arrow

भू–राजनीतिमा घट्दो अमेरिकाको शाख... 

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
America-2014.png.png

काठमाडौं। पछिल्लो समय भू–राजनीतिमा विभिन्न किसिमको उतारचढाव आइरहेको छ। प्रत्येक दिन केही न केही नयाँ घटना देख्न पाइन्छ। तर, प्रत्येक सुनिने यस किसिमका घटनाले भू–राजनीतिमा अमेरिकाको पकड बिस्तारै कमजोर बन्दै गएको स्पष्ट देख्न सकिन्छ। अमेरिकाले पछिल्लो समय चालेका कदमहरुको कारण चीन र रुसले विश्वभर आफ्नो प्रभाव विस्तार गर्न थालेका छन्। उनीहरुले अमेरिकामा सन् २०२० मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनसम्मको समयलाई उनीहरुलाई आफ्नो प्रभाव विस्तार गर्ने मौकाको रुपमा लिएका छन्।

अहिले सिरियादेखि युक्रेनसम्म होस् वा अफगानिस्तानदेखि अफ्रिकासम्मको मामिलामा होस्। अमेरिकाको प्रभाव निकै कमजोर बनिसकेको छ। अमेरिकाको विश्वसनीयताका साथै उसको नेतृत्वप्रतिको विश्वास कमजोर बनिसकेको छ। साथै, यी क्षेत्रमा प्रजातन्त्रविरोधी कार्यले पनि प्रश्रय पाउन थालेको छ। दोस्रो विश्वयुद्धपछि यी क्षेत्रमा अमेरिकाको राम्रो प्रभाव रहँदै आएको थियो। अमेरिकी डोनाल्ड ट्रम्पले अघि सारेको नीतिको कारण उक्त क्षेत्रमा अमेरिकाको प्रभाव कमजोर बन्न पुगेको हो। 

पछिल्लो समय मात्र सिरियाबाट अमेरिकाले सेना फिर्ता गर्ने र सिरियामा रहेका कुर्दिससँगको सहकार्य तोड्ने निर्णय गरेको छ। अमेरिकाले यो निर्णय सिरियामा रुस, टर्की, इरान र सिरिया सरकारको बढ्दो प्रभावको कारण लिएको हो। अहिले  मध्यपूर्वको तीव्र गतिमा आफ्नो प्रभाव बढाउने मुलुकमा रुस देखिएको छ।

यसै सिलसिलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग छ घण्टा लामो छलफल गरेका थिए। नेटोको सदस्य रहेको टर्कीले केही समयअघि मात्र रुसबाट मिसाइल सुरक्षा प्रणाली एस–४०० खरीद गर्ने निर्णय गरेको थियो। यससँगै टर्की रुसबाट मिसाइल सुरक्षा प्रणाली किन्ने पहिलो नेटोको सदस्य बनेको छ। यसले पनि अमेरिकाको प्रभाव मध्यपूर्वबाट कमजोर बन्दै गएको देखाएको छ। अहिले टर्की र रुसले मिलेर सिरियाको उत्तरपूर्वी क्षेत्रमा आफ्नो स्वार्थअनुसार आक्रमण गरिरहेका छन्। 

त्यसका साथै पछिल्लो समय ट्रम्पको नीतिबाट रुष्ट बनेको मुलुक फ्रान्स पनि हो। फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले पनि नेटो र अमेरिकाप्रति असन्तुष्टि जनाउँदै आएका छन्। म्याक्रोँले पछिल्लो समय सिरियामा अमेरिका र नेटोका सदस्यले गरेको कारबाही गम्भीर भूल भएको प्रतिक्रिया दिँदै आएका छन्। यसले आगामी दिनमा आफूहरुको सहयोगी मुलुक खोज्न पनि समस्या हुने उनको भनाइ छ। पछिल्लो समय नेटोप्रति विश्वभर विभिन्न किसिमको प्रश्न उठिरहेको उनले बताए। पहिलो पटक पुटिने अफ्रिकाको सम्मेलनमा सहभागी हुँदैछन्। यसले अमेरिकाको भू–राजनीतिक प्रभावका लागि अर्को धक्का हो।

अफ्रिकामा हुने यो सम्मेलनमा उनले ४० अफ्रिकी मुलुकलाई बोलाएका छन्। उनले अफ्रिकासँगको सुरक्षा सम्झौतालाई आफ्नो प्राथमिकता दिएका छन्। साथै अफ्रिकासँग व्यापारिक सम्झौतामा रुसको ध्यान केन्द्रित देखिएको छ। व्यापार सम्झौतामा ऊर्जा र खानीका क्षेत्र प्राथमिकतामा परेका छन्।

केही समयअघि पुटिनले साउदी अरेबियाको भ्रमण गरेका थिए। १२ वर्षमा उनले पहिलोपटक साउदीको भ्रमण गरेका हुन्। साउदीको तेल खानीमा भएको आक्रमणमा अमेरिकाको सामान्य प्रतिक्रिया र ससद्को अवरोध तथा पत्रकार जमाल खाशोग्जीको हत्याबारे भइरहेको साउदी राजकुमार मोहम्मद बिन सलमानको आलोचना भइरहेको छ। यसले पनि साउदी अरेयिबा रुसको लागि खुला बनेको हो। रुस अहिले यो अवसरको फाइदा उठाउने क्रममा देखिएको हो। 

सन् २०१४ यता रुस र साउदी द्विपक्षीय सम्बन्ध विस्तारको हिसाबमा अघि बढिरहेका छन्। उनीहरुले तेलको मूल्यलाई सन्तुलनमा राख्नका लागि पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (आपेक) सँग सहकार्य गरेर काम गरिरहेका छन्। गत जनवरीयता उल्लेख्यमात्रामा उनीहरुले तेल उत्पादनमा कटौती गर्दै आएका छन्। पुटिनको पछिल्लो भ्रमणमा केही नयाँ सम्झौता पनि भएका छन्। उनीहरुको बीचमा ओपेकसँग रुसको दीर्घकालीन सम्झौताको विषयमा छलफल भएको छ। 

जर्जटाउन यूनिभर्सिटीका एन्जेला स्टेन्ट अहिले पुटिन आफ्नो प्रभाव विश्वभर बढाउने पक्षमा रहेको बताउँछन्। उनी रुसी मामिलामा अमेरिकाका अग्रणी विश्लेषक हो। तीन साताअघि स्टेन्ट रुसको सोची सहरमा भएको एक सम्मेलनमा भाग लिन पुगेका थिए। सो कार्यक्रममा एक स्पष्ट सन्देशको रुपमा पश्चिमा मुलुकको शक्ति क्षीण भइरहेको पाइएको छ। जसमा नयाँ शक्तिराष्ट्रको रुपमा चीन, रुस र भारत देखिएका छन्।

पुटिनले ट्रम्पको उत्तर कोरियासँगको वार्ता गर्ने निर्णयको प्रशंसा गर्दै आएका छन्। उनले यो निर्णय ट्रम्पको स्तरीय सोचाइ भने नरहेको बताएका छन्। उनलाई अमेरिकासँगको सम्बन्धको विषयमा सोध्दा उनले अझै पनि अमेरिकासँग मिलेर काम गर्न आफू तयार रहेको बताएका थिए। अहिले ट्रम्पमाथि चलिरहेको महाभियोगबारे पनि आगामी सरकारसँग पनि रुसले मिलेर काम गर्ने बताएका थिए।

रुसका साथै चीन पनि आफ्नो प्रभाव विस्तारको दिशामा अघि बढिरहेको छ। उसले आफ्नो विश्वभर प्रभाव विस्तारका लागि विभिन्न किसिमका कार्यक्रम अघि सारेको छ। विश्वभर प्रभाव विस्तारको लागि चीनको बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) को कार्यक्रमलाई निकै महत्वपूर्ण मानिएको छ। यो कार्यक्रमअन्तर्गत चीनले विश्वको इतिहासकै सबैभन्दा ठूलो संरचना निर्माण गरिरहेको छ। यसले चीनलाई यूरोप र एसियाका साथै अफ्रिकासम्म जोड्न सहयोग पुग्नेछ। 

कूटनीतिक हिसाबमा पनि चीनको भूमिका महत्वपूर्ण बन्दै गएको छ। केही समयअघि मात्र अफगानी अधिकारीले दिएको जानकारी अनुसार चीनले अफगानिस्तानको विपक्षीसँग वार्ता आह्वान गरिरहेको बताएका थिए। यसअघि अमेरिकाले तालिवानसँग गरेको वार्ताको प्रयास अस्वीकृत भएको थियो। यस मानेमा अफगानिस्तानको मामिलामा चीनले अमेरिकालाई विस्थापित गर्नसक्ने देखिएको छ। 

त्यसका साथै चीन र रुसले बनाएका प्रणालीले उनीहरुलाई पनि नोक्सानी भने पुर्‍याइरहेका छन्। समयअनुसार त्यसको धेरथोर प्रभाव भने देखिने नै छ। चीनले पनि अहिले विभिन्न किसिमको समस्याको सामना गरिरहेको छ। सुस्ताउँदो आर्थिक वृद्धि हङकङको मुद्दा र संचनात्मक प्रणालीले आगामी दिनमा चीनलाई आफ्नो प्रभाव विस्तारको लागि पनि समस्या उत्पन्न हुन सक्छ।

रुसको संरचनात्मक समस्या चीनको भन्दा पनि गहिरो छ। अहिले कसैले पनि रुस कुन अवस्थामा पुग्ने हो भन्ने विषयमा भविष्यवाणी गर्न सकेका छैनन्। अहिलेको अवस्था भू–राजनैतिक हलचल बुझ्नुपर्ने अवस्था हो। यसले विश्वभरको आन्तरिक राजनीतिमा पनि ठूलो प्रभाव पार्नसक्ने देखिन्छ। साथै यो विश्वको लागि ठूलो चुनौती बन्न सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ