arrow

युएईमा रोजगारीका क्रममा ज्यान गुमाएका पाण्डेको परिवारलाई आर्थिक सहयोग

logo
सीता डोटेल, 
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार

पाल्पा । रोजगारीको सिलसिलामा युएईमा ज्यान गुमाएका स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका ८ माडीका मधुसुदन पाण्डेको परिवारलाई युएईमा रहेका नेपालीले सङ्कलन गरि पठाएको रकम प्रदान गरिएको छ ।

युएईमा लुलु कम्पनीमा कार्यरत पाण्डेको गत साउन १९ गते युएईमा ज्यान गएको थियो । आफुसँगै काम गर्ने साथीको निधन र घरपरिवारमा आर्थिक अबस्था कमजोर भएकोले त्यहाँ कार्यरत नेपालीहरुले थोरै थोरै रकम उठाएर सङ्कलन भएको ६ लाख ७२ हजार ५ सय रुपँया पाण्डेको परिवारलाई बुझाएको हो ।

लुलु कम्पनीमा कार्यरत पाल्पाका बेदप्रसाद अर्याल र खेम थापा लगायतको नेतृत्वमा पाण्डेले नै काम गर्ने कम्पनी र लुलु कम्पनीकै विभिन्न ब्रान्समा कार्यरत नेपालीहरुले ज्यान गुमाउन पुगेका पाण्डेको घरपरिवारलाई राहत होस् भन्ने हेतुले सङ्कलन गरेको रकम पाण्डेको घरमै पुगी हस्तान्तरण गरेको हो । कम्पनी र नेपाल सरकारको रकम यसअघि परिवारले बुझिसकेको छ ।

सो रकममध्ये ३ छोराछोरीलाई २–२ लाखको दरले ६ लाख रुपँया चापाकोटमा रहेको गण्डकीबेशी बचत तथा ऋण सहकारी संस्थामा ३ जनाको खाता खोली बचत खातामा राखिएको र अन्य ७२ हजार ५ सय रुपँया घरखर्च चलाउन पाण्डेका श्रीमती शोभा पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण गर्दै चापाकोट नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष नबराज श्रेष्ठले अफ्ठ्यारोमा परेको नेपालीलाई नेपालीहरुले सहयोग गरेकोमा धन्यवाद दिए । उनले घरपरिवारलाई राम्रो गरि पाल्छु भन्ने मनसायले विदेश गएका युवाको लास बाकसमा ल्याउनुपर्ने बाध्यताका बिच अब परिवारले शोकलाई शक्तिमा परिणत गर्न आग्रह गरे ।

गण्डकीबेशी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक हरि प्रसाद डोटेलले समस्यामा परेको घरपरिवारको अबस्था हेरीकन उनको परिवारलाई सहयोग गर्नं तत्पर रहेको बताउदै दुःख सुखमा सहकारी सधैं साथी बन्ने बताए ।

संयोजन गरेकी सीता डोटेलले विदेसिन बाध्य एक नेपालीले अर्काे नेपालीको दुःखमा सहयोग गर्ने भावना हरेकका लागि पाठ भएको बताउँदै बेला मौका युएईमा आइपर्ने यस्ता घटना र दुर्घटनामा नेपाली युवाहरुको एक्यबद्धता र सहयोगी भावनाको कदर गरिन् । आफ्नो र परिवारका लागि कमाउन गएका नेपालीले अर्काे नेपालीका दुखमा मलमपट्टी लगाएको बताउदै ज्यान गुमाउन पुग्नुभएका मधुसुदन पाण्डेको परिवारमा समवेदना दिदै रकमको सही सदुपयोगको आग्रह गरिन् । 

विदामा आएका सिमका बिष्णु सुनारले नेपालीहरुले सामाजिक सञ्जालमा ग्रुप पेज बनाएर सहयोगका लागि आग्रह गरि साथीहरुबाट रकम सङ्कलन गरिएको जानकारी दिए ।

विगत ९ बर्षदेखि कार्यरत पाण्डे पछिल्लो समय झण्डै डेढ बर्ष अघि घर आएर गएका थिए । कामबाट आएर सुतेका पाण्डेको सुतेकै अबस्थामा निधन भएपछि नेपाली संस्था र दुतावासको प्रक्रिया लगत्तै केही दिनमा नै शब ल्याएको थियो । 

३ छोराछोरीका अभिभावक र कमाउने सहाराको नै विदेशमा ज्यान गएपछि त्यहाँ कार्यरत नेपालीले सो रकम उठाएर सहयोग गरेका हुन् । पाण्डेका श्रीमती र कक्षा ८ मा पढ्ने छोरा प्रशान्त, कक्षा ६ मा पढ्ने छोरी प्रतिभा र कक्षा ३ मा अध्ययनरत कान्छो छोरा प्रताप रहेका छन् ।

सोही अबसरमा चापाकोट नगरपालिका वडा नम्बर ८ का वडासदस्यहरु रत्नप्रसाद बराल, राजु कुमाल, वडा सचिव गंगाबहादुर बिक, जीवन डोटेल, सिटी मेडिकल हलका सञ्चालक अमृत काफ्ले, स्थानीय सामाजिक व्यक्ति, सुआहारा कार्यक्रमका प्रतिनिधि तथा पाण्डे परिवारका सदस्यहरुको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ