arrow

पोखरा र भरतपुरबीच पर्यटन प्रवद्र्धन समझदारी

logo
रासस,
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
pokhara-bhatpur-metro.jpg

कास्की। गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका र प्रदेश नं ३ को भरतपुर महानगरपालिकाबीच पर्यटन प्रवद्र्धनका लागि द्विपक्षीय समझदारी गरिएको छ। पोखराका नगर प्रमुख मानबहादुर जिसी र भरतुपरका नगर प्रमुख रेणु दाहालले दुवै महानरपालिकामा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासमा सहकार्य गर्नेलगायत १२ बुँदे समझदारीपत्रमा शुक्रबार साँझ यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन्।

पर्यटन विकासमा सहकार्यका लागि पर्यटनसँग सम्बन्धित सूचना तथा जानकारी एवं अध्ययन अनुसन्धानबाट पत्ता लागेका नयाँ विषयको सूचना तथा जानकारी आदानप्रदान गर्ने समझदारी भएको छ। त्यसैगरी पोखराको एक सडकलाई भरतपुरमार्ग र भरतपुरको एक सडकलाई पोखरा मार्ग नामकरण गरिनेछ।

पोखरा र भरतपुर महानगर जोड्ने पृथ्वीराजमार्ग र मुग्लिन–नारायणगढ सडकलाई विशेष सौन्दर्यकरण गर्न संयुक्त पहल गर्ने, हवाइसेवा र सडक यातायात सेवालाई विस्तार तथा सुदृढ गर्ने, दुवै महानगरमा अवस्थित तालतलैया, नदी, रामसार सूचीमा सूचीकृत सम्पदा, प्राकृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनका लागि सहकार्य गर्ने समझदारी भएको छ।

विकासका अनुभव आदानप्रदान गर्ने, उद्योग तथा सेवा व्यवसाय प्रवद्र्धनका लागि दुवै महानगरमा रहेका व्यवसायलाई आ–आफ्ना क्षेत्रमा हुने मेला महोत्सवमा सहभागी गराउने, पर्यटन गुरुयोजना, आवधिक योजना, विषयगत योजना, वार्षिक बजेट तथा कार्यक्रम, नीति तथा योजनाको आदानप्रदान गर्नेलगायत छन्।

पोखराका प्रमुख जिसीले सम्झौताले दुई महानगरबीचको सम्बन्ध थप सुदृढ बनेको चर्चा गर्दै यसबाट दुवै महानगरवासीले लाभ लिने बताए। भरतपुरका प्रमुख दाहालले दुवै महानगरमा पर्यटनको प्रचुर सम्भावना रहेकाले गन्तव्यको विकास र प्रवद्र्धनमार्फत नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुुग्ने भनाइ राखेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ