arrow

दलहरुबीच सहमति नहुँदा इजरायमा तेस्रो चुनावको सम्भावना

logo
एपी,
प्रकाशित २०७६ मंसिर २५ बुधबार

जेरूसेलम। इजरायली संसदमा मुख्य दलहरुबीच सहमति नहुँदा एक वर्षभित्रै संसदका लागि तेस्रो आमनिर्वाचन हुने सम्भावना बढेर गएको छ। राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जबीच सहमतिको सरकार निर्माण गर्न बुधबार मध्यरातसम्मको समय दिइएको छ, तर सहमति हुने कुनै सम्भावना अझै देखिएको छैन।

विश्लेषकहरुका अनुसार तेस्रो चुनाव घोषणा गरिए पनि त्यसले दलहरुबीच एकता होइन, अझ तिक्तता बढाउने र प्रजातान्त्रिक प्रक्रियाप्रति नै मानिसको विश्वास कमजोर पार्नेछ। 

प्रधानमन्त्री नेतान्याहू र उनलाई प्रमुख चुनौती दिइरहेका विपक्षी नेता गान्जबीच सहमतिका लागि हप्तौंदेखि प्रयास जारी छ। दुबै नेता अर्को महँगो निर्वाचन अभियानबाट अद्यापी बच्न चाहन्छन् तर उनीहरुबीच शक्ति बाँडफाँटका विषयमा कुनै ठोस सम्झौता हुन सकेको छैन।

इजरायलमा गत सेप्टेम्बरमा दोस्रो पटक आमचुनाव भएको थियो। उक्त चुनाव सम्पन्न भएको तीन महिना व्यतित हुँदासमेत नयाँ सरकार गठन हुन सकेको छैन। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हाल कामचलाउ सरकारको नेतृत्व गरिरहेका छन्।

नयाँ सरकार गठन गर्न बुधबार मध्यरातको म्याद दिइएको छ। यस अवधिभित्र कुनै सहमति नभए संसद भङ्ग गर्नुको विकल्प हुने छैन, र आगामी सन् २०२० को मार्च २ वा १० मा तेस्रो पटक संसदको चुनाव हुनेछ। 

इजरायलको विभाजित दलिय स्वार्थ र विपक्षीहरुबीच गहिरिँदो अविश्वासका कारणले अर्को चुनावले पनि अस्थिरतालाई रोक्न नसक्ने देखिएको छ। अर्को चुनावी अभियानका क्रममा इजरायली अर्थव्यवस्थामा अरबौं खर्च हुनेछ।

तर चुनावको अर्को मिति घोषणासँगै कामचलाउ सरकारको म्याद १८ महिनाभन्दा बढी हुनेछ। यस्तो सरकारलाई महत्वपूर्ण कानुनहरु निर्माण गर्न, नियुक्तीहरु गर्न र बजेट पारित गर्न कठिन हुनेछ। 

इजरायली डेमोक्रेसी इन्स्टिच्यूटका अध्यक्ष योहानान प्लेसनरका अनुसार सम्पूर्ण निर्णयकर्ता संस्थाहरु ठप्प भएका छन् र यसले समग्र इजरायली जीवनमा असर पार्नेछ। उनले कुनै निर्णायक उपलब्धि नभएपछि जनतामा निराशा उत्पन्न हुनु स्वाभाविक हो भन्दै जनताबीच निकै लोकप्रिय देखिएका प्रधानमन्त्री स्वयं भ्रष्टाचार काण्डमा मुछिएको घटनाले जनतालाई अप्ठ्यारोमा पारेको बताए।

गत संसदीय चुनावमा विपक्षी नेता गान्ज नेतृत्वको ब्लू एन्ड ह्वाइट पार्टी र नेतान्याहू नेतृत्वको लिकुड पार्टीले मात्र मिलेर सरकार बनाउन सक्ने स्थिति छ। यी दुई पार्टीले १२० सदस्यीय नेसेट (संसद) मा बहुमत स्थान हासिल गरेका छन्।

तर गान्जको पार्टीले नेतान्याहूसँग सरकार गठन गर्न अस्वीकार गरिरहेको छ। नेतान्याहूमाथि घुस लिएको, धोखाधडी गरेको तथा विश्वास उल्लंघनको आरोपमा गत महिना दोषी ठहर गरेको भन्दै गान्जले नेतान्याहूसँग मिलेर सरकार बनाउन चाहनु भएको छैन। जानकारहरुका अनुसार नेतान्याहूले प्रधानमन्त्रीको पदमै रहेर आफूमाथि लागेका आरोपहरुको प्रतिवाद गर्न चाहेका छन्। 

विपक्षी नेता गान्जले लिकुड पार्टीकै अन्य नेतासँग सहकार्य गर्न सकिने धारणा सार्वजनिक गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ