arrow

विद्युत प्रयोगमा मितव्ययिता अपनाउन प्राधिकरणको आग्रह

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2064049502.jpeg
रमेश लम्साल, काठमाडौँ । तिहारको समयमा अत्याधिक विद्युत् माग हुने भएकाले प्रयोगमा मितव्ययिता अपनाउन नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । 
भारतले अघोषित रुपमा नाकाबन्दी जारी राखेको अवस्थामा खाना पकाउनका लागिसमेत विद्युत्कै प्रयोग भइरहेको र बत्तीको पर्व तिहारमा माग बढी हुने भएकाले कम प्रयोग गर्न जोड दिएको हो । 

माग बढी हुँदा आपूर्ति व्यवस्थापन गर्न समस्या हुने भएकाले विद्युत्को प्रयोग गर्दा विशेष सावधानी अपनाउन र सबैले उपयोग गर्न पाउन् भन्ने उद्देश्यले प्राधिकरणले उपभोक्तालाई साँझको समयमा कम विद्युत् प्रयोग गर्न आग्रह गरेको हो । 

साँझको समयमा खाना पकाउने हिटर, राइस कुकर, झिलीमिली बत्ती तथा धेरै क्षमताका विद्युतीय उपकरण प्रयोग गर्दा ट्रान्सफर्मरमा समस्या आउने, प्रणालीमा भार बढ्ने सम्भावना बढी रहन्छ । नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले सबैले सहजरुपमा विद्युत् उपभोग गर्न पाउन भन्ने उद्देश्यले साँझको समयमा मितव्ययिता अपनाउन आग्रह गरिएको बताए । 

प्राधिकरणको केन्द्रिय प्रसारण लाइनमा हाल कुल ७१६ मेगावाट विद्युत् प्रवाह भइरहेको छ । आन्तरिक उत्पादन ५१६ मेगावाट र भारतबाट करिब २०० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । नाकाबन्दीका कारण उद्योग धन्दा चलेका छैनन् । जसका कारण घरायसी प्रयोगमा मात्रै विद्युत् उपयोग भइरहेको छ । 

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले साँझको समयमा बढी विद्युत् प्रयोग गरिदिँदा एकै स्थानमा बढी लोड पर्दा समग्र स्थानमा प्रभाव पर्ने भएकाले प्रयोगमा ध्यान दिन आग्रह गरिएको बताए । 

प्रसारण प्रणालीमा समस्या नआओस् भनेर प्राधिकरण तम्तयारी अवस्थामा रहेको भएपनि प्रयोगमा नै ध्यान दिँदा समस्या नआउने भएकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । 

“उत्सव बत्ती, विद्युतीय उपकरण एकै पटक धेरै प्रयोग गर्दा ट्रान्सफर्मरमा नै समस्या आउने, जल्ने तथा पूर्ण क्षमतामा विद्युत् प्रसारण नहुने भएकाले साँझमा विशेष ध्यान दिनुपर्छ,” पाण्डेयले भने, “ट्रान्सफर्मरको लोड सन्तुलन गर्न र विद्युत् प्रयोगमा मितव्ययिता अपनाउनु आवश्यक छ ।” 

गत वर्ष तिहारमा मुलुक भर एक हजार ३०० मेगावाट विद्युत् प्रयोग भएको थियो । यस वर्ष १० प्रतिशतले वृद्धि हुँदा पनि एक हजार ४०० मेगावाटभन्दा बढी प्रयोग हुने पाण्डेयको दाबी छ । नाकाबन्दीका कारण खाना पकाउने ग्यासको आपूर्ति हुन नसक्दा पछिल्लो दिनमा विद्युत्मा निर्भरता बढेको छ । जति माग वृद्धि हुन्छ, त्यत्ति नै प्रणालीमा भार पर्दै जान्छ । 

समस्या नआओस् भनेर हरेक वितरण केन्द्रमा जगेडामा ट्रान्सफर्मर राखिएको छ । समस्या पर्ने बित्तिकै नयाँ ट्रान्सफर्मर प्रतिस्थापन गरिने प्राधिरकणले जनाएको छ । मुलुकभर हाल ४८ हजार ट्रान्सफर्मर प्रयोगमा रहेका छन् । 

ग्यास आयात नहुँदा केन्द्रीय प्रसारण लाइनमा १५ प्रतिशतभन्दा बढी माग थपिएको छ । एकै पटक अत्याधिक मात्रामा विद्युतीय उपकरण प्रयोग हुँदा काठमाडौँ उपत्यकाका एक दर्जनभन्दा बढी ट्रान्सफर्मरमा समस्या देखिएको छ । 

प्राधिकरणका इन्जिनियर खगेन्द्र शाहीका अनुसार प्राधिकरणले सार्वजनिक सूचनामार्फत विद्युतीय सामग्री प्रयोगमा मितव्ययिता अपनाउन उपभोक्तामा आग्रह गरेको छ । गत वर्ष प्राधिकरणले बढी बत्ती प्रयोग गरेर प्रणालीमा समस्या आए बत्ती काट्ने चेतावनीसमेत दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ