arrow

१० दिनका लागि भरतपुर विमानस्थल बन्द हुने

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
bharatpur_airport11.jpg

भरतपुर । भरतपुर विमानस्थल आइतबारदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न  आइतबारदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मत सम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो ।

झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको थिएन । नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताए । विमानस्थल ओभरले गर्दा ६० एमएमको पक्की हुनेछ । रातिको समयमा चिसो मौसम भएकाले काम गर्न नसक्ने तथा दिउँसोमा विमानका कारणले काम गर्न असहज भएकाले बन्द गरेरै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ ।

धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि रु चार करोड ४२ लाख ४७ हजार ७८८ लागत अनुमान गरिएको छ ।

बैसठ्ठी बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक आठ र बुद्ध र यतिले भरतपुर–पोखरा एक–एक उडान गर्दै आएका छन् । विमानस्थलबाट दैनिक ८०० यात्रुले सेवा लिँदै आएका छन् ।

भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन चाहेमा चलाउन सक्नेगरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ