arrow

दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
cow-cry.jpg

झापा प्रहरीले मंगलबार बिहान सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ । दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको छ ।

उन्पचास थान गोरु भारत तस्करी हुन लागेको थाहा पाएपछि प्रहरीले कनकाईको तुलसीबारीबाट पक्राउ गरेको हो । विर्तामोड प्रहरीको नेतृत्वमा बिहान ४ बजे दुवै ट्रक पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिएका छन् । प्रहरीले ना.५ख ५९४६ र ना.६ ख ३८४१ नम्बरको ट्रक पक्राउ गरेको हो ।

  लामो समयदेखि प्रहरीलाई छलेर सुरुङ्गा हुँदै झापा गाउँपालिकाबाट पशुचौपाय तस्करी हुँदै आएको थियो । झापा गापाका स्थानीय युवाले तस्करी हुन लागेको थाहा पाएपछि जिल्ला प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले विर्तामोड प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिएको बताइएको छ ।

प्रहरीका अनुसार नवलपरासीबाट प्रमोद यादवले पठाएको चौपाय कनकाई नगरपालिका–३ का रमेश खरेलले आयात गरेको हो । प्रहरीले केही महिनायता झापा रुटको निगरानी बढाएको थियो । खरेललाई कामाटोलीका दिलीप विश्वकर्माले साथ दिँदै आएका थिए।

  झापा गाउँपालिकास्थित कामाटोलीमा चौपाय राख्ने केन्द्र(मण्डी) स्थापना गरेर भारतमा निकासी हुँदै आएको छ । झापा गाउँपालिकाले पशु बजारका लागि ठेक्का दिएपछि तस्करीका लागि सोही बजारलाई प्रयोग गर्दै आएको बताइएको छ । केही महिनाअघि भारतीय तस्करले नेपाली व्यापारीलाई कुटपिटसमेत गरेको घटना बाहिर आएको थियो । दैनिक चार÷पाँच ट्रक पशुचौपाय तस्करीका लागि झापा गाउँपालिकाको बाटो प्रयोग हुन थालेको छ ।

  झापा प्रहरीले तस्करी नियन्त्रणका लागि कडाइ गरेपछि ठूलो परिमाणमा आज चौपाय नियन्त्रणमा लिएको हो । झापाका प्रहरी उपरीक्षक मैनालीले चौपायको तस्करी शून्यमा झार्ने रणनीति रहेको बताएका छन्। मुख्य राजमार्गबाट दक्षिणतर्फ एउटा पनि चौपाय लैजान नदिने प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ