arrow

कास्की २ मा तीन महिलाको भिडन्त

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
Kaski_District.png

चिप्लेढुङ्गा । देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा आजसम्म तीन महिलाको उम्मेदवारी रहेको छ । हालसम्म नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । जसमा नेकपा (नेकपा) ले विद्या भट्टराई उम्मेदवारको घोषणा गरेको छ ।     
     
भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै राजनीतिमा सक्रिय हुँदै आएकी छिन् । २०४७ सालमा अखिल नेपाल महिला सङ्घ जिल्ला समिति काठमाडौँको कोषाध्यक्षमा निर्वाचित उनी २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघारौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद्मा निर्वाचित भएकी थिइन् । 
     
त्यसयता निरन्तर राजनीतिमा सक्रिया उनी २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बनिन् । २०५६ मा अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषद्को सदस्य बन्न सफल भइन् । २०५६ साल असार २६ गते उनले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसँग विवाह गरिन् । 

त्यसयता सक्रिय राजनीतिबाट केही विश्राम लिएर प्राध्यापन पेशामा सक्रिय उनलाई नेकपा जिल्ला कमिटीले विगतको सक्रिय राजनीति पाटो र क्षमतावान् बौद्धिक र तार्किक क्षमता मूल्याङ्कन गर्दै कास्की क्षेत्र नं २ बाट उम्मेदवार बनाएको जिल्ला कमिटीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।     
     
त्यसैगरी साझा पार्टीले काङ्ग्रेस परित्याग गरी साझा प्रवेश गरेकी रजनी केसी पनि लामो समय नेपाली काङ्ग्रेस पार्टीमा सक्रिय महिला नेत्री हुन् । सामाजिक अभियन्तासमेत रहेकी रजनी केसी सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगाएतको नेतृत्व सम्हाल्नुका साथै पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजनीमा दिएर राजनीतिमा सक्रियता बढाउँदै उम्मेदवार बनेकी हुन् । केही समयअघि मात्रै साझा पार्टी प्रवेशसँगै केन्द्रीय सदस्य बनेकी केसीलाई यही कात्तिक ६ गते पार्टीको नेतृत्वले प्रतिनिधिसभा सदस्यका रुपमा केसीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो ।     
     
विवेकशील नेपाली दल पार्टीले अधिकारकर्मी जमुना शर्मालाई आफ्नो पार्टी उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । शर्मा लामो समयदेखि मनोसामाजिक परामर्शदाता रुपमा कार्यरत हुनाका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा समेत आबद्ध रहेकी छिन् । 

कास्कीमा हालसम्म पाँच दलले उम्मेदवार सार्वजनिक गरेका छन् । समाजवादी पार्टीले धनराज गुरुङ र राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ ।     
     
यद्यपि मंगलबारसम्म पनि नेपाली काङ्ग्रेसले जिल्लाबाट १६ जनालाई सिफारिस गरे पनि आजसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । तत्कालीन पर्यटनमन्त्रीको गृह जिल्ला रहेको यस क्षेत्रलाई सबैले चासोपूर्वक नियाँलिरहेका छन् ।     
     
निर्वाचन आयोगका उपन्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीका अनुसार हालसम्म निर्वाचन आयोगमा १२८ दल दर्ता छन् । त्यसमा प्रतिनिधिसभा र प्रदेशसभामा भाग लिने दल ९५ र स्थानीय तहमा मात्र भाग लिने दल ७८ रहेका छन् । 

प्रतिनिधि, प्रदेश र स्थानीय गरी तीनै तहमा भाग लिन पाउने ९२ दल रहेको उनले जानकारी दिइन् । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा ९२ दलले सहभागी रहेको उनको भनाइ छ । यस वर्ष मात्रै निर्वाचन आयोगमा १६ दल दर्ता भएका छन् । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेको र ३२ स्थल ८२ केन्द्र रहेको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ