arrow

नायिका स्वेता खड्काको अगुवाईमा निर्मित चिटिक्क परेका घरमा सरे माझी

logo
प्रकाशित २०७६ पुष २ बुधबार
majhi-basti.jpg

सिन्धुपाल्चोक । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ । भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ ।
 
दशैँको फूलपातीको दिन नयाँ घर सरेकी ५५ वर्षीया लक्ष्मी माझी र श्रीमान् ज्ञानबहादुर मङ्गलबार साँझ खाना पकाउँदै थिए । नयाँ घर पाउँदा उनीहरु खुशी देखिए । उनीहरुलाई पुरानो घरको याद भने हराएको छैन । लक्ष्मी भन्छिन्, “घर त पुरानै ठिक नि यो त भुइँतलामात्रै छ, पुरानो घर त भुइँसहितको तीनतला थियो, सबै कुरा राख्न पाइन्थ्यो ।” अहिलेको घर पहिलेको भन्दा बलियो रहेकामा भने उनीहरु ढुक्क छन् । सरकारबाट आएको रु तीन लाखमा रु चार लाख ऋण थपेर घर बनाएको उनले बताइन् ।  

छिमेकी सोमबहादुर माझी पनि दशैँलगत्तै टहरोबाट नयाँ घरमा सरेका छन् । छ जनाको परिवार बस्ने उनले भने, “साँघुरो छैन, ओत लाग्न पाएकै छ, खुशी नै छौँ ।” उनले पनि माटोढुङ्गाको त्यो दुईतले घर भने कहिल्यै भुल्न नसक्ने बताए । परिवारका सबै सदस्य घर बाहिर गएकाले भूकम्पमा बाँचेको स्मरण गर्दै सोमबहादुरले घर बनाउन लिएको रु चार लाख ऋण ज्याला मजदुरीबाटै तिरिरहेको बताउँछन् । 

जुना माझी नयाँ घरमै विवाह गरेर भित्रिइन् । उनले टहरो देख्न पाइनन् । तीन जनाको परिवारलाई नयाँ घरका तीन कोठा छ्यालब्याल छ, भूकम्प आए पनि डर छैन भन्छिन् जुना । निर्माण भएको नमूना माझी बस्तीका अधिकांश परिवार नयाँ घर सरिसकेका छन् । यहाँ रहेका ढुङ्गामाटोको दुईतले घर विसं २०७२ को भूकम्पले क्षणभरमै भत्कायो । त्यसपछि जस्ताले बारेको कटेरोमा रात बिताउन बाध्य भएका माझी बस्तीको अहिले मुहार फेरिएको छ । बस्ती साँच्चै नै मन लोभ्याउने खालको छ । दायाँबायाँ ‘रिटनिङ’ पर्खाल र सडक निर्माणको काम जारी छ । सबै पूर्वाधार सम्पन्न भएपछि झन् कति आकर्षक हुन्छ भन्ने कुरा अहिले नै अनुमान लगाउन सकिन्छ । 

यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन् । आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन सकेका थिएनन् । मुस्किलले पानी ओत्ने जस्ताले बारेको कटेरोमा उनीहरुले केही वर्ष बिताए । अहिले नयाँ घर निर्माण भएपछि फुरुङ्ग छन् ।  पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन् । ढुङ्गामाटोले बनेको भए पनि बार्दलीसहितको घर हेर्दा आकर्षकसँगै पर्याप्त ठाउँ हुन्छ । ती घर भूकम्पले ढालेपछि उनीहरुले चार वर्षपछि ढिलै भए पनि नयाँ घर पाएका छन् ।
     
चलचित्र नायिका श्वेता खड्काले आफ्ना दिवङ्गत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर विसं २०७३ मा नै नमूना बस्ती बनाउने घोषणा गरेकी थिइन् । बस्ती निर्माणको काम भने २०७४ जेठ १५ बाट थालियो । अहिले माझी बस्तीको निर्माणमा सरकारले स्वामित्व लिएको छ । फाउण्डेशनले सहयोग गरिरहेको छ । नायिका खड्काबाट प्राप्त रु ४० लाख र उक्त फाउण्डेशनको रु २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालू पूँजीको रूपमा परिचालन गरेको फाउण्डेशनबाट बस्तीको प्राविधिक काम हेर्दै आएका निराजन सापकोटाले बताए । “श्वेताश्री फाउण्डेशनको अगुवाइ, पुनःनिर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो”, सापकोटा भन्छन् । 

सरकारबाट प्राप्त रु एक करोड ३० लाखबाट बस्तीमा सडकलगायतका पूर्वाधारको काम जारी छ । शुरुमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई रु तीन लाख सहयोग प्राप्त थियोे । त्यसपछि प्रतिपरिवारले रु चार लाख ऋण लिएर घर बनाएका छन् । यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ । हरेक घरले मासिक रु सात हजार किस्ता बुझाउनुपर्छ । 

झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी पैसा अभावले फाउण्डेशन र खड्काबाट रु ६३ लाखको चालू पूँजी ल्याएको बताउँछन् । सरकारको बजेट चलाइसकेपछि अन्य संस्थाको पैसा चलाउन नपाउने मापदण्ड आएकाले उक्त पैसा फिर्ता गर्नेगरी तत्कालका लागि प्रयोग गरिएको हो । उनी थप्छन्, “बस्तीको माया होस् र आफ्नोपन आओस् भनेर घरमा व्यक्तिलाई पनि लगानी गर्न लगाइएको हो ।
 
यहाँको उपभोक्ता समितिले नै घर निर्माणको जिम्मा लिएको छ । काम पनि गाउँले आफैँले गरेका छन् । गाउँले मिलेरै काम गरेकाले बजेट बाहिर गएको छैन । काम गरेर कमाएको पैसाले मासिक किस्ता तिरिरहेका छन् माझीहरु । 

बस्तीमा बाटोसहित बालबगैंँचा, सामुदायिक भवन, वाटर फाउण्टेन, स्वास्थ्य चौकीलगायत बनाइँदैछ । अझै पाँच–सात महिना पूर्वाधार निर्माणमा समय लाग्ने अनुमान छ । आगामी चैत १ गतेसम्मको समयसीमामा निर्माण सक्न मुस्किल छ । अठ्ठाइस रोपनी क्षेत्रमा बनेको छ बस्ती । तीन आनामा एउटा घर बनेको छ । एक घरमा तीन कोठा र शौचालय छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सव¬इञ्जिनीयर सुमन काफ्ले सरकारले तोकेको मापदण्डअनुसार नै बस्ती निर्माण भइरहेको बताउँछन् । 
 
यहाँको सडकलगायत पूर्वाधार निर्माण कात्तिकबाट शुरु भएको र त्यसको म्याद चैत १ सम्म रहेको उहाँले बताउनुभयो । बस्ती निर्माणको शुरुको लागत रु १२ करोडको हो । अन्य पूर्वाधार निर्माणमा रु चार करोड थियो । अहिले भने लागत बढेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ