arrow

सात अर्ब लगानीमा २९ तलाको काठमाडौँ भ्यू टावर बन्दै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
291491610.jpeg
काठमाडौँ। पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर’ भवनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्याश गर्नुभयो । काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लिबीच भएको सार्वजनीक निजी साझेदारी अवधारणा अन्तर्गत उक्त टावर निर्माण हुन लागेको हो । पहिलो चरणमा १२ तलाको भवन तीन वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । 
 
सो अवसरमा उपराष्ट्रपति पुनले मुलकको ईज्जत र प्रतिष्ठासित जोडिएको यो भवन तोकिएको समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 
 
उहाँले भन्नुभयो, “उपत्यकामा थोरै क्षेत्रमा बढ्दो जनसङ्ख्याको चापलाई व्यवस्थित गर्ने गरी आवास, व्यापारिक वा अन्य प्रयोजनका लागि भवन निर्माण गर्नु चुनौतिपुर्ण हुँदै गएको छ, यसको विकल्प भनेको बहुउद्देश्यीय भवन निर्माण गर्नु हो ।” 
 
उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने गरी निर्माण हुन लागेको भवन आन्तरिक र बाह्य पर्यटनको समेत केन्द्र बन्ने उहाँको भनाइ थियो । 
 
उहाँले संविधान जारी भएपछि नयाँ सम्भावनाका अवसरहरु सुरु भइसकेको बताउँदै मुलुकमा विकास, शान्ति र समृद्धि हुन सकेमा मात्रै परिवर्तनको सार्थकता र औचित्य सिद्ध हुने बताउनुभयो । 
 
संविधान निर्माणको क्रममा देखिएका समस्यालाई राजनीतिक एवम् कूटनीतिक ढङ्गले समाधान गर्न सरकारले पहल गर्ने उहाँले आशा व्यक्त गर्नुभयो । 
 
स्थानीय विकास तथा सङ्घिय मामिला राज्यमन्त्री कुन्तीकुमारी शाहीले सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत बन्न लागको भवन साझेदारीको नमूना बन्ने गरी निर्माण सम्पन्न हुने आशा व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणको क्रममा तोकिएका सबै मापदण्ड पुरा गर्न निर्माणकर्तालाई आग्रह गर्नुभयो । 
 
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भूकम्पपछि मुलुकमा निर्माण हुन लागेको सबैभन्दा ठुलो परियोजना भएकोले यसको सफलताले अन्य क्षेत्रमा समेत सार्वजनिक निजी क्षेत्रको सहकार्यका लागि बाटो खुल्ने बताउनुभयो । 
 
निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लिका अध्यक्ष मनोज कुमार भेटवालले दुई वर्ष अघिनै सम्झौता भएपनि विविध कारणले निर्माणकार्य ढिलाई भएको जानकारी दिँदै प्राचिन कलासहितको अन्तरराष्ट्रियस्तरको अत्याधुनिक भवन निर्माण गरिने बताउनुभयो । 
 
कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम(लोकतान्त्रीक)का अध्यक्ष बिजयकुमार गच्छदारले पठाउनुभएको भवन निर्माण समयमै सम्पन्नताको कामना सहितको शुभकामनापत्र पढेर सुनाइएको थियो । 
 
रु सात अर्ब लगानी, दुई तला पार्किङसहितको सो भवन तीस वर्ष निर्माण कम्पनीले प्रयोग गरी महानगरपालिकालाई सुम्पने सम्झौता रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ