arrow

पौडेल मुछिएको वालुवाटारको प्रकरण खुलासा गर्ने पत्रकारलाई पुरस्कृत गर्न गएनन् अर्थमन्त्री

अर्थमन्त्री खतिवडाले अन्तिम समयमा दिए नआउने जानकारी

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
khatiwada1.jpg

काठमाडौं । आइतबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडा थिए । तर आइतबार कार्यक्रम सुरु हुनु केही घन्टाअघि मात्र मन्त्री खतिवडा प्रमुख अतिथिका रुपमा नआउने खबर आयोजक सेजनले पायो । अर्थमन्त्री खतिवडाले सेजनको कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउने भनेपछि सेजनले त्यही अनुसार कार्यक्रम तय गरेको थियो । तर कार्यक्रम सुरु हुने अन्तिम घडीमा उनले नआउने भनेपछि सेजन नेतृत्वलाई आपत आइपर्यो। अवार्डदेखि सबैमा अर्थमन्त्रीको हस्ताक्षर भएकाले कार्यक्रम आयोजक अन्यौलमा परे । हतार हतार राष्ट्रबैंकका गभर्नर डा चिरन्जीवी नेपाललाई बोलाएर सेजनले स्थापना दिवस मनाएको थियो ।

अर्थमन्त्री खतिवडा कार्यक्रममा प्रमुख अतिथिका रुपमा नजानुको मुख्य कारण ललिता निवासको जग्गाको समाचार लेख्ने पत्रकार मातृका दाहाललाई सम्मान गर्ने तालिकाका कारण भएको बुझिएको छ । सेजनको कार्यक्रमबारे आइतबार बिहान अर्थमन्त्री खतिवडाले मन्त्रालयका प्रेस सहयोगी यमन पौडेललाई कार्यक्रमबारे जानकारी लिन लगाए । जानकारी लिने क्रममा ललिता निवासको समाचार लेख्ने पत्रकार दाहाललाई सम्मानित गर्ने कार्यक्रम रहेको थाहा पाएपछि उनी एकाएक सेजनको स्थापना दिवसमा नजाने निष्कर्षमा पुगेका थिए ।

नेकपाका महासचिव बिष्णु पौडेल पनि ललिता निवासको जग्गा प्रकरणमा मुछिएकाले विवादमा परिने त्रासले मन्त्री खतिवडाले नभ्याउने जानकारी सेजन अध्यक्ष गौतमलाई दिए । र, उनी कार्यक्रममा गएनन् । ललिता निवासको जग्गा दर्ता गर्ने कार्यमा मुख्य डिजाइन पौडेलले गरेका थिए । उनले ८ आना जग्गा छोरा नवीनको नाममा पनि राखेका थिए ।

ललिता निवासको जग्गा प्रकरणमा महासचिव पौडेल नै मुख्य डिजाइनर भएको खुलासा भइसकेको छ । ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने भूमाफियाका नाइके शोभाकान्त ढकाल महासचिव पौडेलकै संरक्षणप्राप्त ब्यक्ति हुन् । आयुर्वेदका कविराज ढकालले पौडेलकै संरक्षणमा ललिता निवासको १ सय १४ रोपनी मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा गैरकानुनी रुपमा भाटभटेनीका संचालक मीनबहादुर गुरुङ, कैलाशचन्द्र गोयल लगायतको नाममा दर्ता गराएका थिए । मालपोत कार्यालयदेखि अदालतसम्म सेटिङ गरी उक्त जग्गा दर्ता गरिएको थियो ।

महासचिव पौडेलकै योजनामा खतिवडा अर्थमन्त्री भएको चर्चा नेकपामा हुने गरेको छ । इश्वर पोखरेल अर्थमन्त्री हुने भनेर कतिपय कर्मचारीहरुलाई बोलाएर निर्देशन समेत दिइसकेको अवस्थामा पौडेलले खतिवडालाई बनाउन भुमिका खेलेको समाचार समेत सार्वजनिक भएका थिए । पौडेल आफैं अर्थमन्त्री हुन खोजे, तर अघिल्लो पटक पटक मन्त्री हुने नेकपाका गच्छदार भन्ने टिप्पणी हुन थालेपछि उनी ब्याक भएर खतिवडाको भाग्य चम्किएको थियो । आफूलाई मन्त्री बनाउने पौडेलको समाचार लेख्ने पत्रकारलाई आफ्नो हातबाट अवार्ड दिंदा मन्त्री पद संकटमा पर्ने देखेपछि उनले अन्तिम समयमा सेजनको कार्यक्रममा नजाने निर्णय गरेका थिए ।  

सेजनले यो बर्षको सेजन अवार्ड ललिता निवास बालुवाटारको १ सय १४ रोपनी सरकारी जग्गा अतिक्रमणका बारेमा समाचार लेख्ने कान्तिपुरका पत्रकार मातृका दाहाललाई दिने निर्णय गरेको थियो । छापा माध्यमतर्फ दाहाल र अनलाइनतर्फ काठमाडौ प्रेस डट कमका पत्रकार केदार दाहाललाई सेजन अवार्ड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ