arrow

‘सभापतिले डिसिजन गर्नु हुन्छ, हामी निस्कियौं’ : महामन्त्री कोइराला

कांग्रेसमा उम्मेदवार विवाद, पदाधिकारी बैठकबाट बहिरिए पौडेल र सिटौला

logo
सुजिता बडाल,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
Sashanka-koirala.jpg.jpeg

काठमाडौं। उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरुबीच विवाद भएको छ। विवाद पछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवा निवासमा भएको बैठक बाट बाहिरिएका छन्। 

बैठकमा उम्मेदवार बारे कांग्रेसको संस्थापन र इतर दुबै समूहले आआफ्नो पक्षमा दाबी छाडेका छैनन्। तर कास्की २ बाट प्रतिनिधि सभा सदस्यका लागि चर्चामा रहेका नेता धनराज गुरुङ भने पछि हटेका छन्। 

महामन्त्री कोइरालाले सभापतिलाई केही सुझाव दिएर आफूहरु बैठकबाट बाहिरिएको र उम्मेदवार बारे सभापतिले नै निर्णय गर्ने बताए। ‘सभापति जीलाई सुझाव दिएका छौं, उहाँले डिसिजन गर्नु हुन्छ, हामी बैठकबाट निस्कियौं,’ महामन्त्री कोइरालाले हाम्राकुरासँग भने। 

उपनिर्वाचनमा कास्की प्रतिनिधिसभा क्षेत्र २ का लागि १६ जना आकांक्षीको नाम केन्द्रमा आएको थियो। अब ति नाम मध्ये देवराज चालिसे र खेमराज पौडेल मध्ये एकको सम्भावना छ।

प्रदेशसभातर्फ भक्तपुर १ ‘क’, दाङ ३ ‘ख’ तथा बाग्लुङ २ ‘ख’ मा कसलाई उम्मेदवार बनाउने भन्नेमा नेताहरुबीच सहमती जुटेको छैन। 

प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने कास्कि क्षेत्र नम्बर २ का लागि देउवाले नै गुरुङलाई प्रस्ताव गरेका हुन। यस्तै प्रदेशसभातर्फ भक्तपुर १ ‘क’ मा सिटौलाले आफ्नो समूहबाट उम्मेदवार बनाउन माग गर्दै आएका छन्। त्यहाँ देउवा समूह पनि उम्मेदवार आफ्नै पोल्टामा पार्ने दाउमा छ। 

दाङ ३ ‘ख’ तथा बाग्लुङ २ ‘ख’मा समेत देउवा, पौडेल र सिटौलाबीच कुरा मिल्न सकेको छैन्। यस बाहेक गाउँपलिका तर्फ र अन्य रिक्त वडाध्यक्षम कसलाई उम्मेदवार बनाउने भन्नेमा भने कांग्रेसमा छलफल नै भएको छैन। 

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी कुल ५२ रिक्त पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँनेछ। 

निर्वाचन आयोगले बिहिबारका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका ल्याइसकेको छ। यसअघि उम्मेदवार टुंगो लगाउन भन्दै हिजो मंगलबार बिहान देखि बसेको पदाधिकारी बैठकमा उम्मेदवारका बारे शीर्ष नेताहरुबीच कुरा मिल्न नसक्दा १० घण्टासम्म बसेको बैठक निश्कर्ष बिहिन भएको थियो।

गत शुक्रबार समेत उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रिय समितिको बैठक बोलाइएको भएपनि शीर्ष तहमा कुरा नमिल्दा पदाधिकारीलाई नै सो बारे निर्णय गर्न अधिकार दिइएको थियो।

उम्मेदवार चयन गर्ने विषयमा विवाद बढ्दै गएपछि पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई समेत राख्ने गरी केन्द्रिय समितिबाट निर्णय भएको थियो। 

त्यसको पर्सिपल्ट अर्थात आइतबार पुनः सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बोलाइएको थियो। आइतबारका लागि बोलाइएको बैठक भने बस्दै नबसी सारिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ