arrow

कागेश्वरी नगरपालिकामा कांग्रेस भण्डाफोर अभियानमा, शुक्रबार विशाल कार्यक्रम

logo
प्रकाशित २०७६ मंसिर २० शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकासंग जोडिएको कागेश्वरी मनोहरा नगरपालिकामा वेथितिको चाङ भएको भन्दै नेपाली काँग्रेसले भण्डाफोर अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ । 

कांग्रेस क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार उपेन्द्र कार्कीले नगरपालिकामा चरम बेथिति बढको र विकास निर्माणका कामलाई गति दिनुपर्नेमा कमिशनतन्त्रको खेल बढेको भन्दै भण्डाफोर अभियान चलाइएको जानकारी दिएका छन् । 

लामो समयदेखि भण्डाफोर अभियान चलाए पनि त्यसको सुनुवाई नभएको भन्दै शुक्रबार केन्द्रीय नेताहरुलाई नै बोलाएर विशाल भण्डाफोर अभियानको कार्यक्रम गर्न लागेको उनले बताएका छन् । 

उनले यसअघि हरेक वडामा भण्डाफोर अभियान चलाइसकेको जनाएका छन् । विकृति र विसंगति विरुद्ध पटक पटक ज्ञापनपत्र दिए पनि सुनुवाई नभएको भन्दै शुक्रबार विशाल अभियान नै गर्न वाध्य भएको कार्कीले बताए । 

उनले भने, ‘ढिलासुस्ती भयो, कमिशनतन्त्र चल्दै गयो, विकास भएन, व्यवस्थित भएन ,चार पटक हामीले ज्ञापनपत्र नै बुझायौं, तीन हप्ता अगाडि पनि ज्ञापनपत्र दिएका थियौं । सुनुवाई नै भएन अब आक्रामक भएर यसलाई विशाल अभियान नै बनाउने सोच बनायौं ।’

उनले त्यहाँ भएको बेथितिबारे बताउँदै भने, ‘शिक्षा ऐन विपरीत आफै पदाधिकारी तोकिदिने काम भयो, बालुवामा पनि ३ करोड रुपैयाँ छुट दिएर घोटाला गरेको पाइयो ।

फाउन्डेशनको नाममा वडा नम्बर ४ मा एनजीओलाई १५६ रोपनी जग्गा लिजमा दिइयो । त्यसमा पनि लुट मच्याएको पाइयो । आन्तरिक लेखा परीक्षणमा पनि अनियमितता पाइयो ।’ 

कार्कीले भने ‘नगर प्रमुखको स्वेच्छाचारी पनि बढेर गएको छ । हामीले २७ बुँदे ज्ञापनपत्र समेत पनि बुझाएका पनि छौं । सुनुवाइ भएन ।’ 

शुक्रबारको कार्यक्रम 
शुक्रबार उनले विशाल कार्यक्रम गरेरै नगरपालिकामा मच्चिएको बेथितिलाई बाहिर ल्याउने बताएका छन् । त्यसका लागि केन्द्रीय नेताहरु नै आउने छन् । 

बिहान १०ः३० बजे कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय प्राङ्गणमा हुने विरोध एवं भण्डाफोर कार्यक्रमका कांग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा, सांसद एवं पूर्व मन्त्री भिमसेनदास प्रधान र काठमाडौं जिल्ला सभापति सबुज बानियाँ पनि सहभागी हुनेछन् । 

भण्डाफोर अभियानको संयोजन नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले गर्दै आएको छ । 

बेथिति बढेपछि भण्डाफोर गर्नका लागि संघर्ष समिति नै खडा गर्नुपरेको कार्कीले बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ