arrow

१३ औं सागको स्वर्ण भिडन्तको पहिलो दिन नै नेपाललाई १५ स्वर्णपदक 

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
sag-taekwondo-medal.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्णपदक भिडन्तको पहिलो दिनमै नेपालले आक्रामक सुरुआत गरेको छ । नेपालले सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ ।

नेपालले तेक्वान्दो र कराँतेमा ७–७ तथा ट्रायथोलनमा १ गरी १५ स्वर्ण पदक जितेको हो । यस्तै ३ रजत, १२ कास्यसहित कुल ३० पदक जितेर नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सातदोबाटोस्थित कराँते हलमा ९ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपालले ७ स्वर्ण र २ रजत जितेको हो । नेपालका सिनियर पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते । यस्तै नेपालको महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक जित्यो ।

पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ केजी र विप्लब लाल श्रेष्ठले ८४ केजीमा स्वर्ण जित्दा महिलातर्फ कुसुम खड्काले ४५ केजी मुनि र ५० केजी मुनि अनु अधिकारीले स्वर्ण जितिन् । पुरुष कुमुतेमा दिवश श्रेष्ठले रजत र महिला कातामा चन्चला दनुवारले रजत जितिन् । 

तेक्वान्दोतर्फ १३ स्वर्णको लागि प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो । नेपालका लागि आयषा शाक्यले दुई स्वर्ण दिलाउँदा पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले स्वर्ण जितेका छन् । नेपालले महिला टिम पुम्सेतर्फ १७–२९ वर्षउमेर समूह (निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेर समूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई) ले स्वर्ण जित्न सफल भएको हो ।

नेपालका लागि आयशाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्फ स्वर्ण दिलाइन् । 

त्यसैगरी नेपालका लागि महिला पुम्सेतर्फ पार्वती गुरुङ र सिना लिम्बु मादेन तथा पुरुष पुम्सेमा कमल श्रेष्ठले स्वर्ण दिलाए । सिनाले १७ देखि २३ वर्ष, पार्वतीले २३ देखि २९ वर्ष र कमलले २३ देखि २९ वर्षउमेर समूहमा स्वर्ण जितेका हुन् । 

१७ वर्षदेखि २३ वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेमा भने नेपालका कृष्णबहादुर तामाङ रजत पदकमा खुम्चिए ।

पुरुष २९ वर्षमाथिको पुम्सेमा नेपालका रेजिन धिमालले कास्य जिते । १७ देखि २३ वर्ष उमेर समुहको पेयर पुम्सेमा नेपालले कास्य जित्यो । 

२३ वर्षदेखि २९ वर्ष उमेर समूहको पेयर पुम्सेमा नेपालका जीतबहादुर बोट र पार्वती गुरुङले कास्य पदक जिते ।

यस्तै नेपालले ट्रायथोलनमा एक स्वर्ण पदक जितेको छ । ट्रायथोलनको महिला ईलाईट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी हुन् ।

ब्याडमिन्टनतर्फको टिम इभेन्ट्समा नेपालको महिला र पुरुष टिमले कास्य जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ