arrow

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान

logo
एनआई,
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
srilanka-presidental-election-2019.jpg

कोलम्बो। श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज शनिबार मतदान भइरहेको छ। सुरक्षा र आर्थिक सुधारको विषयलाई मुख्य एजेण्डा बनाएर उम्मेदवारहरुले मतदातासँग मत मागेका थिए। स्थानीय समयानुसार विहान ७ बजे मतदान सुरु भएको थियो भने, बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ।

मतदानका लागि देशभरी १२ हजार भन्दा बढी मतदान केन्द्रहरु राखिएको छ। निर्वाचनलाई स्वतन्त्र, पारदर्शी, निष्पक्ष र भयरहित बनाउन ६८ हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्।

मतदान सकिना साथ शनिबार नै मत गणना सुरु गरेर आइतबारसम्ममा मत परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ। राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका छन् भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहेका छन्। राष्ट्रपतिमा निर्वाचित हुन उम्मेदवारले कुल मतदाता मध्ये कम्तीमा ५० प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था रहेको छ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाएनन् भने शीर्ष स्थानका दुई उम्मेदवारमध्ये मतदाताले दोस्रो प्राथमिकतामा हालेको मतको आधारमा विजेता घोषणा गराउने व्यवस्था रहेको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई प्रतिस्थापन गर्नेगरी हुन लागेको निर्वाचनमा दुई जना उम्मेदवारहरुका बीचमा मुख्य प्रतिश्पर्धा हुने देखिएको छ।

पूर्व रक्षा सचिव गोतावाया राजापाक्षे र आवास मन्त्री सजिथ प्रेमादासका बीचमा प्रतिश्पर्धा हुने देखिएको हो। दुवै जनाले राष्ट्रिय सुरक्षा, असल शासन, आर्थिक विकासलगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएका छन्।

राजापाक्षेले रक्षा सचिव हुदाँ लिबरेसन तमिल टाइगरस (लिट्टे) सँग भइरहेको झण्डै तीन दशक लामो गृहयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेकाले उनले जित्ने संभावना बढी रहेको धेरैको भनाई छ।

अर्कातर्फ ५२ बर्षीय प्रेमादास पनि हत्या गरिएका पूर्व राष्ट्रपति रानासिंघे प्रेमादासको छोरा भएकाले त्यो सहानुभूति मत मार्फत् प्रकट हुने विश्वास गरिएको छ। उनी सत्तारुढ दलका उम्मेदवार हुन्। रानासिंघेको सन् १९९३ मा आत्मघाती हमलामा परी मृत्यु भएको थियो।

सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछिको यो तेस्रो निर्वाचन हो। प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना भने सहभागी हुने छैनन्। श्रीलङ्कामा २ सय ५० जना भन्दा बढी मानिसको मृत्यु भएको आतङ्कवादी हमलाको सात महिनापछि अहिले निर्वाचन भएको हो। सो घटनाका कारण राष्ट्रपति सिरिसेनाको आलोचना भएकाले उनी अहिले उम्मेदवार नबनेको  विश्लेषण गरिएको छ।

इस्लामिक स्टेट समूहसँग सम्बद्ध व्यक्तिहरूले श्रीलङ्का गिर्जाघर र होटलहरूमा शृङ्लाबद्ध विस्फोटन गराउँदा कम्तीमा २ सय ५३ व्यक्तिको मृत्यु भएको थियो। सरकारले त्यो घटना हुनुमा गुप्तचरी निकाय तथा सुरक्षा निकायको कमजोरी रहेको स्वीकारेको छ। 

अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा बनेको छ। त्यसैले उम्मेदवारहरुले अल्पसंख्यको समानता, बेरोजगारी, अन्य सामाजिक विषय, गरिबी अन्त्य, गुणस्तरीय घर निर्माण लगायतका विषयलाई सवै उम्मेदवारहरुले उठाएका छन्।

अन्तर्राष्ट्रिय विषयमा भने दुई प्रमुख प्रतिश्पर्धीले फरक फरक धार समातेका छन्। राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्ने पक्षलाई लिएका छन् भने प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नु पर्ने तर्क गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ