arrow

बागलुङको चुनाव जितेपछि बाम गठबन्धनका उम्मेदवार शाहीले के भने ?

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
khim-bikram.jpg

बागलुङ । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा पछाडि परेको पश्चिम क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने बताएका छन् । निर्वाचित भइसकेपछि प्रदेशसभा सदस्य शाहीले पत्रकारलाई प्रतिक्रिया दिँदै आफूले स्वर्गीय टेकबहादुरले देखेको पश्चिम बागलुङको समृद्धि आफूले पूरा गर्ने बताएका हुन्।

शाहीले मुलुकको समृद्धि र स्थायित्वका लागि प्रदेशसभादेखि जिल्लासम्म सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उपनिर्वाचनमा विजयी भएपछि प्रतिक्रिया दिँदै जीतले आफूलाई खुशी र जिम्मेवार दुवै बनाएको बताए । “जनताका आधारभूत आवश्यकतासँगै विकासका लागि काम गर्छु”, शाहीले भने, “विकासमा पछाडि परेको यस क्षेत्रलाई आफ्नो कार्यकालमा केही राहतको महसुस गराउनेछु ।”

जिल्लाको पश्चिममा रहेको आफ्नो क्षेत्र अवसर र विकासबाट पछाडि परेकाले त्यसका लागिसमेत यथेष्ट पहल र भूमिका खेल्ने उनको भनाइ थियो । उनले देशकै एकमात्र सिकार आरक्षलाई नमूना पर्यटकीय गन्तव्य बनाउने भन्दै पश्चिम क्षेत्र विकट भए पनि पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना रहेको बताए । “जनताले दिएको मतको सधैँ कदर गर्नेछु, जनताको सेवामा समर्पित हुनेछु”, सांसद शाहीले भने ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई दुई हजार ९७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । शाहीले ११ हजार २३५ मत प्राप्त गरेका छन् भने शेरचनले नौ हजार १३८ मत प्राप्त गरेका थिए  ।  

ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको यस क्षेत्रको उपनिर्वाचनमा शुरुआतमा तीव्र प्रतिस्पर्धा भए पनि अन्ततः मतान्तर फराकिलो बन्दै गएको थियो । उपनिर्वाचनमा विभिन्न असन्तुष्टि र अप्ठ्याराका बीच जीत निकाल्न सफल भएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए ।

निसीखोला गाउँपालिकाबाट बाम गठबन्धनले चार हजार ८०६ मत प्राप्त गरेको छ भने कांग्रेसले तीन हजार २८२ मत प्राप्त गर्‍यो । यहाँ कांग्रेसको भन्दा बाम गठबन्धनको एक हजार ५२४ मत बढी आएको छ । तर ढोरपाटनमा एक हजार ५०० देखि दुई हजारभन्दा बढीको अन्तर पर्ने आङ्कलन गरिएकामा जम्मा ९६५ मात्र बढी मत आएको छ । बामले गिलासमा चार हजार ५७० मत प्राप्त गर्दा कांग्रेसका शेरचनले तीन हजार ६०५ मत प्राप्त गरेका छन् । ढोरपाटनमा कांग्रेसले राम्रो मत ल्याए पनि तमानमा भने ठूलो मात्रामा अन्तर पार्ने मत ल्याउन सकेन । बाम गठबन्धनले एक हजार ८५९ मत प्राप्त गर्दा कांग्रेसले दुई हजार २५१ मत प्राप्त गरेको छ ।
 
यस क्षेत्रमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा साबिकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजयी  भएका थिए । त्यसबेला पनि घर्तीका प्रत्याशी रहेका कांग्रेसका शेरचनले आठ हजार ६६४ मत प्राप्त गरेका थिए ।

 उक्त चुनावमा तीन हजार २६० मतको अन्तर थियो । यो अन्तर अहिले एक हजारभन्दा बढीले घटेको छ । सांसद घर्तीको असामयिक निधन भएपछि यस क्षेत्रमा उपचुनाव भएको हो । उपनिर्वाचनमा आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ