arrow

सांसद कर्णको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
motorcycle-accident.jpg

काठमाडौं। सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं. प्लेटको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै गोडामा गम्भीर चोट लागेको ट्राफिक प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ । घाइते बरालको काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको प्रभागका प्रहरी जवान हेमन्त आचार्यले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखातर्फ जाँदै गरेको प्रदेश ३–०२, ००२ प, ९८७० नं. को मोटरसाइकललाई पुतलीसडक तिरबाट आएको सङ्घीय संसद् सचिवालयको सरकारी नं. प्लेटको प्रदेश ३–०१, ००२ झ, ४८७९ नं. को स्कार्पियो गाडीले ठक्कर दिएको थियो । सो गाडी संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले चढ्ने गर्नुभएको महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका प्रहरी जवान आचार्यले जानकारी दिए ।

गलत दिशाबाट आएको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिएको पृथ्वीनारायण शाहको शालिकमुनि खटिनुभएका ट्राफिक प्रहरी खीना सुवेदीले राससलाई बताउनुभयो । हतारमा भएकाले बत्ती बालेर सवारी आएको उहाँले जानकारी दिनुभयो । लेन अनुशासन पालना नगरेमा रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना लेखिएको बोर्डलाई देब्रे पारेर सरकारी गाडी गलत दिशाबाट आइरहेको थियो । गाडीको अगाडितिर सिसामा सङ्घीय संसद् सचिवालय लेखिएको कागजको पास राखिएको थियो ।

सरकारी गाडीका चालक लेखमान शाक्यले नै घाइतेको उपचार गराइरहनुभएको उनले बताए । संसद् सचिवालयकै गाडी भए पनि कानूनअनुसार नै कारबाही गरिने प्रभागका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिए ।

संवेदनशील स्थानमा समेत सरकारी गाडीले गलत दिशाबाट आएर ठक्कर दिनु सामान्य घटना नभएको पैदल यात्रु राघवेन्द्र बजगाईँले बताए । छानबिन गरी यसका दोषीलाई कानुनी कारबाही नगरे सडकमा पैदल यात्रु एवं अन्य चालक पनि सुरक्षित नहुने उनको भनाइ छ । प्रत्यक्षरूपमा घटना देख्नुभएका बजगाईँ सरकारी गाडीका चालकको लापरवाहीले यस्तो भएको बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ