arrow

सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
ncp-congress.jpg

डोटी । सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६६८ ल्याएर विजयी  भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महादेव साउदले कूल ६५६ मत प्राप्त गरेका छन् । वडाभरिमा कूल दुई हजार ४०० मतदाता रहेकोमा कूल एक हजार ५९० मत खसेको तथा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको विसं २०७५ जेठ १५ गते जीप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ ५२८ मत ल्याई विजयी  भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिलबहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् । उक्त मतदानमा कूल ९२४ मत खसेको थियो । स्थानीय तहको निर्वाचनमा वडा नं.३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

त्यसैगरी अछामको मेल्लेख गाउँपालिका–५ को विन्ध्यवासिनीको उपनिर्वाचमा नेकपाका रमेश खड्का ७७८ मत ल्यार्य विजयी बनेका छन्  भने निकटतम प्रतिस्पर्धी कांग्रेसका वीरबहादुर बोहराले ५६३ मत ल्याएका छन् । गएको चुनावमा उक्त वडामा कांग्रेस विजयी भएको थियो । कूल एक हजार ९०० मतदाता रहेको विन्ध्यवासिनीमा एक हजार ३५७ मत खसेको थियो । १६ मत बदर भएको निर्वाचन कार्यलयले जानकारी दिएको छ । गएको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित रामवहादुर बोहराको निधन भएपछि उपनिर्वाचन भएको हो ।

बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा विजयी  भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै उनी विजयी भएका हुन्।  विजयी बुढाले ३६७ मत प्राप्त गरेका छन् । तत्कालीन वडाअध्यक्ष खम्म नेपालीको विसं २०७५ असार १३ गते जीप दुर्घटना परी निधन भएपछि अहिले उपनिर्वाचन भएको हो ।

बैतडी जिल्लामा पनि शनिबार राति नै मतगणना सम्पन्न भएको छ । उपनिर्वाचन सम्पन्न बैतडीका तीन वडामा दुई वडामा नेपाली कांग्रेस, एक वडामा नेकपा विजयी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा कांंग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

पुर्चौडी नगरपालिका–४ मा नेकपाका धानुक १०५ मत बढी लिएर विजयी  भएका छन् । कूल खसेको एक हजार ३३० मतमध्ये विजयी धानुकले ६६३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गरेका छन् ।

सुर्नया गाउँपालिका–१ मा भएको मतदानमा खसेको जम्मा ४३८ मतमध्ये २१९ मत प्राप्त गर्दै कांग्रेसका चन्द विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरे । चार मत बदर भएको छ ।

दोगडाकेदार–४ र पुर्चौडी–४ मा यसअघि विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया गाउँपालिका–१ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ