arrow

पूर्वको पशुपतिनाथ हलेसी क्षेत्रलाई काकाकुल बनाए ठेकेदारले

ठेकेदारको बेइमानीले ९६ करोडको बृहत हलेसी सुख्खा क्षेत्र लिफ्टिङ खानेपानी आयोजना अलपत्र

logo
उत्तम चौलागाई,
प्रकाशित २०७६ मंसिर २१ शनिबार
khotang-halesi-khanepani-de.gif

खोटाङ। सुख्खा क्षेत्रमा कोशीको पानी लिफ्टिङ गर्ने काममा तीन निर्माण कम्पनीको चरम लापरवाहीले बृहत हलेसी सुख्खा क्षेत्र लिफ्टिङ खानेपानी आयोजना अलपत्र बनेको छ । 

हलेसी भेगको सुख्खा क्षेत्रका रुपमा रहेको साविकका ७ गाविसमा कोशीको पानी लिफ्टिङ गर्ने काम महादेव खिम्ती जेभी, रमण–सगरमाथा–सगरमाथा घिमिरे, लामा कन्ट्रक्सनले जिम्मा लिएका थिए । तर, म्याद गुज्रन एक महिना बाँकी हुँदा एक प्रतिशत पनि काम नगरि अझै पनि वहानाबाजी गर्दै छलछाम गर्ने कार्य भईरहेको छ । 

९६ करोडको लागतमा बन्ने यो योजनाको पहिलो पेश्की निकालेको ठेकेदार कम्पनीले पाईपलगायतका सामाग्री ल्याएपनि काम भने गरेको छैन ।

विभिन्न ठाउँमा ट्याङकी निर्माण र पाईप लाईनको काम पनि सुस्त छ । गुणस्तरहिन कामसंगै ढिलासुस्तीले काम लथालिंग रहेको छ ।

सरकारले २०७१ सालमा सुख्खा क्षेत्र घोषणा गरेर २०७४ सालबाट काम सुरु गराएपनि ठेकेदारको हर्कतका कारण पानी पाउने वा नपाउने भन्नेमा सर्वसाधारण दोधारमा छन् । 

ठेकेदारले ठेक्का पार्ने, मोविलाइजेशनको नाममा पैसा लिने तर काम नगर्ने प्रबृत्ति मौलाउदै जाँदा पानी नपाएर काकाकुल भएका सर्वसाधरण झनै पिल्सिरहेका छन् । 

त्यसोत, पानीको अभावमा यस क्षेत्रका अधिकांश होटल व्यवसायी तथा स्थानीयवासी ट्याङकरले ल्याएको पानी महङगो शुल्कमा उपभोग गर्न वाध्य छन् । 

दैनिकजसो स्वदेशी तथा विदेशी पर्यटक तथा पूर्वकव पशुपतिनाथको रुपमा चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र हलेसी तथा आसपासमा सञ्चालित होटलले प्रतिलिटर एक रुपैयाँका दरले पानी किनेर होटल धान्ने गरेको बताएका छन् । स्थानिय त लामो समयदेखि पिडित छन नै। 

म्याद गुज्रन एक महिना बाँकी हुँदा एक प्रतिशत काम
महादेवबेंशी–काभ्रेडाँडा र लुलिमाबेंशी–भुम्जुडाँडा १२ किलोमिटरमा मुख्य लाईनको काम थालेको दिवा महादेव खिम्ती जेभीसँग १ महिना म्याद छ । वितरण लाईनको काम गरिरहेका अन्य निर्माण कम्पनीसँग ७ महिना म्याद छ । यद्यपी, कामको प्रगती निराशाजनक रहेको संङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङले जनाएको छ ।

मुख्य लाईन अन्तर्गत महादेवबेंशी–काभ्रेडाँडामा ३ लाख लिटरको ट्याङकी बनिरहेको, ५५ सय मिटर पाईप लाईनको काम भईरहेको, विधुत विस्तार भईरहेको र गिट्टी ओभरसाईज पाइएको छ । लुलिमाबेंशी–भुम्जुडाँडामा सुस्तगतीमा पाईप लाइनको काम भईरहेको छ । ३१ करोड ७५ लाख ९६ हजारमा दुई स्कीममा काम गरेको दिवा महादेवले ५ करोड ६२ लाख रकम लिइसक्दा कामको प्रगती ५ प्रतिशत छ । 

१ महिना म्याद रहँदा दिवा महादेव खिम्ती जेभीका निर्देशक रवि सिंह श्रेष्ठ काम सक्ने दावि गर्छन । कार्यस्थलमा नआई काठमाण्डौ बसेर निर्देशक श्रेष्ठले काम सक्ने फुस्रो गफ दिए । भौतिक प्रगतीमा भन्दा ठेकेदार वित्तिय प्रगती गर्नमा लालयित देखिन्छ । समयमा काम सक्नेमा ठेकेदारको कुनै आधिकारिक जवाफ र आधार छैन ।

महादेवस्थान, दुर्छिम, मंगलटारमा आरभिटी ट्याङकी र पाईप लाईनको काम गरिरहेको रमण–सगरमाथा–सगरमाथा घिमिरे सबैभन्दा सुस्त गतीमा छ । यो ठेकेदार कम्पनीले जिम्मा पाएका अधिकांस योजना अलपत्र बनाउने यसको नियमनै जस्तो बनेको छ । 

यो कम्पनीले २६ करोड ७५ लाख ५१ हजारमा ठेक्का पारेर ५ करोड ७० लाख भने पैसा लिईसकेको छ । भौतिक प्रगती २ प्रतिशत छ । म्याद सकिन ७ महिना हुँदा रमण–सगरमाथाले १ लाख लिटरको एकवटा ट्याङकी बनाउदै छ भने १० किलोमिटर पाइप लाइनको काम गरेको छ । ट्याङकी बनाउनमा प्रयोग भएको बालुवा, गिट्टी ल्याबटेष्ट नगरि प्रयोग भएको पाइएको छ । उसले देखाउन मात्रै बालुवा, गिट्टीको परिक्षण गरेको तर संरचनामा अर्कै स्थानको ल्याएर प्रयोग गरेको हो ।

गुणस्तरको व्यापक कुरा उठेपछि हलेसी तुवाचुङ नगरपालिकाले कार्यस्थलमा राखिएको बालुवा र गिट्टी परिक्षणको लागि उठाएको छ । रमण–सगरमाथाका प्रतिनिधि रामभक्त मास्के काम गर्नुको सट्टामा अध्ययन गर्दैछु भनेर गैर जिम्मेवारी कुरा गर्छन् । उसले सानाठूला ७३ वटा ट्याङकी र पाइप लाईनको काम गर्नुपर्नेछ।

यस्तै, बाहुनीडाँडा, डिकुवा, बडहरे र च्यास्मिटारमा आरभिटी ट्याङकी र पाईप लाईनको काम गरिरहेको लामा कन्ट्रक्सन प्रालिले ३० प्रतिशत काम गरेको छ । ३७ करोड ९३ लाख ५७ हजारमा ठेक्का पाएको उसले ६ करोड ६३ लाख बजेट निकालेर पाईप ढुवानी गरेको छ । कन्ट्रक्सनले ६ वटा ट्याङकी, ४० किलोमिटर पाइप लाइनको काम गरेका छन् । १२२ वटा सानाठूला ट्याङकी बनाउनुपर्नेछ । साइडमा आवश्यक सामान आइसकेको, साईड क्लियर भएको र डेढ सय हाराहारीमा जनशक्ति परिचालन भईसकेकाले १५ दिनपछि कामको प्रगती देखिने लामा कन्ट्रक्सनका निर्देशक पिताम्बर बडुले बताए । 

तीन निर्माण कम्पनीको कामको प्रगती निराशाजनक रहेको संङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका ईन्जिनियर माधवेन्द्र चौधरीले बताए । उनका अनुसार हालसम्म तीनै निर्माण कम्पनीको १५-२० प्रतिशतभन्दा बढी काम भएको छैन । निर्माण कम्पनीले प्रयोग गरेको गिट्टीमा समस्या देखिएकाले काम रोकेर परिक्षण पास गिट्टीलाई प्रयोग गर्न निर्देशन दिएको र प्रयोग नगरेमा कारवाही गरिने उनले बताए ।

ठेकेदारले काम नगरेकै कारण २७ जेठमा उपभोक्ताको आयोजनामा खानेपानी विभाग, निर्माण व्यवसायी प्रतिनिधि, राजनीतिक दलको बृहत अन्तक्रियाले काम सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै ठेकेदारसँग अविलम्ब दैनिक, साप्तहिक, मासिक कार्यतालिका पेश गर्न निर्देशन दिए पनि हालसम्म कार्यतालिका पेश नगरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए। कार्यतालिका दिन भनि ४-५ पटक पत्रचार गर्दा पनि ठेकेदारले अटेरी गर्दै कार्यतालिका नबुझाएको नगरप्रमुख राईले बताए ।

तीन निर्माण कम्पनीले वित्तिय प्रतिशत ३० प्रतिशत कटाउँदा भौतिक प्रगती न्युन छ । निर्माण कम्पनीले ठेक्का पार्ने, पैसा लिने, काम नगर्ने प्रबृत्ति मौलाउदै जाँदा पानी नपाएर काकाकुल भएका सर्वसाधfरणहरु झनै पिल्सिरहेका छन् । खानेपानीको हाहाकारमा जीवन बिताईरहेका ५ हजार घरधुरीमा पानी पुर्याउन सरकारले ठूलो बजेट खर्चिदा ठेकेदारहरुले कागज मिलाउदै रकम झिकेर खाइरहंदा राज्यको ध्यान अझै पुग्न सकेको छैन । 

ठेकेदारका साईट ईन्चार्जसंगै छैन आधिकारिक जवाफ 
ठेकेदार कम्पनीले साईडमा काम गर्न पठाएका साईट ईन्चार्ज नै जिम्मेवार रहेको पाईएको छ । काममा भन्दा पनि कुरामा बढी ध्यान दिने साईट ईन्चार्जहरुले हालसम्मको कार्य प्रगति विवरण मागे कसैलाई दिन सक्दैनन् । 

काममा आएका साईट ईन्चार्जले खुरुखुृरु काम गराउनुको साटो राजाको काम कहिले जाला घाम भन्ने उखानलाई मात्र पछ्याईरहेको पाईएको छ । ठेकेदार कम्पनीका ईन्चार्जको एउटै स्वर थियो हामी योजनाको अध्ययन गर्दैछौं । हामी नयाँ भएकोले काम अगाढी बढाउन सकेका छैनौ । अव अध्ययन सकिएपछि एक महिनाभित्रमा कामलाई तीव्र गतीले अघी बढाउँछौ । ठेकेदार कम्पनीले साईट ईन्चार्जलाई कुनै विषयको प्राक्टिकल गर्न पठाएको कि काम गर्न ? योजनाको ठेक्का पार्ने अनि कामलाई अडकाएर म्याद थप्न पल्केका यस्ता ठेकेदार कम्पनीलाई कारबाही हुन जरुरी रहेको स्थानिय उपभोक्ताहरु बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ