arrow

बहिनीले सनाखत गरेर दिदिलाई नागरिकता

घरमै पुगेर नागरिकता दिलायो प्रशासनले

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ मंसिर १५ आइतबार
nagariktas.jpg

स्याङ्जा । बहिनीले दिदिको नागरिकतामा सनाखत गरेको कमै सुन्न पाईन्छ । बंशजको आधारमा बुवा, आमा, दाजु भाई सनाखत गरेर नागरिकता लिएको पाईन्छ । तर यहाँ विवाह भएर गएकी बहिनीले सानाखत गरेर दिदिको नागरिकता दिलाउन सफल भएकी छन् ।

५ दिदि बहिनी र एक दाजु रहेका वालिङ ४ की हाईमाया गुरुङ् अहिले ५१ बर्षकी छन् । उनी माहिली छोरी हुन् । सानै उमेर देखि हिडडुल र बोल्न नसक्ने हाईमायाको अहिले सम्म पनि नागरिकता बनाउन कसैले ध्यान दिएनन् । बुवा आमा छदा समेत बन्न नसकेको नागरिकता दाजु विदेश भएका कारण झनै बनाउन मुस्किल भयो । नाता प्रमाणित नखुले सम्म हाईमायाले नागरिकता पाउने अवस्था नै रहेन ।

विदेशमा भएका दाजु आउन नपाएपछि बल्ल तल्ल दिदि बहिनीको नाता प्रमाणित भएपछि हाईमायालाई नागरिकता दिने बाटो खुल्यो । आमाको साहारमा बसेकी हाईमाया आमाको मृत्यू पछि उनी अहिले वालिङ १ रामबाच्छामा रहेको दाजुको घरमा बस्दै आएकी छन् । साहिली बहिनीले उनलाई बुधवार सनाखत गरेर नागरिकता दिलाईदिएकी छन् । उनी बोल्न र हिँडडुल गर्न र खाना देखि शौचालय जानसम्म उनलाई सहयोगीको आवश्यकता पर्छ । ५१ वर्षको हुँदासम्म पनि नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सुविधाबाट बञ्चित भइरहेकी थिइन् । उनको रेखदेख अहिले साहिली बहिनी ज्वाईले गर्दै आएका छन् ।

वुधवार उनकी बहिनी टलमाया गुरुङले इलाका प्रशासन कार्यालय वालिङमा दिदिको अवस्थाबारे जानकारी गराएपछि तत्काल शाखा अधिकृत दामोदर शर्मा र वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारी सहित कर्मचारीको टोली उनको घरमा पुगेर उनलाई नागरिकता प्रदान गरिएको छ ।  प्रशासन कार्यालयको टोलीले उनको सनाखत देखि सबै काम घरमै गराएर नागरिकता दिलाएको थियो । नागरिकता पाएपछि मख्ख देखिएकी हाईमाया नचिनेका व्याक्तिलाई भने कोठामा गएको सहनै नसक्ने व्यवहार रहेछ । बहिनी टलमायाले दिदिले नागरिकता पाएपछि खुशी भएको महशुष लागेको बताईन् ।  उनको नागरिकताका लागि ज्वाईले वडा कार्यालयवाट सिफारिस बनाएर इलाका प्रशासन कार्यालय लगेका थिए । कार्यालयमा उनको अवस्थाको वारेमा जानकारी गराएपछि इलाका प्रशासन कार्यालयवाट अधिकृत सहितको टोली उनी बसिरहेको घरमा पुगेर नागरिकता प्रदान गरेको थियो ।

प्रशासकीय अधिकृत दामोदर शर्माले घरघरमै सार्वजनिक सेवा दिने सरकारको नीति अनुसार नागरिकता वितरण गरिएको बताए । प्रशासन कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरुलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ इलाका प्रमुख शर्माले भने,“ पक्रिया पुगेका व्याक्तिलाई सोही नीति अनुसार घरमै पुगेर नागरिकता दिएका हौं ।” नागरिकताबाट कोही बन्चित हुन नपरोस भन्ने भावनाका साथ जनताको सेवामा लागेको शर्माले भने । कार्यालय सम्म आईपुगेको असक्त, बृद्धबृद्धाका लागि छिट्टै सेवा प्रवाह गर्ने काम गरिरहेको पनि शर्माले बताए ।

नागरिकता प्रदान गर्न पुगेकी वालिङ नगरपालिका उप प्रमुख कल्पना तिवारीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले १० प्रकारका शारीरिक समस्या भएका व्यक्तिलाई अपाङ्गताको सूचीमा राखेको जानकारी दिदैं उनीहरुको सेवा सुविधामा स्थानीय तहले कुनै भेदभाव नगरीकन सुविधा प्रदान गरेको बताईन । उप प्रमुख तिवारीले हाईमायाको सामाजिक सुरक्षा भत्ता र अपाङ्ग परिचय पत्रका लागि नगरपालिकामा सम्पर्क गर्न उनकी बहिनीलाई आग्रह गरेकी छन् । उनको अपाङ्ग परिचयपत्र पनि घरमै पुगेर वितरण गर्ने प्रतिवद्धता तिवारीको छ ।

ओछ्यानमै नागरिकता ः स्याङ्जाको वालिङ ४ का हाईमाया गुरुङ्लाई घरमै पुगेर नागरिकता वितरण गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, इलाका प्रशासन प्रमुख दामोदर शर्मा लगायत । गुरुङ्ले ५१ बर्षको उमेरमा नागरिकता पाउन सफल भएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ