arrow

अयोध्यामा राममन्दिर बन्ने भएपछि पशुपतिनाथ र जनकपुरमा दिप प्रज्वलन

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
aarati-pashupati-ram-mandir.jpg

काठमाडौं । भारतको अयोध्यास्थित श्रीरामजन्म भूमिबारे भारतको सर्वोच्च न्यायालयले दिएको ऐतिहासिक निर्णयलाई स्वागत गर्दै पशुपतिनाथ मन्दिरमा नियमित हुने बागमती गंगा आरतीमा विशेष आरती आयोजना भएको छ ।

हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाश, नेपाल शिक्षण परिषदका महासचिव वास्तुविद डा वासुदेव कृष्ण शास्त्रीलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थितिमा श्रीराम जन्मभूमिबारे आएको निर्णयको स्वागत गरिएको हो ।

उक्त अवसरमा डा वासुदेव कृष्ण शास्त्रीले अदालतको फैसलाले विश्वभरिका करोडौं हिन्दूहरूको आस्थाको सम्मान गरेको बताए। भारतको सर्वोच्च अदालतको फैसलाको खुसीमा जनकपुरको जानकी मन्दिरमा मिठाइ वितरण तथा दीपावली गरी खुसियाली मनाइएको छ ।

अयोध्या विवादमा भारतको सर्वोच्चले सुनाएको फैसला जनकपुरधामको लागि पनि ऐतिहासिक र महत्त्वपूर्ण रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

त्यसैगरी विश्व हिन्दु परिषद् नेपालले विरगंजमा नेपाल भारत मैत्री युवा संघ सप्तरीको आयोजनामा सप्तरीको राजविराजस्थित जनआन्दोलन चोकमा पनि दीप प्रज्वलन गरेको छ । 

प्रधानन्यायाधिश गोगोईको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले लामो समयदेखि प्रतिपक्षित यो विषयमा सर्वसम्मत फैसला गरेको हो । इजलाशमा एस ए बोब्डे, डि वाई चन्द्रचुड, अशोक भुषण र एस अब्दुल नजिर गरी चार जना न्यायाधिश रहेका थिए।

सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च न्यायालमा दर्ता भएको थियो।इलाहाबाद अदालतले सेप्टेम्बर २०१० मा फैसला गर्दै विवादित २.७७ एकड जमिनलाई बराबर तीन भागमा बाँड्न आदेश दिएको थियो । अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को चाहिँ निर्मोही अखडालाई दिनुपर्ने आदेश दिएको थियो ।

तर अहिले सर्वोच्च अदालतले भने त्यस फैसलालाई पुनरावलोकन गर्दै विवादित ठाउँमा मन्दिर बनाउनु पर्ने र मस्जिदका लागि छुट्टै ठाउँको व्यवस्था गर्नु पर्ने फैसला गरेको हो । अयोध्याको राम मन्दिर र बाबरी मस्जिद विवादबारे ४० दिनसम्म गरिएको सुनुवाई १६ अक्टोबरका दिन मात्रै पुरा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ