arrow

साढे तीन महिनादेखि प्रमुखविहीन कावासोती मालपोत, सेवाग्राही मर्कामा

logo
सदिक्षा गैरे, 
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
received_1003220486708352.jpg

कावासोती । नवलपुरको सदरमुकाम कावासोतीमा रहेको जिल्ला मालपोत कार्यालय साढे तीन महिनादेखि कार्यालय प्रमुखविहीन छ । तत्कालिन कार्यालय प्रमुख गुरुप्रसाद रेग्मीले गत भदौ १० गते राजिनामा दिएपछि नयाँ कार्यालय प्रमुख कावासोती आएका छैनन् ।

यसैगरी कार्यालयमा दुई महिनादेखि लेखापाल समेत छैनन् । तत्कालिन लेखापाल रामभक्त रानाभाटको कोष तथा लेखा नियन्त्रण कार्यालयमा सरुवा भएपछि कावासोती मालपोत लेखा प्रमुखविहीन बनेको हो । सरकारले अहिलेसम्म पनि कार्यालय प्रमुख र लेखापाल नपठाउँदा कार्यालयको दैनिक कामकाजमा अप्ठ्यारो परेको कर्मचारीहरुको गुनासो छ ।

अहिले निमित्त कार्यालय प्रमुख रहेका शाखा अधिकृत नारायण गैरेले कार्यालय प्रमुख र लेखापाल नहुँदा दैनिक कामकाजमा अप्ठ्यारो परेको बताए । उनले भने, ‘यसैत कार्यालयमा कर्मचारी एकदम थोरै छन्, त्याहामाथि कार्यालय प्रमुख र लेखापाल नहुँदा झन् समस्या भएको छ ।’

गैरेले मालपोत कार्यालयले गर्नुपर्ने महत्वपूर्ण निर्णयहरु समेत कार्यालय प्रमुखको अभावमा गर्न नसकिएको बताए । ‘सेवाग्राहीको चाप एकदम बढी छ, दरवन्दी अनुसारको कर्मचारी छैनन् । त्यसकारण कर्मचारी र सेवाग्राही दुबैले दुःख पाएका छन् ।’ उनले भने । 

मालपोत कार्यालय कावासोतीमा ८ जना सुव्वाको दरवन्दी रहेकोमा अहिले ४ जना मात्र कार्यरत छन् । यस्तै ५ जना खरिदारको दरवन्दी रहेकोमा ४ जना अहिले कार्यरत छन् । 

एक जना उपसचिव, ३ जना अधिकृत हुनुपर्नेमा अहिले २ जना अधिकृतमात्र मालपोत कार्यालय कावासोतीमा कार्यरत छन् । निमित्त प्रमुख गैरेले मन्त्रालयले जनशक्ति पठाइदिँदा काम गर्न अत्यन्तै असहज भएको गुनासो गरे । 

मालपोत कार्यालयमा कर्मचारी अभाव भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । मालपोत कार्यालयमा घण्टौं लाइनमा बस्नुपर्दा समयको बर्वाद भएको उनीहरुको गुनासो छ । कावासोती ८ का सेवाग्राही जगन्नाथ पराजुलीले कर्मचारी अभावका कारण एउटा काम गर्न दुई दिन धाउन पर्ने स्थिति आएको बताए । उनले भने, ‘घण्टौं लाइनमा बस्नुपर्छ, सेवाग्राहीको भीड अनुसार कर्मचारी छैनन् । यसले नागरिकलाई सास्ती भएको छ ।’

प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले कावासोती मालपोतमा कार्यालय प्रमुख, लेखा प्रमुख खटाउन र दरवन्दी अनुसारको कर्मचारी पठाउनका लागि आफुले पहल गरिरहेको बताए । उनले भने, ‘मन्त्रालयका सचिवसंग पनि मेरो कुरा भईसकेको छ, तत्काल पठाउन भनेको छु, केहि दिनमा समस्या हल होला ।’ कावासोती मालपोतमा उपसचिव स्तरको कार्यालय प्रमुख रहने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ