arrow

कांग्रेसले टुंगायो उम्मेदवार, कास्कि-२ मा खेमराजले पाए टिकट

logo
सुजिता बडाल,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
congress-flag.JPG

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा तर्फ उपनिर्वाचन हुने एउटै मात्र निर्वाचन क्षेत्र कास्कि-२ का लागि स्थानीय नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लामो सकसकाबीच एक साता लामो बैठकपछि उपनिर्वाचनका लागि कास्की, बाग्लुङ, दाङ र भक्तपुरमा उठाइने उम्मेदवारबारे कांग्रेसले निर्णय लिएको हो। 

कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने पदाधिकारी बैठकले नै सबै नेताको सहमतीमा कास्कि-२ बाट प्रतिनिधि सभा सदस्यका लागि स्थानीय नेता खेमराज पौडेललाई उम्मेदवार बनाउँने निर्णय गरेको बताए।

‘केन्द्रिय तहबाट पाँच जना उम्मेदवार बारे निर्णय भएको छ, कास्कि २ मा प्रतिनिधि सभा तर्फ हुने उपनिर्वाचनका लागि स्थानीय नेता खेमराज पौडेललाई उम्मेदवार बनाउँने निर्णय भयो, यो सबै नेताको सहमतीबाट भएको निर्णय हो,’ उपसभापति निधिले हाम्राकुरासँग भने। 

कांग्रेसले प्रदेश सभा तर्फ भने बाग्लुङ २ (ख) मा जित शेरचन, दाङ ३ (ख) मा केशव आचार्य र भक्तपुर १ (क) मा कृष्ण भँडेल तथा धरान उपमहानगरपालिकामा तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति निधिले जानकारी दिए। 

तर पदाधिकारी बैठकमा शीर्ष नेताहरु बीच उम्मेदवार बारे सहमती हुन नसकेपछि निर्णय गर्ने अधिकार सभापतिलाई नै छाडेर निस्केको महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए। ‘लामो छलफल भयो, हामीले सभापति जीलाई केही सुझाव दिएर तपाई नै डिसिजन गर्नुस भनेर हिड्यौं,’ महामन्त्री कोइरालाले भने। बैठकमा सहमती जुट्न नसकेपछि महामन्त्री कोइराला सहित वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बाहिरिएका थिए। 

कास्की २ मा त्यसअघि चर्चामा रहेका नेता धनराज गुरुङले भने शीर्ष तहबाट उम्मेदवार तय गर्न ढिलाइ भएको र नेताहरु गुटउपगुटको विवादमा अल्झिएको भन्दै बुढानिलकण्ठ पुगेरै पदाधिकारी बैठकमै आफू उम्मेदवार नबन्ने राय दिएका थिए।

गुरुङले स्थानीय नेतालाई उठाउन समेत भनेका थिए। त्यसअघि उम्मेदवार टुंगो लगाउन भन्दै मंगलबार बिहान देखि बसेको पदाधिकारी बैठकमा उम्मेदवारका बारे शीर्ष नेताहरुबीच कुरा मिल्न नसक्दा १० घण्टासम्म बसेको बैठक निश्कर्ष बिहिन भएको थियो।

गत शुक्रबार समेत उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रिय समितिको बैठक बोलाइएको भएपनि शीर्ष तहमा कुरा नमिल्दा पदाधिकारीलाई नै सो बारे निर्णय गर्न अधिकार दिइएको थियो। उम्मेदवार चयन गर्ने विषयमा विवाद बढ्दै गएपछि पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई समेत राख्ने गरी केन्द्रिय समितिबाट निर्णय भएको थियो।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी कुल ५२ रिक्त पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँनेछ। आयोगले बिहिबार (आज)का लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका ल्याइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ