arrow

अमेरिकी कम्पनीलाई चुनौती दिँदै साउदी कम्पनी अराम्को

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ मंसिर २८ शनिबार
aramco-ipo-saudi-prince.jpg

काठमाडौं। धेरै लामो समयदेखि महत्वपूर्ण आर्थिक क्षेत्रमा अमेरिकाको दबदबा कायम रहँदै आएको छ। त्यसैले आर्थिक हिसाबले सम्पन्न र उल्लेख्य आर्थिक सफलता पाउने कम्पनीको सूचीमा अमेरिकी कम्पनी नै अगाडि छन्।

आर्थिक हिसाबमा अहिले पनि अमेरिकी कम्पनी अन्य कम्पनीभन्दा अगाडि नै छन्। उपलब्ध स्रोत तथा साधनको कारण पनि अमेरिकी कम्पनीको पँहुच केही सहज भएको हो। यस्तोमा अन्य मुलुकका कम्पनीले अमेरिकी कम्पनीलाई उछिन्न सकिरहेका छैनन्।

अहिले तीन अमेरिकी कम्पनीहरु एमेजन, एप्पल र माइक्रोसफ्ट १० खर्ब डलर बजार पुँजीकरणको आसपासमा छन्। जबकी यो रकम नेपालको कूल अर्थतन्त्रको झण्डै ३४ गुणा हो। यो तथ्यबाट पनि के थाहा हुन्छ भने विश्वको कुनै पनि कम्पनीका लागि १० खर्ब डलरको बजार पुँजीकरण पुर्‍याउनु एउटा गतिलो चुनौती हो।

अमेरिकाको चुनौती स्वीकार गर्न सक्ने मुलुककोरुपमा चीनलाई लिइँदै आएको छ। अमेरिका र चीनको बीचमा देखिएका विभिन्न किसिमको भू–राजनैतिक तथा व्यापारिक तनावले पनि यो कुरालाई स्वीकार गर्छ। त्यसैको प्रभावको रुपमा केही चिनियाँ कम्पनी अमेरिकी कम्पनीलाई चुनौती दिन भन्दै अघि बढिरहेका छन्। तर, उनीहरु पनि अमेरिकी कम्पनी भन्दा अझै पछाडि छन्। यस्तोमा साउदी अरेबियाको तेल कम्पनी अराम्को अमेरिकी कम्पनीलाई चुनौती दिने लक्ष्यका साथ विश्वको शेयर बजारमा भर्खरै मात्र आएको छ।

अराम्को विश्वको सबैभन्दा ठूलो, सर्वाधिक मुनाफा कमाउने तेल कम्पनी हो। साउदी अरेबिया सरकारको नियन्त्रणमा रहेको यो कम्पनीले विश्वको शेयर बजारमा आएसँगै सबैलाई चकित पार्नेगरी नतिजा पनि दिइरहेको छ। साउदी अराम्कोको शेयर बुधबार पहिलो दिनको कारोबारमा नै अपेक्षा गरिएभन्दा धेरैले बढेको थियो।

पहिलो दिनको शुरुमै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३५.२० रियालमा पुगेको थियो। उक्त दिन अराम्कोको शेयर मूल्य दैनिक वृद्धिको सीमा अर्थात् १० प्रतिशतले बढेको थियो। शेयर कारोबार प्रतिकित्ता ३२ रियालबाट शुरु भएको थियो। अराम्कोले स्थानीय बजारमा कम्पनीको १ दशमलव ५ प्रतिशत शेयर सूचीकृत गरेको थियो। प्राथमिक शेयर निष्कासन (आईपीओ) बाट कम्पनीले २५ अर्ब ६० करोड डलरको कीर्तिमानी रकम उठाएको थियो।

यसले सन् २०१४ मा न्यूयोर्कमा आईपीओ जारी गरेर चिनीयाँ अनलाइन कम्पनी अलिबाबाले उठाएको २५ अर्ब डलरको कीर्तिमान समेत तोडेको थियो। शुरुमा प्रतिकित्ता शेयरको मूल्य सार्वजनिक गर्दा अराम्कोको बजार पूँजीकरण १७ खर्ब डलर थियो। पहिलो दिनको कारोबारमा शेयरको मूल्यमा भएको वृद्धिसँगै कम्पनीको बजार पूँजीकरण १८ खर्ब ८० अर्ब डलरमा पुगेको थियो। बजारमा आएको दोस्रो दिन अरोम्कोले अर्को कीर्तिमान कायम गरेको थियो। बिहीबारको बजारमा साउदी अराम्कोको बजार पूँजीकरण २० खर्ब डलरमाथि पुगेर थियो। 

बिहीवार १५ मिनेटमै शेयरमूल्य ५ प्रतिशतले बढेर प्रतिकित्ता ३८ दशमलव ७ रियाल (१० डलर ३२ सेन्ट)मा पुगेको थियो। योसँगै बजार पूँजीकरण पनि २० खर्ब डलरभन्दा थोरै माथि पुगेको थियो। यससँगै अराम्को अहिले विश्वको सबैभन्दा ठूलो सूचीकृत कम्पनी बन्न पुगेको छ। यो सँग अहिले विश्वको दोस्रो र तेस्रो सूचीकृत कम्पनी माइक्रोसफ्ट र एप्पलको संयुक्त भन्दा धेरै बजार पूँजीकरण भएको छ।

विश्वका अन्य शीर्ष पाँच तेल कम्पनीहरू एक्जोन मोबिल, टोटल, रोयल डच शेल, शेभर्न र बीपीलाई जोडेर बन्ने बजार पूँजीकरणले समेत अराम्कोलाई उछिन्न सक्दैनन्। एक्जोन मोबिलको बजार पूँजीकरण २ खर्ब ९२ अर्ब डलर छ। रोयल डच शेल, शेभर्न र बीपीको बजार पूँजीकरण भने क्रमशः २ खर्ब ३ अर्ब डलर, २ खर्ब २० अर्ब डलर र ९४ अर्ब २९ करोड डलर छ।

अराम्कोको बजार पूँजीकरण शुरूमा २० खर्ब डलर बताइएको थियो। तर विश्लेषक र बैंकहरूले आईपीओ अघि यसको मूल्यांकन १५ खर्ब डलरदेखि १७ खर्ब डलरबीच गरेका थिए। केही विश्लेषकले भने कम्पनीको बजार पूँजीकरण सेकेन्डरी लिस्टिङपछि २० खर्ब डलर पुग्ने बताएका थिए।

यसरी हेर्दा अहिलेको अवस्थामा अराम्को रोकिने अवस्थामा देखिँदैन। तर, यसको प्रभाव बजारमा सधैं यो अवस्थामा राख्नु भने उसको लागि निकै ठूलो चुनौती हो। शेयर कारोबार शुरू भएको २ दिनमै कम्पनीको बजार पूँजीकरण अहिले नै सो स्तरमा पुगेपछि यसबारे प्रशस्त मात्रामा आशंका देखिएका छन्। अहिले तत्कालको चिन्ता आईपीओपछि हुने शेयरको भाउमा हुने वृद्धिबाट लाभ लिन लगानीकर्ताहरूले धमाधम अराम्कोको शेयर बेच्न थाल्ने हो कि भन्ने देखिन्छ।

कारोबार भएको केही समयमा नै अत्यधिक मात्रामा शेयर भाउ बढेपछि छोटो अवधिमा धेरै लाभ पाउने आशामा लगानीकर्ताले आफ्नो शेयर बिक्री गर्न सक्छन्। यसले केही समयमा नै अराम्कोको बढ्दो गतिमा ब्रेक लगाउन सकिन्छ। अहिले यो कम्पनी विश्वको सबैभन्दा ठूलो कम्पनी हो। तर, आकार नै सबैथोक नभएको विश्लेषकहरू बताउँछन्। तेलको भाउ स्थिर नै रहिरह्यो भने यसको खूद मुनाफा घट्ने जोखिम छ। 

अराम्कोको शेयरमूल्य प्रभावित हुने अर्को महत्वपूर्ण कारण भूराजनीतिक तनाव हो। साउदी अरेबिया विभिन्न किसिमको विवादमा बेलाबेलामा मुछिँदै आएको छ। यस्तोमा साउदी अरेबियाको विवादको प्रत्यक्ष असर तेल व्यापारमा पर्छ। जसले अराम्कोलाई नोक्सानी पुर्‍याउन सक्छ। कारोबार शुरु भएको केही दिनमा नै लगानीकर्ताले कम्पनीको स्वतन्त्रताको विषयलाई लिएर पनि प्रश्न गर्न थालेका छन्।

साउदी स्टक एक्सचेञ्ज टाडाउलमा कम्पनीको १ दशमलव ५ प्रतिशत शेयर मात्रै सूचीकृत छ। बाँकी ९८ दशमलव ५ प्रतिशत शेयर साउदी सरकारको स्वामित्वमा छ। यस्तोमा साउदी सरकारको निर्णयअनुसार कम्पनी चल्ने निश्चित छ। तर, लगानीकर्ताहरु कम्पनीको निर्णय स्वतन्त्र हुनुपर्ने पक्षमा छन्। केही विश्लेषकहरूले भने कम्पनीको शेयरलाई ‘धु्रवीकरण ल्याउने शेयर’को संज्ञा दिएका छन्। कम्पनीको संस्थागत सुशासनलाई लगानीकर्ताका लागि प्रमुख जोखिम बताइएको छ।

अराम्कोले घरेलु र स्थानीय बजारमा गरेर २ ठाउँमा शेयर सूचीकरण गर्ने योजना ल्याएको थियो। तर विदेशी लगानीकर्ताले कम्पनीको शेयरमा धेरै रुचि नदेखाएपछि तत्कालका लागि न्यूयोर्क वा लन्डनमा गर्ने भनिएको सेकेन्डरी लिस्टिङ स्थगित गरिएको छ।

तेल निर्यातमा साउदी अरेबिया बलियो रहँदै आएको भए पनि विश्वव्यापीरुपमा आफ्नो प्रभाव देखाउन सक्ने गरी पहिलो पटक अराम्को उदाएको हो। अराम्कोको व्यापारमा पनि पछिल्लो समय उल्लेख्य मात्रामा बढ्दो क्रममा छ। त्यसैलाई आधार बनाएर साउदीले उल्लेख्य मात्रामा कम्पनीको आईपीओ जारी गरेको हो।

अराम्कोको विस्तार कम्पनीको मात्र नभई सरकारको योजना हो। साउदी अरेबिया सन् २०३० सम्ममा आफूलाई विश्व मानचित्रमा महत्वपूर्ण मुलुकको रुपमा उभ्याउने योजनामा अघि बढिरहेको छ। उसले त्यसका लागि केही महत्वपूर्ण योजना पनि ल्याइसकेको छ। उक्त लक्ष्य हासिल गर्न उसको लागि तेलको बजार पनि विस्तार गर्नु निकै जरुरी छ।

साथै अहिले तेल निर्यातमा साउदी अरेबियालाई अमेरिकाले पछि पारिसकेको छ। त्यसैले पनि तेल बजारलाई विशेष ध्यान दिनुपर्ने निष्कर्षमा साउदी पुगेको हो। त्यसका लागि उसले चालेको योजनाले शुरुवातमा राम्रो लक्षण पनि देखाइसकेको छ। तर, अहिलेको शुरुवातलाई भविष्यमा पनि कायम राख्न सक्छ कि सक्दैन भन्ने कुराले अराम्कोको भविष्य कस्तो रहने भन्ने कुराको निक्र्योल गर्नेछ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ