arrow

यसरी मार्यो वन चौकीदारलाई हात्तीले

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
Elephant-1-750x500.jpeg

भद्रपुर । जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको बिहीबार राति मृत्यु भएको छ ।

झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला जङ्गली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।     
     
 कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीय जलथल जङ्गलबाट हात्ती गाउँतिर नपसोस् भनेर गरिएको विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई बिहीबार बेलुकी ७ बजे हात्तीले आक्रमण गरेको थियो ।     
     
 मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पुर्याएपछि स्थानीयवासीले घटना थाहा पाएका थिए । मृतकलाई घेरेर बसेको हात्तीलाई तत्कालै डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट परिचालित सुरक्षाकर्मीले जङ्गलतिर लखेटेको थियो । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको छ ।     
     
 झापामा दुई दिन अघि प्रगति सामुदायिक वनमा लुकेर बसेको जङ्गली हात्तीले मेचीनगर–१२ का १९ वर्षीय सुशील गजमेरलाई सडकमा हिँडिरहेका बेला आक्रमण गरी सख्त घाइते बनाएको थियो । 

सो आक्रमणमा चार वटा करङ भाँचिएका गजमेरको चारआलीस्थित मनकामना हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ