arrow

उपनिर्वाचन २०७६ : उम्मेदवारका आ–आफ्नै दाबी

logo
काशीराम शर्मा र भेषराज बस्नेत,
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
banke.png

बाँके । कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन् । यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु भएपछि रिक्त रहेको सो वडामा आगामी मङ्सिर १४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । तीन दलले आफ्ना उम्मेदवार छनोट गरिसकेका छन् । मनोनयन दर्ता हुँदासम्म अन्य साना दलले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
 
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार छनोट गरिसकेका छन् । नेकपाबाट रामशरण थारू, कांग्रेसबाट श्रीकृष्ण थारू र राप्रपाबाट पत्रकारसमेत रहनुभएका श्रीधर सुवेदी उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । उम्मेदवारी टुङ्ग्याइसक्दा यी तीनवटै दल अझै भड्किलो प्रचारमा भने उत्रिएका छैनन् ।

उम्मेदवार छनोट गरिसकेका तीन दलले आन्तरिक प्रचारलाई भने तीव्र बनाएका छन् । उम्मेदवारले मतदातासँग व्यक्तिगत भेटघाट गरिरहेका जनाइउको छ । नेकपाका उम्मेदवार रामशरणले अहिले व्यक्तिगतरुपमा भेटघाट चलिरहेको बताए । कांग्रेस उम्मेदवार श्रीकृष्णले भने, “अहिले व्यक्तिगत गरिरहेको छु, मनोनयनपछि सामूहिकरूपमा भेटघाटका कार्यक्रम तय गरेका छौँ ।” नेकपा र कांग्रेसका उम्मेदवारजस्तै राप्रपाका उम्मदवार पनि मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

नेकपाका उम्मेदवार रामशरणले गत निर्र्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ल्याएको मतअनुसार नेकपा अगाडि रहेको बताए । उनले भने, “गत निर्वाचनको मत परिणाम हेर्ने हो भने हामी अहिले धेरै अगाडि छौँ, हाम्रो जीत सुनिश्चित छ ।”

यसअघि सहजै निर्वाचन जितेको क्षेत्रमा अहिले पनि आफू सुरक्षित रहेको कांग्रेस उम्मेदवार श्रीकृष्णको दाबी छ । प्रमुख दुई दलले थारू समुदायबाट उम्मेदवार बनाएपछि थारू मत विभाजित हुने र आफूले निर्वाचन जित्ने राप्रपाका उम्मेदवार सुवेदीको दाबी छ ।

दुई हजार २६ मतदाता
उक्त वडामा हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि दुई हजार २६ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा एक हजार ९६४ मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नं ६ को उपनिर्वाचनमा एउटा मतदानस्थल हुनेछ भने दुई मतदान केन्द्र तोकिएका छन् ।

पहिलो मतदान केन्द्रमा एक हजार २६ र दोस्रो मतदान केन्द्रमा एक हजार मतदाताले मतदान गर्ने उनले बताए । सो वडामा कूल जनसङ्ख्या तीन हजार १५२ छ । यस जिल्लामा एउटा पदका लागि मात्र हुने उपनिर्वाचनको तयारीका लागि कोहलपुर नगर विकास समितिको कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर १४ गते हुने कोहलपुर नगरपालिका–६ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी मुख्य निर्वाचन अधिकृत तोकिएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ