).JPG

काठमाडौं । चितवन खैरेनी नगरपालिका वडा नम्बर १३ का स्थायी वासिन्दा कुष्ठरोगी दम्पत्ति शिव बहादुर सापकोटा र सबिना माझी सापकोटाले आफूहरुको एक बिघा जग्गा जालसाँझी गरेर छिमेकीले नै आफ्नो नाममा पारेको भन्दै न्यायको याचना गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सापकोटा दम्पत्तिले यस्तो याचना गरेका हुन् । छिमेकीसमेत रहेका गणेशकुमार श्रेष्ठले उनीहरुको जग्गा जालसाँझी गरेर आफ्नी बहिनीको नाममा (फिल्डबुक) मा दर्ता गराएको सापकोटा दम्पत्तिको आरोप छ ।

उनीहरुका अनुसार श्रेष्ठले आफ्नी बहिनी तिलमाया श्रेष्ठको नाममा सापकोटा दम्पत्तिको जग्गा फिल्डबुकमा दर्ता गराएका थिए । आफूहरु घरमा नभएको मौका छोपेर श्रेष्ठले जालसाँझी गरेको भन्दै न्याय माग्न स्थानीय निकायमा धाउँदासमेत जनप्रतिनिधिहरुले कुनै सुनुवाई नगरेको पीडित शिव बहादुर सापकोटाको गुनासो छ ।

उनले भने,‘हामी घरमा कोहीपनि नभएको मौका छोपेर गणेश श्रेष्ठले यस्तो गलत काम गर्यो । उसले २०६३ सालमै यस्तो गलत काम गरेको रहेछ, तर हामीले २०७४ सालमा मात्रै थाहा पायौं । थाहा पाउनेबित्तिकै हामी सम्बन्धित निकायमा पुगेर यस्तो गलत काम गरिएको रहेछ भनेर जानकारी गराएका थियौं । तर, वडाअध्यक्षले कुनै सुनुवाई नै गर्नुभएन् । उल्टै हामीलाई हप्की र दप्की गर्नुभयो ।’

बैशाखी टेकेर पत्रकार सम्मेलनमा उपस्थित् भएका सापकोटाले रुँदै भने,‘दोषीलाई कारबाही गर्नुपर्छ । दिनदाहाडै यस्तो गलत र गैरकानूनी काम गर्नेलाई कुनैपनि हालतमा छुट दिनुहुँदैन् । फिल्डबुकमा तिलमायाको नाम हटाएर मेरो परिवारको नाम राख्नुपर्छ ।’

एक बिघा ९ कठ्ठा जग्गा रहेकोमा अहिले ९ कठ्ठाको मात्रै जग्गाधनी पुर्जा आफूसँग रहेको उनले सुनाए । ‘एक बिघा जग्गा चाहीँ श्रेष्ठले जालसाँझी गरेर विवाह गरेर दिएकी बहिनी तिलमायाको नाममा फिल्डबुकमा चढाएको छ ।’–उनले भने ।

आफू बाल्यकालदेखि कुष्ठरोगी भएकोले अस्पताल धाउनुपर्ने बाध्यता रहेको सापकोटाको भनाई छ । ‘म त विरामी हुँ, त्यही भएर धेरैजसो समय घर बाहिर भएँ । श्रेष्ठले त्यसरी एक बिघा जग्गा बहिनीको नाममा फिल्डबुकमा चढाउँदा हामी ललितपुरको टिकाभैरवमा रहेको कुष्ठरोग अस्पतालमा थियौं ।’–सापकोटाले सुनाए ।

सापकोटा दम्पत्ति बैशाखी टेकेर भएपनि आफूहरुको जग्गा अर्को व्यक्तिले जालसाँझी गरेर खान खोजेकोले न्याय माग्न निवेदन बोकेर वडा कार्यालय धेरैपटक धाए । तर, जग्गाको पूर्जा निकाल्न अनुरोध गर्दा न्याय दिनुको साटो वडाअध्यक्ष बालकुमार उप्रेतीले धम्की दिने गरेको उनीहरुको गुनासो छ ।

उनले भने,‘वडाअध्यक्ष उप्रेती जालसाँझी गर्ने श्रेष्ठसँग मिलेका छन् । मेरो जग्गा यसरी मिलेमतोमा खान खोजियो । वडाअध्यक्षले त तँ बढी न हो, तेरो गालामा पड्काईदिन्छु भनेर धम्क्याउँने काम गरे  ।’ उनीहरु वडाले न्याय नदिएपछि खैरेनी नगरपालिका पुगेर मेयर लालमणि चौधरीलाई भेटे । मेयरसँग अनुनय–विनय गर्दापनि उनले पनि न्यायको लागि कुनै ठोस कदम नचालेको र उल्टै वडा कार्यालयमा पठाएको सापकोटा दम्पत्तिको गुनासो छ ।

उनले भने,‘न्यायको लागि मेयरले पनि राम्रो पहल गर्नुभएन । उहाँले खासै वास्ता गर्नुभएन । हामी न्याय खोज्दै मिडियासामू काठमाडौं आएका हौं । तपाईहरुले न्याय दिलाउनको लागि पहल गरिदिनुहोस् ।’ दशैंलगत्तै आफूहरुले असुरक्षित महशुस गरेर घर छोडेको पनि उनीहरुले जनाए । हाल उनीहरु पर्सा वीरगन्जमा रहेको दिदी–भिनाजुको घरमा आश्रय लिएर बसेका छन् ।

सापकोटा दम्पत्तिको एक सन्तान छन् । उनीहरुको छोरा गणेश सापकोटा हाल काठमाडौं फर्पिङमा कुष्ठरोग निवारणले सञ्चालन गरेको स्कुलमा अध्ययनरत छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ